स्ववियु निर्र्वाचन कार्यतालिका सार्वजनिक गर्न माग

काठमाडौं- विभिन्न विद्यार्थी सङ्गठनका नेताले स्थगित स्ववियु निर्र्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन्। यहाँ आज आयोजित अन्तर्क्रियामा एनेकपा (माओवादी) निकट अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हिमाल शर्माले त्रिभुवन विश्वविद्यालयले एकलौटीरुपमा गरेको निर्वाचनको मिति स्थगन आफूहरुलाई मान्य नहुने बताउँदै यही जेठ मसान्तसम्ममा निर्वाचनको मिति तोक्न माग गरे। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले सम्पूर्ण १३ विद्यार्थी सङ्गठनको छलफल र मिलेमतोमा निर्वाचनको मिति तय गरिनुपर्ने बताए। नेकपा–माओवादी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष शरद् रसाईलीले त्रिविले विद्यार्थी सङ्गठनलाई जानकारी नै नगराई एकलौटी निर्वाचन स्थगन गरेको आरोप लगाउँदै विवादित क्याम्पसका समस्या तत्काल समाधान गरेर निर्वाचनको मिति घोषणा गर्न माग गरे। अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले स्ववियुको निर्वाचन नहुँदा लाखौं विद्यार्थीको भविष्य अन्योलमा रहेको बताउँदै सबै विद्यार्थी सङ्गठका नेताबीच छलफल र वार्ताका माध्यमबाट समस्या समाधान गर्दै निर्वाचनको मिति यही जेठभित्रै घोषणा गर्नुपर्नेमा जोड दिए। मधेसी विद्यार्थी फोरम नेपालका केन्दीय अध्यक्ष अशोक यादवले फर्जी विद्यार्थी भर्ना गरिएको भए छानबिन आयोग गठन गरेर समस्या समाधान गर्नुपर्ने बताए। विद्यार्थी मञ्च नेपालका अध्यक्ष रामेश्वर यादवले चार विद्यार्थी सङ्गठनको सिन्डिकेटका कारण स्ववियुको निर्वाचन हुन नसकेको बताए। त्रिविका रेक्टर गुणनिधि न्यौपानेले विद्यार्थी विद्यार्थीबीच भिडन्तको स्थिति सिर्जना हुने देखेर रक्तपात रोक्नका लागि निर्वाचन स्थगन गर्नुपरेको बताए। मधेसी विद्यार्थी विरोधमा त्रिविले स्ववियु निर्वाचन स्थगन गरेको विरोधमा मधेसी विद्यार्थी फोरम नेपाल स्ववियु निर्वाचनको माग गर्दै सङ्घर्षमा उत्रेको छ। फोरमले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही जेठ १८ देखि २१ गतेसम्म काठमाडौंसहित तराईका विभिन्न जिल्लामा सङ्घर्ष गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष अशोक यादवले ठूला दलका भ्रातृसङ्गठन र त्रिवि मिलेर स्ववियु निर्वाचन स्थगन गरेको आरोप लागाउँदै स्ववियु निर्वाचनमा उनीहरू पराजय हुने डरले षडयन्त्र गरेको बताए। उपाध्यक्ष रमेश यादवले जेठको अन्तिम सातासम्म पनि नयाँ निर्वाचनको तिथि घोषणा नभए असार १ गतेदेखि त्रिवि कुलपति र उपकुलपतिको राजीनामा माग्दै दोस्रो चरणको आन्दोलन सुरु गरिने चेतावनी दिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.