आउँदो बजेट कनिका छराइ हुँदैन : अर्थमन्त्री कोइराला


काठमाडौं - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आगामी आर्थिक वर्षको बजेट कनिका छर्ने परम्पराबाट मुक्त हुने बताएका छन्। 'बजेट कनिका छर्ने परम्पराबाट मुक्त हुनेछ,' अर्थ मन्त्रालयमा योजना आयोगका अधिकारी सहभागी छलफलमा उनले भने, 'बजेटले ऊर्जा, कृषि, सडक र सिँचाइलाई प्राथमिकतामा राख्नेछ।' 
उनले बजेटमा क्रान्तिकारी कार्यक्रमहरु पेस नहुने बताउँदै बीचको बाटो लिने जानकारी दिए।  'आगामी वर्षको बजेटले न क्रान्तिकारी, न निराशाजनक बरु बीचको बाटो लिनेछ,' अर्थमन्त्री कोइरालाले भने। स्थानीय निकायमा जाने बजेटमा हुने गरेको अनियमितता रोक्न छुट्टै संयन्त्र आवश्यक भएको जनाउँदै उनले महŒवपूर्ण योजना सम्पन्न गर्नुअघि सरोकारवाला निकायका प्रमुखबीच सम्झौता गराएर उत्तरदायी बनाउनुपर्ने बताए।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले गलत ठाउँमा दुरुपयोग भएको राज्यकोष सदुपयोग गर्ने उपयुक्त समय भएकाले त्यसको भरपुर उपयोग गर्न आग्रह गरे। उनले मुलुकमा वित्तीय अपराध मौलाएको बताउँदै यस वर्षको बजेटलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सुझाव दिए।

व्यापारमुखी घाटा कम गर्न कृषिमा लगानीको विकल्प नभएको नेपालको भनाई थियो। बजेट महाशाखाका प्रमुख लोकदर्शन रेग्मीले पुरानै ढर्रामा बजेट ल्याउने परम्पराको अन्त्य नभएसम्म सुधार आउन नसक्ने स्पष्ट पारे।

0 comments

Write Down Your Responses

Powered by Blogger.