'फस्ट लभ' सार्वजनिक । कुतकुती लगाउने फस्ट लभ-आइडियल बोई

सम्पादक अजित बसाजद सहित १० युवा युवतीको पहिलो प्रेम अनुभव बारे लेखिएको पुस्तक फस्ट लभ सार्वजनिक भएको छ । पुस्तकको कलाकारहरु हेमन्त राना, ईन्दिरा जोशी, सुवानी मोक्तान र धर्मेन्द्र सेवानले संयुक्त रुपमा बिमोचन गरेका हुन ।

भृकुटिमण्डपमा चार गायक गायिकाले गित सहित सार्वजनिक गरेको पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो । पुस्तकमा सम्पादक बरालसँगै ऋचा भट्टराई, सुविन भट्टराई, कुमार नगरकोटी, बिमल आरोही, सिवानी सिंह थारु, शोभा शर्मा, रामबहादुर तामाङ, लेनिन बञ्जाडेको र कमल नेपालीको पहिलो प्रेम अनुभव समेटिएको छ ।'तिमी त मेरो आइडियल गर्ल थियौ नि !'

फेसबुकको च्याट बक्समा यसो लेखेर पठाउने उही हो, जो मेरो प्रथम आइडियल बोई थियो । तर मैले लेखिनँ, ऊ पनि मेरो आइडियल थियो । मैले लेखिनँ, ट्युसन क्लासमा पहिलो पटक देख्दादेखि नै ऊ मेरो आइडियल बनेको थियो । मैले लेखिनँ, बिर्सन खोज्दा कति पटक सम्झेँ उसलाई । मैले लेखिनँ, उसको यादको डुबान र उडानमा आफैंलाई नि बिर्सिएँ कति पटक । लेखिनँ यी सबै ।

‘तिमी कहाँ हरायौ ? किन बोल्न छोड्यौ ? ए, बिन्दास लेडी,’ उसले फेरि सोध्यो ।

‘मख्ख परेर बसेको नि !’ मैले गफ लगाएँ ।

‘किन मख्ख ?’

‘थाहै नपाई कसैको आइडियल बन्न पाउनु चानचुने कुरा हो ?’

‘बाहुनी, धेरै नाक नफुलाऊ ।’

म जिस्किएझैं मानेर होला उसले त्यसै गरी भन्यो जसरी पहिले भन्थ्यो । उसको बोली फेरिएको रैनछ ऊप्रति मेरो भावना फेरिएजस्तो ।

‘तिमी त उस्तै रैछौ,’ मैले भनेँ ।

‘तिमी पो बाठी भैछौ ।’

‘म लाटी थिएँ त ?’

‘सोझी थियौ । तर बिन्दास थियौ । अरुलाई पढाइको कत्रो चिन्ता थियो । तिमीलाई भने फिक्री नै थिएन ।’

‘हेहेहे ।’

‘हामी हिसाब नआएर रन्थनिँदा तिमी अरुलाई जिस्काएर बस्थ्यौ ।’

‘फिक्री गरेर पढ्न आउने हो र ?’ मैले फेरि गफ दिएँ । ‘इन्ट्रेस्ट भएको विषयमा को जिस्केर बस्दो हो ?’

‘इन्ट्रेस्ट नभएको मान्छेले किन अप्सनल म्याथ लिएको नि ?’ उसले भन्यो । ‘तिमलाई हिसाब नआको देखेर त... ।’ उसले वाक्य अधुरै छोड्यो मेरो प्रेमझैं ।

मलाई त हिसाब भन्दा पिसाब आउँथ्यो । सोधेँ उसलाई, ‘मलाई हिसाब नआको देखेर तिमलाई के हुन्थ्यो ?’

‘हाँसो लाग्थ्यो । यस्ती लद्दुले किन अप्सनल म्याथ लिएको होला जस्तो लाग्थ्यो ।’

‘ए, ए । हिसाब त मलाई अझ पनि आउँदैन र त्यसको फिक्री अहिले पनि छैन मलाई ।’

‘तिमी आज पनि उस्तै बिन्दास देखिन्छौ,’ उसले भन्यो ।

‘कहाँ देख्यौ ?’

‘फेसबुक फोटो र स्टाटसहरुमा ।’

‘ए, हिसाब–किताब नगरी बिन्दास हुन पाए को हुँदैन ?’

‘तिमीसँग बोलेर को सक्ला ?’

‘तिमी सक्दैनौ र ?’

‘अहँ ।’

‘त्यसो भए बाई ।’

‘किन रिसाको ?

म रिसाको थिइनँ । उसले के गर्दो रहेछ भनेर केही नभनीकन घुर्की लाएझैं गरी एकछिन त्यत्तिकै बसिरहेँ। ऊ रिसाएछ क्यारे, च्याटबाट हिँडेछ, मलाई विगत सम्झन बाध्य बनाएर ।
...
ट्युसन क्लासको पहिलो दिन । निलो टिसर्ट लगाएको उसलाई सरले ब्ल्याकबोर्डमा हिसाब गर्न लगाउनुभयो । उसले हिसाब गरेर देखायो । सर प्रसन्न । उसलाई धाप मार्दै भन्नुभयो, ‘राम्रो ।’
त्यहीँदेखि ऊ मेरो आइडियल भएको थियो  ।

उसलाई मैले त्यसभन्दा अघि पनि देखेकी थिएँ । दोबाटोमा हाम्रो भेट भएको थियो धेरै पटक । तर म उसलाई वास्ता गर्दैनथेँ । त्यो दिनदेखि भने वास्ता गर्ने भएकी थिएँ । मलाई ट्युसन क्लास कति खेर पुगौंझैं हुन्थ्यो । मनको क्यानभासमा कुन्नि कस्तो रंग पोतियो, म त्यसैको मोहनीमा हराउन थालेँ ।

हुन त क्लासमा अरु पनि थिए जान्ने केटाहरु । उनीहरु घमण्डले फुलेका हुन्थे, अझ केटीहरुलाई त मान्छे नै गन्दैनथे । तर ऊ भने असल थियो । मै जान्ने हुँ भन्ने भावना थिएन उसमा ।
क्लासमा खुब जान्ने पल्टिने केटो थियो । संसारभरको हिसाब आफैंलाई आउँछझैं गर्ने । सरसँग डिस्कस गरेर कहिल्यै नथाक्ने । एक दिन मेरो आइडियलले थर्काइदियो, ‘ओए बाहुन, कति जान्ने हुन्छस् ? अरुलाई नि बोल्न दे न ।’

त्यो दिनदेखि बाहुन चुप । यता मेरो ढुकढुकी दिनदिनै बढ्न थाल्यो । म आफैंले मेसो पाएकी थिइनँ, किन त्यस्तो हुन्छ । मेरो ट्युसन क्लास संसारभरमा रमाइलो थियो, किनभने ऊ थियो । उसलाई म्याथमा इन्ट्रेस्ट थियो, मलाई उसमा ।

म झन् केटाकेटी जस्तै बनेकी थिएँ । चकचके र चञ्चल । किनकिन साना साना नानीझैं खेल्न मन लाग्थ्यो । मेरो आइडियलको ध्यान मैतिर होस्जस्तो लाग्थ्यो । हरे ! फेरि लाज पनि लाग्थ्यो ।

एक दिन साथीसँग एउटा खुट्टाले टेकेर आफैंले फालेको गोटी छुने खेल नरिवल खेल्दै थिएँ । गोटी फालेर एउटा खुट्टा उचालिसकेकी के थिएँ उसलाई देखेँ । दुइटा खुट्टाले टेक्दा त उसलाई देखेपछि मुटु हल्लिन्थ्यो, भुइँचालो नै आएजस्तो भयो । म त ढिलपिल ढिलपिल भएँ । कतिखेर दुई खुट्टा टेकेछु, पत्तै भएन । म आउट भएँ ।

ऊ नजिक आयो र जिस्कायो, ‘यो बाहुनीलाई लाज पनि लाग्दैन । बूढी भैसकेको पत्तो छैन, जामा उचालेर एकखुट्टे खेल्छे ।’

म पानीपानी भएँ ।

अरु केटाहरुले पहिल्यै जिस्काएका थिए उनीहरुलाई मैले नै थर्काएर चुप बनाएकी थिएँ, उनीहरुले खुच्चिङ गरे । त्यसपछि मैले कहिल्यै एकखुट्टे खेलिनँ ।

त्यसै बेला हो, एक्लैएक्लै बस्न थालेको पनि । त्यसै बेला हो, हरियो पाखाभरि गीत गाउँदै घाँस काट्न मन लागेको । पराईलाई आफ्नो देख्न थालेको पनि त्यसै बेला हो । पहिला कहिल्यै नौलो नलागेको संसार रहस्यमय लाग्न थालेको पनि त्यही बेला हो । एक्लैएक्लै लाज मान्न र हाँस्न थालेको पनि त्यही बेला हो । ऐना अगाडि घन्टौं बस्ने बानी लागेको पनि त्यही बेला हो । र, आफ्नो ढुकढुकीमा अरुको नाम सुन्न थालेको पनि त्यही बेला हो ।

अनुभूतिको रंगीन छाया थियो ऊ । त्यही छायाको मायामा म फसेकी थिएँ, पत्तै नपाई । त्यसैले रमाइलो थियो मेरो मनको संसार । तर सधैं होइन । कहिलेकाहीँ कताकता अनौठो पीडा हुन्थ्यो, छालाभित्रको कमलो मासु घोचिँदाखेरिको जस्तो । छातीभित्र कतै दुख्थ्यो तर कहाँनिर, मलाई थाहा थिएन ।

म क्लासभित्र पस्दा पहिलो पटक आँखा उसैलाई खोज्थे । उसलाई देखिनँ भने म झ्यालतिर गएर बस्थेँ । झ्यालबाट उसको घर र आउने बाटो पूरै देखिन्थ्यो । त्यहाँबाट पनि उसलाई देखिनँ भने कुन्नि कुन ठाउँमा दुख्थ्यो भित्र–भित्र ।

उसको स्कुलमा पढ्ने भाइहरु थिए हाम्रो गाउँमा । उनीहरुका कुरा चाख मानेर सुन्ने भएकी थिएँ म, उसका कुरा पो गर्छन् कि भनेर । हाँसो लाग्छ अहिले त्यो कुरा सम्झँदा ।

एक दिन एकजना भाइले उसको स्कुलको कुरा गर्दा ऊ भलिबल खेल्न च्याम्पियन छ भनेको थियो । म ऊसँग सम्बन्धित अरु प्रश्न पनि जान्न चाहन्थेँ, जस्तो मेरो आइडियल के गथ्र्यो ? उसलाई के मन पर्छ के मन पर्दैन ? आदि, इत्यादि । त्यसैले म घुमाई–घुमाई मेरो आइडियलबारे प्रश्न गर्थें । तर भाइ कुरा अन्तै मोड्थ्यो, दिक्क लाग्थ्यो । मेरो अन्तरमा कसैका बारे यति गहिरो उत्सुकता जिन्दगीमै पहिलो पल्ट पलाएको थियो । उसलाई जतिखेरै पनि हेर्न मन लाग्थ्यो । उसबारे सुन्न मन लाग्थ्यो । खाना खाँदाखाँदै टोलाउथेँ । कुचो लाउँदा लाउँदै र घाँस काट्दाकाट्दै हराउँथेँ म । सम्हालिन गाह्रो हुन्थ्यो । अरुसँग सत्य बोल्न झन् कति हो कति गाह्रो ।

...
अप्सनल म्याथ पढाउने सर कडा हुनुहुन्नथ्यो, त्यसैले हल्ला गरेर बस्थ्यौं । मेरो आइडियलको एउटा साथी थियो अति नै चालु । मेरी दुइटी साथीलाई एकैसाथ साइड मारेर बस्थ्यो । हाम्रो बेन्चपछि एउटा खाली बेन्च हुन्थ्यो त्यसमा चालु केटा आएर बस्थ्यो र मेरा साथीलाई काउकुती लगाउँथ्यो । एक दिन त्यो केटा आएन र बेन्च खाली नै भयो । खाली बेन्च पछाडिको बेन्चमा मेरो आइडियल र अरु केटा बसेका रैछन् ।  खाली बेन्चमा अडेस लागेको त बेन्च ढल्किन्छ, फेरि फेरि । मैले मेरो आइडियललाई नै आँखा तरेँ । रिसै त उठेको थिएन ।

‘मलाई थाहा थियो यो बाहुनीले मैलाई हेर्छे,’ उसले भन्यो ।

‘के गरेको ?’ म रिसाएजस्तो गरेँ ।

अरुले पो रैछ । म उनीहरुसँग रिसाएँ । उसले फेरि भन्यो, ‘अरुले जे गरे नि मैलाई हेर्छे ।’

मलाई हाँसो लाग्यो र कताकता पछुतो पनि । तैपनि भनेँ, ‘हेर्नै नहुने भए आफ्नो अनार मधुसमा लुकार आऊ ।’

‘कति मुख फर्काउन आको हो यो बाहुनीलाई !’ उसले यत्ति भन्यो ।

मैले उसलाई त्यति धेरै हेर्दी रैछु ? अचाक्ली लाज लाग्यो मलाई । लाज र पछुतोको यति गहिरो अनुभूति पनि पहिलो पटक त्यही बेला भयो ।

...
‘म तिमलाई हिसाब सिकाइदिन्थेँ, तिमले मलाई कति राम्रा–राम्रा पेन दिन्थ्यौ । थाहा छ ? तिमले दिएका पेन पोखरा आउँदासम्म पनि मैले जोगाएर राखेको थिएँ ।’ एकदिन उसले च्याटमा भनेको थियो । यो कुरा त मैले बिर्सिसकेकी थिएँ ।

नयाँ–नयाँ पेन किन्न मलाई गाह्रो थिएन । बुवा र आमाले आफ्ना लागि किनेका कलम पनि मैले नै हिँडाउथेँ । त्यसैले मसँग त्यो बेला भर्खरै बजारमा आएका सेलो जेल पेन हुन्थे— निला, काला, राता, हरिया पाइने जति रङका । तर मलाई रंगाउने रंग त ऊ थियो । मलाई खुसी बनाउने र दुःखी बनाउने के थियो ऊसँग ?

‘तिमीलाई केहीको फिक्री थिएन,’ उसले भन्यो । तर थियो, उसको ।

कक्षामा जहिल्यै ऊ मेरो पक्षमा बोल्थ्यो । एकदिन मेरी साथीले मलाई भनी, ‘उसले तँलाई मन पराउँछ ।’

मेरो मन भरिलो भयो भावनाले, जोडसँग धड्किन थाल्यो मुटु । तर मैले पनि उसलाई मन पराउँछु कसरी भन्न सक्थेँ र ! भनेँ, ‘इस् ! कसरी थाहा पाइस् ? त्यसले मन पराए पराओस्, मलाई के मतलब !’

साथीलाई त यस्तो भनेँ । तर मन आत्मसन्तोषले भरियो । अरुलाई बाँड्न नसक्ने आत्मसन्तोष पनि कति मीठो हुँदो रहेछ, त्यही बेला महसुस भयो ।

मैले पनि त उसलाई सधैं सम्झन्थेँ । उसलाई त म पारि डाँडामा देखे पनि चिन्थेँ । सायद उसको छाया पनि चिन्थेँ होला ।

पारि देखिने घर उसको हो भन्ने थाहा पाएपछि मेरा आँखाको ठेगाना पनि त्यतै सरेको थियो । मेरो घरको आँटीको पल्लो कुनाबाट उसको घर देखिन्थ्यो । त्यहाँ बसेर घन्टौं उसको घर हेर्थें । वनमा दाउरा लिन जाँदा सिरपाटाबाट तल उसको घर देखिन्थ्यो । मेरा आँखा उसैको घरमा गएर ठोकिन्थे । केही हल्का हुन्थ्यो, दाउरा बोक्दाको थकाइ पनि मेटिन्थ्यो । उसको घर वरिपरि देखिने हर आकृति मलाई आफ्नो लाग्थ्यो । घरबाहिर कोही देखियो भने म ठम्याएर हेर्थें, ‘उही पो हो कि ?’

उसको फिक्री गर्दागर्दै एसएलसी सकियो । सुनेँ, ऊ त गाउँ छोडेर गयो अरे पोखरा । मेरो मनको चंगा ओस्सिएर झर्‍यो । हल्लियो मेरो धरती । मेरो आँखाको ठेगानामा कुनै जादु थिएन । बस्, उदासी ।

ऊ गयो पोखरा साइन्स पढ्ने तयारी कक्षा लिन । मेरो मुटु उफ्रिन थाल्यो । अकस्मात बिरानो लाग्यो संसार । मलाई मन परेका हर चिज फिक्का लाग्न थाले । आफ्नै ठाउँ, आफ्नै घर उराठलाग्दो लाग्न थाल्यो । ओहो ! कहाँ जाऊँ ? कसलाई भनूँ ? छातीभित्र मडारिएको तुफान बाँड्न सक्ने मेरो कोही थिएन । डर लाग्थ्यो, एक्लैएक्लै कोही केटोलाई सम्झिन्छु भन्दा अरुले के सोच्लान् ! इज्जतै जाने भयो भन्ने कुराले काम्थेँ भित्रभित्रै फेरि । तनाव, उदासी र डरको त्यो आँधीमय अनुभूति एक्लै कसरी सामना गरेँ होला, सोच्दा अचम्म लाग्छ ।

एसएलसीपछिको फुर्सदमा मैले किताब पढ्न थालेँ । कम्युनिस्ट आन्दोलनबारे लेखिएका उपन्यास मनपथ्र्यो मलाई । मैले पढ्ने उपन्यासको नायकमा पनि उसको छवि देख्थेँ । उपन्यासमा प्रेममा परेका नायक–नायिकाका अनुभूति पढ्दा थाहा भयो, मेरो पनि आइडियलसँग प्रेम परेको रैछ । अनौठो लाग्न नपाउँदै सम्झिएँ, प्रेम परेपछि उसैसँग बिहे गर्नुपर्छ । हो त नि मैले किन सम्झेको होला ! मलाई डर लाग्न पो थाल्यो । न म उसलाई बिर्सिन सक्थेँ, न उसलाई छुट्याएर भविष्यको कल्पना गर्न । म साह्रै आत्तिएँ । उसको र मेरो बिहे कसरी हुन सक्छ ? मगर केटोसँग मलाई बिहे गर्न कस्ले दिन्छ ! मेरो अन्तर काम्न थालेको थियो । धेरै दिन म यस्तै तनाव लिएर बसेँ । एक दिन मनले आफैं भन्यो, ‘कसैले ऊसँग बिहे गर्देनन् भने भाग्नुपर्ला ।’
तर आइडियलले के भन्ने हो, पत्तो थिएन । म भने एक्लै यता भाग्ने योजना बनाइरहेकी थिएँ ।

...
एसएलसी पास भएपछि म काठमाडौं आएँ । मेरो मन भने उसको सहरमा डुल्न थाल्यो ।

जाडो बिदामा घर गएँ, ऊ भेटिन्छ भन्ने आस लिएर । तर ऊ आएको रहेनछ ।

माघे संक्रान्ति मेलामा त आउला ? सहरबाट आउने बाटोमा मैले आफ्ना आँखा ओछ्याएर राखेकी थिएँ ।

माघे संक्रान्तिको दिन । स्कुलमा मेला थियो । भलिबल प्रतियोगिता चलिरहेको थियो । मान्छेहरुको भीड छिचोल्दै म स्टेजनिर गएर हेर्न थालेँ । उसका भाइ, बहिनी, बा, आमा सबैलाई देखेँ, तर उसलाई देखिनँ । तर मेरो मनले भनिसकेको थियो, ऊ आएको छ । एक्कासि उसलाई मतिरै आउन लागेको देखेँ । मुटु ढक्क फुल्यो । यति जोडसँग बज्न थाल्यो कि संसारमा मेरो मुटुको आवाज जति ठूलो केही छैन होलाजस्तो लाग्यो । निधारमा चिटचिट पसिना आए । उसले हाँस्दै मलाई बोलायो । मलाई याद छैन म हाँसेँ कि हाँसिनँ ? उसले सोध्यो, ‘कति दिन भयो आएको ?’

‘१५ दिन ।’

‘कति दिन छ बिदा ?’

‘अझै १५ दिन ।’

‘कति धेरै बिदा ! हाम्रो त भोलि क्लास सुरू हुन्छ । आजै जाने हो ।’

‘हो र ?’ मैले यति नै भन्न सकेँ ।

उसैले सोध्यो, ‘तिमले कहाँ, कुन विषय पढ्दैछौ ?’

‘आरआर क्याम्पसमा पढ्दैछु, पत्रकारिता ।’

‘ए ! राम्रो विषय पढिछौ । राम्ररी पढ्नू, यहाँ जस्तो ठगठाग गरौला, हेहेहे ।’

उसका आँखामा हेर्न त सकेकी थिइनँ, बोल्ने कुरै भएन ।

‘पोखरा आजै जाने हो, लौ म त गएँ,’ उसले भन्यो । अनि ऊ हिँड्यो मेरो मुटुको धड्कन लिएर ।

आँखा ऊ गएतिरै दौडिए । ऊ जान्छ भन्ने चिन्ताले उदास भएँ । अघि राम्रोसँग नबोलेकामा पछुतो पनि भयो, तर म कसरी बोल्न सक्थेँ ? मुटु फुलेर सासै रोकिएला जस्तो त भएको थियो । ऊ गएपछि मलाई मेलाको रमाइलोले बाँध्न सकेन । मेरो मन त उसैसँग हिँड्यो । म भीडबाट निस्किएँ, साथीहरुलाई घर गएर आउँछु भनेर ।

सेरा बजारको छेउमै देखेँ उसलाई । मैले सोचेकै ठाउँमा । तर उसलाई नदेखेझैं गरेर हिँडेँ !

‘ओए,’ ऊ करायो, ‘पख न ।’

म फर्किएँ । ऊ नजिकै आएपछि मैले भनेँ, ‘जान लाग्यौ ?’

‘तिमी किन मेला हेर्न छोडेर हिँडेको ?’ उसले सोध्यो ।

‘सञ्चो नहोलाजस्तो भयो ।’

‘ए, आराम गर गएर । काठमाडौं गएपछि त हामलाई बिर्सिन्छौ तिमले ।’

म केही बोलिनँ । जहाँ गए नि तिमलाई बाहेक कसैलाई सम्झिन्न भन्न नमिलेपछि के बोल्नु त ?

‘फोन छैन तिम्रो ?’ उसले सोध्यो ।

‘छैन । तिम्रो छ फोन ?’ छन त अंकलको फोन थियो ।

उसले नम्बर भन्यो र थप्यो, ‘फोन गरेर मलाई बोलाइदिन लगाउनू ।’

कलम थिएन साथमा, नम्बर मनमनै दोहोर्‍याएँ ।

‘ल हुन्छ म फोन गरुँला । तिमी राम्रोसँग जाऊ,’ मैले भनेँ ।

‘राम्रोसँग पढ । यहाँजस्तो होइन, अब सिरियस हुनुपर्छ’ भन्दै ऊ पर पुग्यो । म माथितिर उक्लेँ । नम्बर बिर्सिन्छु कि भन्ने चिन्ता थियो, दोहोर्‍याइरहेँ ।

पर पुगेर चिच्यायो, ‘फोन गरे है !’

सुनेर मेरो मन चंगा भयो । घर पुगेर पहिले उसको नम्बर टिपेँ कपीमा । ऊ गैसक्यो भन्ने सम्झेर मन फेरि त्यसै अमिलो भयो ।

भावनाको उफानले नम्बर टिपेकै कपीमा एउटा कविता पनि लेखायो । आफैंले लेखेको कविता पढ्दा आँखाबाट आँसु झर्‍यो । प्रेम कविता पहिलो पटक लेखेँ । उसको नाउँमा कवि पनि भएँ । म आफैं आफ्नै नियन्त्रणमा थिइनँ । कस्तो आवेश थियो त्यो ?

काठमाडौं आइपुगेको एक–दुई महिना भइसकेको थियो । यतिका समय ऊसँग भेटेको त्यही पाँच मिनेट काफी थियो सम्झिन र मुस्कुराउन । बेचैनी बढ्न थाल्यो, ऊसँग एकै पटक बोल्न मात्र पाए पनि हुने । तर बोल्न त आँट चाहिन्थ्यो । पिसिओभित्र छिरेर फोन लगाउथेँ । हातै काँप्थे अनि त्यसै छोडेर हिँड्थेँ । कैयौं पटक आधा नम्बर डायल गरेर छोडेँ । कैयौं पटक नम्बर डायल गरेर काटेँ ।

एक दिन हिम्मत गरेर पूरै रिङ जान दिएँ, फोन उठ्यो । मसिनो आवाजमा डराई–डराई हेलो भनेँ । उताबाट बूढो मान्छेको स्वर आयो । उसलाई बोलाइदिन भनेँ ।

‘को हो ?’

‘को रे ?’ उसको आवाजले मेरो कानै चिरिएलाजस्तो भयो ।

मैले उसको नाम भनेँ ।

‘बेल्का गर । ऊ अहिले खेल्न गाको छ ।’

साँझ कहिले पर्ला जस्तो भयो, दिनभरि । मनमा अनेकथरी कुरा खेलिरहे । म भावनाको रंगीन तालमा डुबिरहेँ । मुटुको धड्कन पनि बढेको बढ्यै भयो । बेलुका साथीलाई लिएर पिसिओ छिरेँ ।

अर्को चोटि फोन गर्ने आँट आएन । साथीलाई फोन डायल गर्न लगाएँ । फोन गयो । उताबाट आइमाईको आवाज आयो । साथीले हेलो भनी र एकैछिनमा फोन राखी ।

मेरो मन चिसो भयो ।

‘डरलाग्दी रैछे बूढी,’ साथीले भनी ।

‘के भनी र ?’

‘के के भनी के के नि !’

म अलमल्ल परेँ ।

‘के भनी र ?’ फेरि सोधेँ ।

‘कस्तो हो र तिम्रो साथी ? बूढीले त ‘कति केटीले फोन गर्च यो केटालाई’ भनी त !’

साथीको कुरा मुटु छेडेर भित्र पस्यो ।

(तीन युवती र सात युवकको पहिलो प्रेमको कथा समेटिएको किताब ‘फस्ट लभ’को अंश । यो किताब भृकुटीमण्डप पुस्तक मेलामा शनिबार दिउँसो सार्वजनिक ।)

0 comments

Write Down Your Responses

Powered by Blogger.