कालीगण्डकीले ट्रयाक्टर बगायो, बेनी–जोमसोम सडक अबरुद्ध
पर्वत, असार ३ - अविरल बर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि बेनी–जोमसोम सडक अबरुद्ध भएको छ भने नदीले एउटा ट्रयाक्टर बगाएको छ । सडक खण्डमा पर्ने म्याग्दीको हिस्तान र घार गाविसको सिमाना भीरकाटे भन्ने स्थानमा सडकमा रोकी राखेको ना ४ त ५८४ नम्बरको ट्रयाक्टर बगाएको हो । पानीको सतह बढेपछि उक्त ट्याक्टर आइतबार ५ बजे सडकमै फसेको अबस्थामा सोमबार बिहान १० बजेतिर बगेको इलाका प्रहरी कार्यालय तातोपानीका प्रहरी निरीक्षक भरतप्रसाद पौडेलले जानकारी दिनुभयो । नदीमा सतह बढेपछि भिरकाटेमै सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि जोमसोमतर्फबाट आएका यात्री पोखरेबगर र बेनीबाट गएका सवारी साधन तिप्ल्याङनेर रोकिएका छन् । यात्रीहरुले २५ मिनेट पुरानो बाटोबाट पैदलै हिडेर ओहोरदोहोर गरिरहेका प्रहरीले जनाएको छ । अहिले पानीको सतह बढेपनि डाईभर्सन नभत्किएकाले पानी घटेपछि केही दिनका लागि सवारी सञ्चालन गर्न सकिने भएपनि यो बर्षामा पुन सडक अवरुद्ध हुने यातायात ब्यवसायीले बताएका छन । सडक बिभागले भिरकाटेमा नदीकटान नियन्त्रण गर्न ७१ लाख रुपैयाँ बिनियोजन गरेपनि ठेकेदार सम्झौता गर्न नआएपछि योजना अलपत्र परेको छ ।
|
0 comments
Write Down Your Responses