विमान दुर्घटनामा मरेर बाँचेको क्षण

-गोविन्द पहाडी, पर्वत कुश्मा
govinda-pahadi
हामी बिहान ८:१० मा पोखराबाट उड्यौं । लगभग २० मिनेटको यात्रापछि ८ :३० मा हामी जोमसोम पुग्दै थियौं । बाटोमा बिमान हल्लने लगायतका कुनै पनि समस्या थिएन । सँगै रहेका पर्यटक लगायतका हामी सबै हिमाली श्रृँखला हेर्दै, फोटो खिच्दै, रमाउँदै थियौं । जब जोमसोम विमानस्थलको धावनमार्गमा विमान अवतरण हुन लाग्यो र टायरले भूईं छोयो, अब विमानको स्पिड कम होला र नियन्त्रणमा आउला भन्ने लागिरहेको थियो ।
तर विमानको स्पिड कम हुनुको साटो दायाँबायाँ हल्लिँदै स्पिड बढ्न थाल्यो । म विमानको सबैभन्दा पछाडिको सिटमा थिएँ र सँगै विमान परिचारिका बहिनी पनि हुनुहुन्थ्यो । उहाँ आत्तिनुभयो । के भयो यस्तो, के भयो यस्तो भन्दै कराउनुभयो । विमान नियन्त्रणमा आउला भन्ने मलाई लागेको थियो । म चाहिँ त्यतिबेला डराइन ।
तर धावनमार्गको विमानयात्रा त निकै लामो भयो । विमान रोकिने छाँट नै देखिएन । झ्यालबाट बाहिर हेरेको त धावनमार्गको पिच हैन, बाहिर घाँसैघाँस देखिन्थ्यो । लौ अब मरियो भनेर मैले आफुलाई माया मारें । सँगै रहेका अरु यात्रु पनि कराउन थाले । मरियो भनेर सोच्दासोच्दै एकैपटक गड्याँग भएर ठूलो आवाज आयो । फेरि त्यहाँ हामीबीच कोलाहल भयो । तर कसैलाई चोट लागेन ।
त्यतिबेला मैले छेउमा इमर्जेन्सी ढोका देखें । त्यसलाई तान्ने र घचेट्ने गरें । तर ढोका खुलेन । अगाडि हेरेको ढोका खुलै रहेछ । विमानको अगाडिको ढोको कसरी खुल्यो, त्यो त थाहा भएन । म पनि बाहिर निस्कन आत्तिँदै अगाडिको ढोकातिर लागें । ढोकाबाट तल हेरेको त कालीगण्डकी नदी । अघिल्तिर नदी देखेर म फेरि मरेको जस्तो भएँ । किनकी मलाई पौडिन आउँदैन ।
विमानभित्रै बसौं, विष्फोट होला भन्ने डर । बाहिर निस्कौं नदीमा डुबिएला । म आत्तिएँ । ज्यानको माया मारें । तर यसो बाहिर फेरि हेरेको विमान नदीको किनारमा रहेछ । म बिस्तारै बाहिर निस्कें । त्यहाँ काँडेतार रहेछ । त्यहाँबाट पनि निस्कें । फेरि ढुंगाहरु रैछ । त्यहाँबाट पनि निस्कें । त्यसपछि कसैले हात दिएको देखें । त्यसपछि के भयो मलाई थाहा भएन । त्यतिबेलासम्म म होसमा रैछु । त्यसपछि होस हरायो । एकघण्टापछि होस खुल्दा म अस्पतालमा रैछु । वरपर मान्छेको भीड देखेर म छक्क परें । ठूलो सपनाबाट बिउँझिएको जस्तो भयो । म मरेर बाँचे कि बाँचेर मरें अचम्म लागिरहेको छ ।
(बिहीबार बिहान जोमसोममा भएको बिमान दुर्घटनामा परेका गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य समेत रहेका पहाडीसित कुराकानीमा आधारित)
                                                                           onlinekhabar बाट सवार
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.