चीन तथा अमेरिकाबीच सम्बन्ध गम्भीर मोडमा

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामाका वरिष्ठ सुरक्षा सल्लाहकार टम डलिनललाई बेइजिङ तथा वासिङटनबीचको सम्बन्ध गम्भीर मोडमा पुगेको बताउनुभएको छ । उहाँले आउँदो साता अमेरिकी नेतासँग भेट गर्नुहुने कार्यक्रम तय भएको छ । दुई नेताबीच जुन ७ तथा ८ मा क्यालिफोर्नियाको सन्नील्यान्डमा हुने बैठकको तयारीका लागि वरिष्ठ सुरक्षा सल्लाहकार डनिलन बेइजिङ पुग्नुभएको हो । चिनियाँ राष्ट्रपति सीले पदभार वहन गरेपछि यी दुई नेताबीच यो पहिलो भेट हुनेछ । यस भेटमा उत्तर कोरियाले फेब्रुअरी महिनामा गरेको पारमाणविक परीक्षणका विषय तथा चिनियाँ सरकारको सहयोगमा भएको साइबर आक्रमणजस्ता विषयमा पनि वार्ता हुनेछ । यस्तो आरोपलाई चीनले अस्वीकार गरेको छ । यसैगरी चीनको जापान र दक्षिणपूर्वी एसियाली छिमेकीसँगको क्षेत्रीय विवादका विषयमा पनि छलफल हुनेछ । यसैगरी सिरियामा गृहयुद्ध अन्त्य गर्ने विषयमा पनि दुई नेताबीच छलफल हुनेछ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सीले डलिनललाई हाल अमेरिका तथा चीनबीचको सम्बन्ध विगतको सफलता तथा भविष्यको नयाँ आयाम खुला गर्ने कुराका गम्भीर मोडमा पुगेको बताउनुभयो । उहाँले आफूले अमेरिकी राष्ट्रपति ओबामासँगको भेटमा आपसी अभिरुचिका प्रमुख रणनीतिक विषयमा वार्ता गर्ने बताउनुभयो । भेटमा वरिष्ठ सुरक्षा सल्लाहकार डनिलनले राष्ट्रपति सीलाई उच्चस्तरमा अभूतपूर्व वार्ता तथा छलफल तथा वरिष्ठ अधिकारीहरूबीच अन्य सञ्चार सम्पर्कले दुई मुलुकबीचको सम्बन्धलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताउनुभयो । यसअघि अमेरिकी अर्थमन्त्री ज्याकब ल्यु, अमेरिकी संयुक्त सेना प्रमुख मार्टिन डेम्पसी तथा विदेशमन्त्री जोन केरीले चीनको भ्रमण गरिसक्नुभएको छ । रासस/एएफपी

0 comments

Write Down Your Responses

Powered by Blogger.