समाचार
»
शेर्पा दाजुभाइको कीर्तिमान
शेर्पा दाजुभाइको कीर्तिमान
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
काठमाडौं, २३ वैशाख । संखुवासभाका दुई सहोदर शेर्पा दाजुभाइले विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गरेका छन् । संखुवासभाको मकालु गाविस–९ का मिङ्मा शेर्पा र छाङ्दाबा शेर्पाले विगत १३ वर्षको अवधिमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल चढेर विश्वकीर्तिमान बनाएका हुन् । सन् २००० देखि उनीहरू ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्न थालेका हुन् । बाँकी चारसहित ६ दाजुभाइ ने एकैपटक सगरमाथा चढेर अर्को कीर्तिमान कायम गर्ने तयारीमा छन् । ‘एकै परिवारका दुई दाजुभाइले ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढेको विश्वमै पहिलो हो, दाजुभाइले रचेको विश्वकीर्तिमानलाई गिनिज बुकमा लेखाउनका लागि प्रक्रिया अघि बढाउँछौँ,’ मिङ्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने । नेपाल र तिब्बत दुवैतिरबाट उनीहरूले सगरमाथा चढेका छन् । ८ हजार मिटरभन्दा माथिका १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली बनेका मिङ्माले सन् २०१० मा ८ हजार ५ सय ८५ मिटर अग्लो कञ्चनजंगा हिमाल चढेका थिए । ८ हजार मिटर अग्लो त्यो उनले चढेको १४औँ हिमाल थियो । त्यस्तै, उनका भाइ छाङ्दाबाले हालै ८ हजार २७ मिटर अग्लो तिब्बतको सिइसा पाङमा हिमाल चढेका थिए । उनले चढेको पनि यो १४औँ हिमाल हो । हालसम्म विश्वका ३१ जना पर्वतारोहीले ८ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरिसकेका छन् । त्यस्ता आरोहीमा मिङ्मा २४ औँ र छाङ्दाबा ३१ औँ नम्बरमा छन् । सहोदर दाजुभाइले ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने आफूहरू पहिलो भएको उनीहरूको दाबी छ । शेर्पा दाजुभाइले ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथाका साथै ८ हजार ४ सय ६२ मिटरको मकालु, ८ हजार ५ सय ११ मिटरको लोत्से, ८ हजार ४७ मिटरको ब्रोड पिक, ८ हजार १ सय २६ मिटरको नागा पर्वत, ८ हजार १ सय ६३ मिटरको मनास्लु, ८ हजार ५ सय ८५ मिटरको कञ्चनजंघा, ८ हजार ६८ मिटरको जी–१, ८ हजार ३५ मिटरको जी–२, ८ हजार ९१ मिटरको अन्नपूर्ण, ८ हजार १ सय ६७ मिटरको धौलागिरी, ८ हजार ६ सय ११ मिटरको के–२, ८ हजार २७ मिटरको सिइसा पाङ्मा हिमालको आरोहण गरिसकेका छन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ नेपालमै छन् । शेर्पा दाजुभाइले तीबाहेक भारत र पाकिस्तानका ६ अग्ला हिमाल पनि चढेका छन् । आफ्ना ६ दाजुभाइले एकैपटक सगरमाथा चढेर अर्को विश्वकीर्तिमान बनाउने योजना आफूहरूको रहेको उनीहरूले बताएका छन् । त्यसका लागि चार दाजुभाइ सगरमाथाको आधार शिविर पनि पुगिसकेका छन् भने दुई दाजुभाइ छिट्टै जान लागेको मिङ्माले बताए । सामान्य परिवारमा जन्मिएका उनीहरूको हिमाल आरोहणमा विश्वकीर्तिमान कायम गर्ने लक्ष्य छ । ‘८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढेर एउटा कीर्तिमान कायम गरेका हामी एकै परिवारका ६ दाजुभाइ सगरमाथा पुगेर अर्को कीर्तिमान राख्ने प्रयासमा छौँ,’ उनले भने । जेठा दाजु ४७ वर्षीय कर्मा तेन्जिङ, माइला ३५ वर्षीय मिङ्मा, साइला ३३ वर्षीय नाबा ग्याल्जेन, काइला ३१ वर्षीय छाङ्दाबा, अन्तरे २७ वर्षीय टासी लाक्पा र कान्छा २५ वर्षीय पासाङ खुर्पा सगरमाथा चढ्न लागेका हुन् । मिङ्माले १६ र छाङ्दाबा १७ वर्षको उमेरदेखि हिमाल आरोहणमा लागेका हुन् । हिमाल आरोहण गर्ने क्रममा थुप्रै सुखदु:ख भोगेको र कष्टपूर्ण यात्रा गरेको अनुभव उनीहरूको छ । ‘निरन्तर रूपमा हिमाल चढ्दा थुप्रै दु:ख भोगेका र चुचुरोमा पुगेपछि खुसी भएका अनुभव छन्, हिमाल चढ्ने हाम्रो यात्रा जारी छ,’ उनले भने, ‘पर्वतारोहण क्षेत्रमा विश्वमा नेपालको नाम फैलाउन नयाँ रेडर्क कायम गर्न सफल भएका छौँ ।’
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses