रक्सी खाएर मातेको विवादमा सांसदद्वारा राजिनामा


न्यु जिल्यान्डमा एक सत्ताधारी राजनीतिज्ञले मदिराको मातमा ‘वेटर’लाई दुव्र्यवहार गरेकोको आरोपमा विवाद चर्किएपछि राजिनामा दिएका छन् भने प्रधानमन्त्री जोन कीले सोमबार यसको स्वागत गर्नुभएको छ । नेसनल पार्टीका सांसद एरोन गिलमोरले आइतबार राती सांसद पदबाट राजिनामा दिने घोषणा गरेका छन् । गत महिना उनले साउथ आइल्यान्डको एक रेस्टुराँमा खाना खाँदा आफूलाई धान्नै नसक्ने गरी मदिरापान गरेका थिए । ”मैले गल्ती गरेँ । म पनि मानिस नै हुँ”, गिलमोरले पत्रकारहरूलाई बताए । उनले आफ्नो सत्यनिष्ठामाथि आक्रमण भएको, त्यसले आफ्ना वरपरका व्यक्तिहरूमाथि चोट पुग्न थालेको र यो उनीहरूप्रति उचित कार्य नभएको बतए । गिलमोरसँगै खाना खान बसेका वकिल एन्ड्र्यु रिचेजले सांसदले उनलाई थप मदिरा दिन नमान्ने वेटरसँग विवाद गरेको र अपशब्द बोलेको बताए । विवादका क्रममा गिलमोरले प्रधानमन्त्रीको कार्यालयलाई भनेर यी वेटरको जागिर खोसिदिने धम्की दिएको र यी वकिलले पछि यसका लागि रेस्टुराँसँग माफी माग्नुपरेको बताइएको छ । गिलमोरले रिचेजका आरोपलाई अस्वीकार गरेपनि आफू मदिराका कारण मातेको तथा ‘वेटर’ प्रति उग्र तथा रुखो भएको स्वीकार गरेका छन् । गिलमोरले सुरूमा राजिनामा दिन अस्वीकार गरे पनि उनले आफूलाई प्रधानमन्त्रीको समर्थन नरहेको देखेपछि राजिनामा दिएका हुन् । प्रधानमन्त्री कीले टीभीएनजेलाई यी सांसदको व्यवहार उचित नभएको दलको धारणा रहेको बताउनुभयो । उहाँले गिलमोरले राजिनामा दिएर आफू र आफ्नो परिवारका लागि सही काम गरेको बताउनुभयो । गिलमोरलाई नेसनल पार्टीका अर्का एक सदस्यबाट प्रतिस्थापन गरिने र यसबाट गठबन्धन सरकारमा कुनै प्रभाव नपर्ने बताइएको छ । रासस/एएफपी

- See more at: http://www.onlinekhabar.com/2013/05/70540/#sthash.iTpzg8GV.dpuf

0 comments

Write Down Your Responses

Powered by Blogger.