पूर्वपञ्चहरु फेरि फुट्दै, चन्द र देवकोटाको छुट्टै कार्यालय


२५ वैशाख, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राजेश्वर देवकोटाले गणतन्त्र र संघीयता अस्वीकार गर्दै छुट्टै पार्टी गठनको घोषणा गरेका छन् । सबै विवादको टुंगो लगाएर पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बेला चन्द र देवकोटाले निर्णय मान्न नसक्ने भन्दै छुट्टै दल गठनको घोषणा गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको संयुक्त कार्य सम्पादन समितिको मंगलबारको बैठकमा संघीयता र गणतन्त्रलाई पार्टीको नीति बनाउन नहुने भन्दै प्रस्ताव अस्वीकार गरेलगत्तै चन्द र देवकोटाले छुट्टै पार्टी खोल्ने घोषणा गरेका हुन् । ‘गणतन्त्र र संघीयता मान्न सकिँदैन, हामी छुट्टै पार्टी खोलेर आफ्नो विवेकअनुसारको राजनीति गर्छौं,’ बैठकमा चन्दको भनाइ उद्धृत गर्दै एक सदस्यले भने । एकीकरणको सबै प्रक्रिया टुंगो लगाई दुई पार्टीबीच आगामी ३ देखि ५ जेठमा एकताको महाधिवेशन गर्ने निर्णय यसअघि नै भइसकेको छ । सोही महाधिवेशनको विषयमा छलफल गर्न बसेको दुवै पार्टीका शीर्ष नेता सम्मिलित संयुक्त बैठकमा चन्द र देवकोटाले आपत्ति जनाएको राजधानी र नेपाल समाचापत्रमा खबर छ । संयुक्त बैठकले यसअघि नै निर्णय गरेको राजनीतिक प्रतिवेदनप्रति चन्द र देवकोटाले आपत्ति जनाएका हुन् । राष्ट्रिय जनशक्ति पार्टीका उपाध्यक्ष डा. प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत प्रतिवेदन अघिल्लो बैठकले अनुमोदन गरेको थियो । उनीहरूले आफूहरू संघीयता र गणतन्त्र स्वीकार गर्न नसक्ने भन्दै पार्टीबाट अलग हुने संकेत गरेका थिए । लोहनीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सातओटा प्रदेशसहित संघीयता र गणतन्त्रलाई आत्मसात् गर्ने निष्कर्ष छ । सोही प्रावधानप्रति मुख्य असहमति जनाउँदै दुवै नेताले पार्टीबाट अलग हुने जनाएका हुन् । दुवै दलको मंगलबार बसेको संयुक्त बैठकले संघीयता र गणतन्त्रको पक्षमा राजनीतिक प्रस्ताव महाधिवेशनमा लैजाने गरी पारित गरिएको प्रतिवेदनमा पुनर्विचार नगर्ने बताएपछि चन्द बैठकबाटै बाहिरिएका थिए । उनले राष्ट्रवादी शक्ति निर्माणका लागि आफूहरूले छुट्टै शक्ति निर्माण गर्ने निष्कर्षमा पुगेको जनाए । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता चन्दले नक्साल गहनापोखरीस्थित एक घरमा छुट्टै सम्पर्क कार्यालय खोलेका छन् । चन्दको राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियानलाई वरिष्ठ नेता देवकोटा, राप्रपा महामन्त्री धु्रवबहादुर प्रधानले साथ दिएका छन् । यद्यपि, चन्द पक्षले राजपा सहअध्यक्ष लोहनीले पनि साथ दिने दाबी गरेको छ । तर, दुवै नेताले यस विषयमा केही जनाएका छैनन् । चन्दले आफ्नो समूहमा लोहनीले पनि साथ दिने जनाए पनि लोहनीले भने बैठकमा बसेर गणतन्त्र र संघीयताको पक्षमा प्रस्ताव स्पष्ट रूपमा अघि सारेका छन् । राप्रपा सह–प्रवक्ता किरण गिरीले लोहनी र देवकोटाले छुट्टै कार्यालय खोले पनि महाधिवेशनमा कुनै प्रतिकूल असर नपर्ने बताए । ‘उहाँहरूले छुट्टै कार्यालय खोलेको सुनिएको छ, त्यसबाट महाधिवेशनमा कुनै प्रतिकूल असर पर्दैन, उहाँहरू पनि महाधिवेशनमा सहभागी हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ गिरीको भनाइ थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.