समाचार
»
गुम्बाका लामा इन्टरनेटमा रमाउँदै
गुम्बाका लामा इन्टरनेटमा रमाउँदै
सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुको अधिकांश विद्यालयका विद्यार्थीले कम्प्युटर चलाउन त के देख्नसमेत पाएका छैनन्। तर जिल्लाको बेनीस्थित सेर्लो गुम्बाका ५० जना लामा भने कम्प्युटर शिक्षा लिइरहेका छन्। उनीहरुले कम्प्युटरबाटै इन्टरनेटमार्फत संसारभर भएका समाचार सजिलै थाहा पाउन सक्छन्। सेर्लो गुम्बाका लामा सोनाम शेर्पाले गुम्बामा कम्प्युटर ल्याउनुभन्दा अगाडि कहिल्यै कम्प्युटर देखेका थिएनन्। गुम्बामा कम्प्युटर ल्याएपछि मात्र यस गुम्बाका अधिकांश लामा तथा ठावाहरुले पहिलोपटक कम्प्युटर देखेका थिए। कम्प्युटर देख्दा अचम्म पर्ने ठावा तथा लामाहरुले अहिले सजिलै कम्प्युटर चलाउन थालेका छन्। 'पहिले कम्प्युटर कस्तो हुन्छ देखेको थिइनँ, सुनेको मात्र थिएँ, गुम्बामा ल्याएपछि मात्र कम्प्युटर देखेको हौं,, शेर्पाले भने। गुम्बामै कम्प्युटर शिक्षा लिन पाउँदा लामाहरु खुसी भएका छन्। आफूहरुले पढ्दै र लेख्दै आएका तिब्बतेली अक्षर कम्प्युटरमा टाइप गर्न पाउँदा सुनमाथि सुगन्ध थपिएझैँ भएको उनीहरुको भनाइ छ। त्यत्ति मात्र होइन इन्टरनेटमार्फत संसारभर भएका समाचार सजिलै थाहा पाउनसमेत उनीहरुलाई सजिलो भएको छ। "स्काइप आई डी खोलेपछि त विदेशमा भएका आफन्तसँग भिडियो च्याटबाट कुराकानी गर्न सकिने रहेछ, यस्तो सुविधा पाउँदा हामी पनि प्रविधिसँगै छौँ जस्तो लाग्छ', ङिमटसी शेर्पाले भने। गुम्बामा इन्टरनेटबाहेक कम्प्युटरको बेसिक र ग्राफिक्स कोर्ससमेत पढाउने गरिएको गुम्बाका प्रमुख लामा तथा कम्प्युटर शिक्षक सेर्की शेर्पाले बताए। रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses