बाढी हेर्न गएकी महिलालाई महाकालीले बगायो

महेन्द्रनगर - दार्चुलामा बाढी हेर्न गएकी एक महिलालाई महाकालीले बगाएको छ। आज बिहान बाढी हेर्न गएकी धाप गाविस–५ की ३० वर्षीया सरस्वती रैखोलालाई महाकालीले बगाएको हो। उनि बाढी हेर्न घर नजिकैको महाकाली नदी किनार पुगेकी थिइन्। बाढीले बगाएकी रैखोलाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। तीन दिनको लगातारको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम नजिकैको एउटा बस्ती नै बगाएको छ। बाढीले दार्चुला सदरमुकाम खलंगा–४ स्थित दलित बस्ती बगाएको हो। दशकौंयता कै उच्च बाढी आएपछि दार्चुला सदरमुकाम खलंगा यतिबेला जोखिममा छ। स्थानीय पत्रकार भोजराज जोशीले जानकारी दिए अनुसार नेपाल–भारत जोड्ने सीमा पुल खतरामा छ। बाढी पुलसम्म पुगेपछि उक्त पुलमा आउ–जाउ बन्द गरिएको छ। खलंगाको बाँगाबगडदेखि गल्फैसम्मका नदी किनारका घरहरु जोखिममा छन्। बाढीले घर बगाउने क्रम जारी छ। बाढीले अहिले गल्फैस्थित जिल्ला वन कार्यालय र भू-संरक्षण कार्यालय बगाएको छ। लगातार बाढीले कटान गरिरहेको छ। प्रहरी, सेना र स्थानीयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थलतर्फ लागेका छन्।
यता कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ। पहाडी जिल्लामा लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो। आज बिहान ६ बजे गरिएको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ६१ हजार २ सय ७८ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आइतबार रातिसम्म पानीको बहाव १ लाख २२ हजार क्युसेक पुगेको थियो। आइतबार साझँदेखि महाकाली नदीको बिच टापुमा थुनिएका २३ जनाको उद्धार गरिएको छ। पानी बढेपछि ढुंगा, गिट्टी र बालुवा लिन गएका २३ जना सर्वसाधारण टापुमा थुनिएका थिए। उनीहरुलाई उद्धार गर्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए। पानीको बहाव अत्यधिक भएपछि प्रहरी र सेना राति नै फिर्ता भएको थियो। आज बिहान स्थानीयले सेना र प्रहरीको सहयोगमा २३ जनाको ट्युवमा उद्धार गरेको हो।

0 comments

Write Down Your Responses

Powered by Blogger.