वास्तविक नाम लुकाएर नयाँ नाम राख्ने नेपाली चलचित्र कलाकारहरु

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

भन्न त भनिन्छ, नाममा के छ र ? तर, नेपाली चलचित्रका कलाकारका निम्ति नाममा धेरै थोक छ । विगतदेखि वर्तमानसम्मका नायक र नायिकालाई हेर्दा अधिकांश आफ्नो वास्तविक नाम लुकाएर नयाँ नाममा स्थापित भएका छन् । उनीहरूको वास्तविक नाम नगण्यलाई मात्र थाहा होला । यी कलाकार ठान्छन्– बाबुआमाले राखिदिएका नाम परम्परागत हुन्छन्, लामा हुन्छन् र जमानाअनुसार असुहाउँदा । त्यसैले आधुनिक बन्ने होडमा उनीहरू चलचित्रमा पाइला राख्नासाथ सबैभन्दा पहिले आफ्नो नाम फेर्छन् ।


नायिका नन्दिता केसीलाई चिन्ने धेरै छन् तर शोभा केसीलाई कतिले चिन्छन् ? चलचित्रमा आउनुअघिकी शोभा केसी नै चलचित्रमा आएपछि नन्दिता बनेकी हुन् । इन्द्रेणी चलचित्रबाट अभिनयमा प्रवेश गरेकी उनले सोही चलचित्रबाटै ‘शोभा’ लाई थन्क्याएर ‘नन्दिता’ लाई अघि बढाइन् । कलाक्षेत्रका सबैले उनलाई नन्दिता भनेरै चिन्छन्, यही नामले बोलाउँछन् ।

अर्की अभिनेत्री उषा पौडेलको वास्तविक नाम पनि अर्कै छ । परिवारले राखिदिएको उनको नाम हो– रुक्मिणीकुमारी पौडेल । यो नामले उनलाई चलचित्र क्षेत्रमा कसैले चिन्दैन ।

उनीहरू मात्र होइन, चलचित्रमा प्रवेश गर्नासाथ नाम फेर्ने कलाकार अरू पनि थुप्रै छन् । ‘अरूले चाहिँ किन फेरे थाहा छैन तर मेरो मामिलामा चाहिँ मैले आफैँले फेर्छु भनेर फेरको होइन,’ नन्दिताले भनिन् ।

इन्द्रेणीमा आफूले निर्वाह गर्ने पात्रको नाम नन्दिता भएको र युनिटका सबैले उनलाई त्यही नामले बोलाउन थालेकाले पछि पनि त्यसैलाई निरन्तरता दिएको उनले सुनाइन् । ‘यो नाम मेरो चलचित्रको सुरुमै लकी साबित भयो, त्यसैले निरन्तरता दिएँ,’ उनी भन्छिन् । तर, नागरिकता, पासपोर्टलगायतमा भने शोभा केसी नै उल्लेख गरिएकाले विदेश जानुपर्दाचाहिँ केही झन्झटिलो हुने गरेको उनले बताइन् ।

नाम परिवर्तन गर्ने नेपाली कलाकारको सूचीमा प्रारम्भतिर फर्कने हो भने माइतीघरका नायक सिपी लोहनी पनि भेटिन्छन् । उनको खास नाम चन्द्रप्रकाश लोहनी हो । नामको अगाडिका अंग्रेजी अल्फाबेट जोडेर उनले आफ्नो नाम छोट्याए र बनाए– सिपी ।

नाम परिवर्तनले केही व्यावहारिक अप्ठ्यारा निम्त्याए पनि यसलाई नकारात्मक रूपमा हेर्न नहुने बताउँछिन्, नायिका गरिमा पन्त । ‘प्राय: सबै देशका कलाकारका दुइटा नाम हुन्छन्, त्यस कारण नेपालमा पनि सामान्य नै हो,’ उनले भनिन् । गरिमाको खास नामचाहिँ कमला रहेछ । नयाँ करिअरको थालनी नयाँ नामबाटै गरौँ भनेर आफूले आफूलाई गरिमा बनाएको उनले सुनाइन् । चलचित्र क्षेत्रमा आफ्ना लागि शुभ साबित भएकाले यही नामलाई निरन्तरता दिने सोचाइमा छिन् उनी । तर, घरमा चाहिँ सबैले उनलाई कमला भनेरै बोलाउँछन् रे †

नाम परिवर्तन गर्ने नायिकाको सूचीको अघिल्लो पंक्तिमा हेर्ने हो भने नायिका करिस्मा मानन्धरको नाम पनि भेटिन्छ । पहिलो चलचित्र सन्तानमा अभिनय गर्नुअघि उनको नाम थियो– बुनु केसी । तर, अहिले यो नाम उनी आफैँले पनि बिर्सिसकिन् होला । सन्तानका निर्देशक स्व. प्रकाश थापाले उनलाई बुनुबाट करिस्मा बनाइदिएका थिए । आखिरमा बुनुका लागि करिस्मा नै फलिफाप सिद्ध भयो र लामै समय नायिकाका रूपमा एकछत्र राज गर्न सफल भइन् । त्यसै ताकाकी अर्की अभिनेत्री कृष्टि केसीको वास्तविक नाम पनि अर्कै छ । उनी हुन्, मीना खत्री । निर्मात्री एवं अभिनेत्री मौसमी मल्लले पनि यो नाम चलचित्र क्षेत्रबाटै पाएकी हुन् । भारतमा नायिका मौसमी चटर्जी बोलवाला चलिरहँदा उनी यो नामबाट प्रभावित भएकी हुनसक्छिन् । नत्र त यी नायिकाको खास नाम विष्णुमाया ठकुरी हो ।

प्रेयसीबाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघिसम्म सुनीता मानन्धरका नामले चिनिन्थिन् नायिका मेलिना मानन्धर । यसै चलचित्रबाट सृष्टि शर्मा बनिन्, सुनीता खड्का पनि । अहिले चलचित्र पाउन छाडेपछि म्युजिक भिडियोमा देखिने गरेकी नायिका सिर्जना बस्नेतको खास नाम सुनीता बस्नेत हो । टेलिचलचित्र खेल्दासम्म ज्योति खड्काका नामले चिनिँदै आएकी ज्योति खड्का चलचित्रमा प्रवेश गर्नासाथ जेसिका खड्का बनिन् ।

त्यस्तै स्व. नायिका गीता सुनुवार पनि चलचित्रमा आएदेखि नै गीताञ्जलीका नामले चिनिइन् । अहिले विदेशमा रहेकी एकताकाकी सफल नायिका सारंगा श्रेष्ठलाई घरपरिवारले शारदा नाम राखिदिएका थिए । विदेशमै रहेकी नायिका पूजा चन्दको खास नाम राधिका परियार हो । सोल्टिनी चलचित्रबाट नायिका बनेकी मेघा पोखरेल त्यसअघि विमलाका नामले चिनिन्थिन् । चलचित्रमा आए पनि चर्चा कमाउन नसकेकी शोभा क्षत्रीले ‘आराधना’ नाम लिएर भाग्य चम्काउने प्रयास गरेकी थिइन् । नेपालभाषाको लोकप्रिय चलचित्र राजमतीमा अभिनय गरेर चर्चा बटुलेकी हीराशोभा महर्जन यसै चलचित्रबाट हिसिलाको नामबाट चिनिइन् । परिवारले राखिदिएको नामा लामो तथा अप्ठ्यारो हुने भएकाले कलाकारले नाम फेरेको हुनसक्ने निर्देशक शिव रेग्मी बताउँछन् । भन्छन्, सजिलो नाम भए सबैले सजिलैसँग सम्झन सक्छन् ।

पुराना मात्र होइन, नयाँ नायिका पनि नाम फेर्ने मामिलामा अगाडि नै छन् । केही समयदेखि चलचित्र अभिनयबाट हराएकी अभिनेत्री प्रेरणा शर्मा आफ्नो गाउँमा विष्णुमाया परियारका नामले चिनिन्छिन् । जानुका केसी चलचित्र क्षेत्रमा प्रवेश गर्नेबित्तिकै जेनिसा केसी बनिन् । बसाइँ चलचित्रमा अभिनय गरेकी रन्जु लामिछाने खासमा रञ्जना हुन् । स्वीकृति भट्टराईले आफ्नो नामलाई छरितो बनाउन ‘कृति’ का रूपमा छोटयाइन् । पूजा प्रधानले नामथरै चेन्ज गरिन्–पूजना स्त्री ।

अमेरिकामा लुकेर उतै बिहे गरेकी युना उप्रेतीलाई यमुना भन्यो भने फिल्म क्षेत्रमा कमैले चिन्लान् । तर, उनको परिवारले राखिदिएको नाम त्यही हो । एटिएमको प्रोमोमा छाडा शब्द बोलेर विवादमा आएकी जमुना केसी ‘जानु’ हुँदै अहिले जिया केसी बनेकी छन् ।

आफ्नो वास्तविकता लुकाउने तथा जे हो त्योभन्दा बढी देखाउने प्रवृत्तिले गर्दा नायिकाहरूले नाम फेर्ने गरेको हुनसक्ने धारणा राख्छन् निर्माता राजेन्द्र थापा । भन्छन्, ‘यस क्षेत्रमा आफ्नो वास्तविकता ढाँटेर आउने धेरै छन्, त्यसैले उनीहरूले नाम फेरेका हुन् ।’

नाम फेर्ने मामिलामा अभिनेत्री मात्र होइन, अभिनेता पनि कम छैनन् । कहिले नायक त कहिले खलनायक बनेर अभिनय गर्ने दिनेश शर्मा पहिले आफूलाई आशिष शर्मा भनेर पनि चिनाउँथे । तर, उनको वास्तविक नाम जयराम केसी हो । त्यस्तै, लेखनाथ सापकोटा अहिले कलाकार सम्राट सापकोटाको नामले परिचित छन् । कलाकार सबिन बाँस्तोलाको नाम ‘गिरिधारी’ हो । लामो समयदेखि कलाक्षेत्रमा समर्पित शूरवीर पण्डितलाई घरमा केशव भनेर बोलाउँछन् । नायक रमित ढुंगानाको नाम राधेश्याम हो । निखिल उप्रेतीको नाम दिनेश हो । त्यस्तै, अर्का नायक विराज भट्टको खासमा भोजराज हुन् । लामो समय चलचित्र क्षेत्रमा संघर्ष गर्दा पनि उपलब्धि हात नलागेपछि उनले नाम फेरेका हुन् । हुन पनि विराज बनेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । केही वर्षअघिसम्म हरिकृष्ण सिग्देल नामले चिनिने गरेका कलाकार हुन्, अहिलेका आर्यन सिग्देल । सुरज रामदामले पनि आफ्नो थर आरडी बनाए । नवल खड्का स्कुलमा नवराज भनेर चिनिन्थे । निर्माता तथा नायक रोज राणाको वास्तविक नाम सरोज थापा हो ।

फाइट डाइरेक्टर नानीबाबु महर्जनले नाम छोट्याएर एनबी बनाए । यसरी नाम फेर्नु सामान्य भएको बताउँछन् अभिनेता सम्राट सापकोटा । ‘विदेशमा पनि कलाकारले नाम परिवर्तन गर्छन्, यहाँ पनि त्यही कपी गरिएको हो’, उनी भन्छन् । कलाकारले चर्चाका लागि नाम फेरे पनि उनीहरूलाई अपराधी प्रवृत्ति भएकाहरूले नाम फेरेजस्तो दृष्टिले हेर्न नहुने उनी बताउँछन् ।

त्यसो त नेपालमा साहित्यकारले साहित्यिक नाम राख्ने क्रमसँगै पछिल्लो समय कलाकारले पनि नाम फेर्न थालेका हुन् । तर, कलाकारको नाम उति साहित्यिक लाग्दैन । तैपनि, ‘क्याची’ नाम राख्न सकियो भने समाजले सजिलै याद राख्नसक्ने उनीहरूको बुझाइ छ । कतिले चाहिँ भाग्यमा विश्वास गर्दै ज्योतिषीय सल्लाहमा नाम फेरेका हुन्छन् । त्यसैगरी दलित समुदायका कलाकार भने दलित थर राखेर अघि बढ्न गाह्रो पर्ला कि भन्ने आशंकामा नाम परिवर्नत गरिरहेका भेटिन्छन् । जुन अहिलेको खुला युगमा सान्दर्भिक लाग्दैन । आखिरमा नाम जति फेरे पनि कलाक्षेत्रमा टिक्नेहरू कला अनि क्षमताकै भरमा अघि बढेका देखिन्छन्, नामका आधारमा होइन । नाम फेरेका तर क्षमता नभएकाहरू पाखा लागेकै छन् । त्यसैले नामभन्दा पनि काम राम्रो गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँछन् नाम नफेरेका चलचित्रकर्मीहरू ।

नयाँ नाम            पुरानो नाम

करिस्मा मानन्धर-  बुनु केसी
नन्दिता केसी -शोभा केसी
उषा पौडेल -रुक्मिणीकुमारी पौडेल
सीपी लोहनी -चन्द्रप्रकाश लोहनी
गरिमा पन्त -कमला पन्त
कृष्टि केसी -मीना खत्री
मौसमी मल्ल- विष्णुमाया ठकुरी
मेलिना मानन्धर -सुनीता मानन्धर
सुनीता खड्का- सृष्टि शर्मा
सृजना बस्नेत- सुनीता बस्नेत
जेसिका खड्का -ज्योति खड्का
गीताञ्जली- गीता सुनुवार
सारंगा श्रेष्ठ- शारदा श्रेष्ठ
पूजा चन्द- राधिका परियार
मेघा पोख्रेल -विमला पोख्रेल
हिसिला महर्जन -हीराशोभा महर्जन
प्रेरणा शर्मा -विष्णुमाया परियार
जेनिसा केसी -जानुका केसी
रञ्जु लामिछाने- रञ्जना लामिछाने
कृति भट्टराई -स्वीकृति भट्टराई
पूजना स्त्री -पूजना प्रधान
युना उप्रेती -यमुना उप्रेती
जिया केसी -जमुना केसी
दिनेश शर्मा -जयराम केसी
सम्राट सापकोटा -लेखनाथ सापकोटा
सबिन बाँस्तोला -गिरिधारी बाँस्तोला
शूरवीर पण्डित -केशव पण्डित
रमित ढुंगाना -राधेश्याम ढुंगाना
निखिल उप्रेती- दिनेश उप्रेती
विराज भट्ट- भोजराज भट्ट
आर्यन सिग्देल- हरिकृष्ण सिग्देल
सुरज आरडी -सुरज रामदाम
नवल खड्का -नवराज खड्का
रोज राणा -सरोज थापा
एनबी महर्जन -नानीबाबु महर्जन
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.