एमाओवादीको लिङ्ग छुट्याउन गाह्रो भयो : उपेन्द्र यादव

काठमाडौं – मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एकीकृत माओवादीलाई लिङ्ग नछुट्टिएको पार्टीको संज्ञा दिएका छन्। सदभावनाका पूर्व उपाध्यक्ष भरतबिमल यादवलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष यादवले हेटौडा महाधिवेसनपछि एमाओवादीको लिङ्ग छुट्याउन अप्ठ्यारो भएको उल्लेख गरे। 'हेटौंडा महाधिवेसनपछि एमाओवादी न लोकतान्त्रिक पार्टीमा रुपान्तरण हुन सक्यो, न त कम्युनिष्ट पार्टी नै भएको भनेर देखाउन सक्यो' यादवले भने, 'अब उसको लिङ्ग के हो? पत्ता लगाउनै गार्‍हो भइसक्यो।' एमाओवादीले संघीयता पक्षधर पार्टी भएको भनेर गरिएको प्रचारवाजीलाई ढोंगको संज्ञा दिएका छन्। 'माओवादीसहित संलग्न रहेको १२ बुदेँ सहमति, असार २ को सात बुदेँ सहमति, अन्तरिम संबिधानमा खै त संघीयता लेखिएको?, अरु दलले संघीयता स्वीकार नगरेपछि मधेसमा जनविद्रोह भएको हो' अध्यक्ष यादवले भने, 'नयाँ जोगीले खरानी बढी नै घस्छ झै गरी अहिले एमाओवादी आफूलाई अब्बल संघीयता पक्षधर भने प्रचारवाजीमा लागे पनि तथ्य र इतिहासले झुटो साबित गराइसकेको छ।' संविधानका अन्तर्वस्तुमा पूर्व सहमति नगरी संविधानसभा निर्वाचनमा गएर पनि निकास ननिस्कने उनले बताए। जनआन्दोलन–२ मा सक्रिय नेतृत्व गरेका मधेसी नेता भरत बिमल सोमवारबाट औपचारिक रुपमा फोरम नेपालमा प्रवेश गरेका छन्। जनआन्दोलन पछि निस्क्रिय रहेका यादवले मुलुक प्रतिगमनतर्फ उन्मुख हुँदै गएपछि सक्रिय राजनीतिमा आएको बताए। अध्यक्ष यादवले बिमललाई अबिर, माला लगाएर पार्टीमा प्रवेश गराएका छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.