उर्मिला र प्रचण्ड पुराना साथी !

जेठ, काठमाडौं । एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री उर्मिला अर्याल अकस्मात एमाओवादीमा प्रवेश गर्ने चर्चा चलेको छ । आखिर उर्मिलालाई कसले एमाओवादी नेताहरुसँग नजिक ल्यायो ? धेरैलाई लाग्न सक्छ, भर्खरै एमाले छाडेका रामचन्द्र झाले यस्तो वातावरण बनाएका हुन सक्छन् । तर, रहस्यचाँहि अर्कै रहेछ । उर्मिला र प्रचण्डको घनिष्टता आजभन्दा २८ वर्ष पहिलेदेखिको हो, जतिवेला उहाँहरु दुबै लक्का जवान हुनुहुन्थ्यो । उर्मिला अर्याल ०३७ सालको जनमतसंग्रहका बेलादेखि विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको हो । ०३८ सालमा सम्पन्न महिला संघको राष्ट्रिय सम्मेलनले अर्याललाई केन्द्रीय अध्यक्ष बनायो । अर्यालको कमिटीमा वर्तमान माओवादी प्रवक्ता पम्फा भुसाल महासचिव हुनुहुन्थ्यो । अर्यालभन्दा अघि साहित्यकार पारीजात महिलाको अध्यक्ष हुनुहुन्थ्यो । अर्याल अध्यक्ष रहेको महिला संघ अहिलेको नेकपा माओवादीको भातृ संगठन थियो ।
एउटै पार्टीको भगिनी संगठनको केन्द्रीय अध्यक्षमा अर्याल हुनुहुन्थ्यो भने युवा संगठनको केन्द्रीय अध्यक्षमा प्रचण्ड हुनुहुन्थ्यो । एकै पार्टीका उदीयमान युवा नेता भएकाले पार्टी कार्यक्रमहरुमा उर्मिला र प्रचण्डको भेटघाट नहुने कुरै भएन । जानकारहरुका अनुसार त्यसबेला प्रचण्ड र उर्मिलावीच राम्रो मित्रता थियो । प्रचण्ड सीता दाहालसँग विवाह बन्धनमा बाँधिइसकेको भए पनि उर्मिला अविवाहित हुनुहुन्थ्यो ।
महिला संगठनको अध्यक्ष भैसकेपछि उर्मिलाको विवाहको कुरा चल्यो । त्यसपछि पार्टीले नै पहल गरेर सरकारी जागिर खाइरहेका पार्टीका शुभेच्छुक प्युठान निवासी वाइबी थापासँग उर्मिला अर्यालको विवाह गराइयो । स्रोतका अनुसार विवाहपछि छोरी जन्मिएपछि अर्याल क्रमशः पार्टीमा निश्क्रिय बन्न थाल्नुभयो र जागिर खाँदै पार्टीमा काम गर्ने प्रस्ताव राखेपछि स्थानीय विकास मन्त्रालय अन्तरगतको महिला विकास अधिकृतमा जागिर खान थाल्नुभयो । उता प्रचण्डचाँहि युवक संघको अध्यक्षबाट पार्टी राजनीतिमा सक्रिय बन्नुभयो ।
जता शक्ति, उतै भक्ति
पञ्चायती व्यवस्थाको अन्त्यपछि गोरखाका मशाल नेता वाचश्पति देवकोटासँगै उर्मिला अर्याल प्रचण्डको पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको हो । बुटवल महाधिवेशनमा ओली पक्षमा लागेर पोलिटब्यूरो सदस्यमा जिते पनि अर्यालले झलनाथ खनालका पालामा कित्ता परिवर्तन गरेर मन्त्री पद हात पारेको चर्चा एमालेभित्र चल्ने गरेको छ । उता अर्यालका श्रीमान वाइबी थापालाई एमालेले यसअघि नै राष्ट्रिय योजना आयोगको सदस्य बनाइसकेको छ ।
बहुदल कालमा एमालेमा लागेपछि उर्मिलाले एमालेबाट अवसर नपाउनुभएको होइन । ०४८ सालमै उहाँले पर्साबाट सांसदको टिकट पाउनुभएको थियो, तर जित्न सक्नुभएन । त्यसपछि उहाँ एनजिओमा सक्रिय बन्नुभयो । भोजपुरी भाषामा समेत राम्रो दख्खल भएकी अर्यालले दोस्रोपटकको निर्वाचन जित्न सफल हुनुभयो । पछिल्लो समयमा पनि एमालेले उहाँलाई मन्त्री बनाएर सम्मानित स्थान दिएकै थियो, तर एमाले कमजोर बन्दै र एमाओवादी ठूलो बन्दै गएको देखेपछि उहाँले आफ्नो भविश्य एमाओवादीमै देख्नुभयो । ०४६ सालमा ठीक यस्तै स्थिति थियो । एमाले उदीयमान थियो भने प्रचण्डको पार्टी सानो थियो । अर्यालले त्यतिबेला प्रचण्डको पार्टीमा भन्दा एमालेमै अवसर र भविश्य देख्नुभएको थियो । हुन पनि एमालेमा लागेर उहाँलाई कुनै घाटा भएन ।
एमाओवादीमा हाबी हुने दाबी
आजभन्दा २८ वर्ष अघि नै प्रचण्डसँगै जनवर्गीय संगठनको प्रमुख भैसकेकी र प्रचण्डसँग असाध्यै मिल्ने अर्यालले एमाओवादीमा प्रवेश गरेपछि हिसिला यमीबाहेक पार्टीभित्र अरु महिलाहरु प्रतिश्पर्धामा निकै पछाडि पर्ने विश्लेषण एमाओवादीभित्रै गरिन थालिएको छ । ‘उर्मिलाको क्षमता, चातुर्य र अनुभवका सामु एमाओवादीका महिला नेतृ ओनसरी घर्ती, कमला रोका, शशी श्रेष्ठहरु निकै पछाडि छाडिने छन् ।’- स्रोतले अनलाइनखबरसँग भन्यो, ‘चिप्लो घस्न सिपालु उर्मिला प्रचण्डकै कित्तामा उभिनेछिन्, त्यहीँभित्र आफ्नो एनजीओको नेटवर्क चलाउनेछिन् र अरुलाई पछाडि पार्दै पार्टीमा राम्रैसँग हावी हुने्छिन् ।’
यद्यपि स्रोतको दाबीअनुसार प्रचण्डलाई विश्वासमा लिन उर्मिलालाई जति सजिलो छ, सीता दाहालसँग भने त्यति सजिलो छैन । संकीर्ण एवं शंकालु स्वाभाविकी सीताले विगतमा उर्मिलालाई गलत दृष्टिकोणले हेरेको उनका समकालीनहरु बताउँछन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.