सेनाका २ जवानमाथि गोली प्रहार, अवस्था गम्भीर

जनकपुर- नेपाली सेनामा भर्ती भइ तालिम सकेर घर फर्केका दुई जनालाई महोत्तरीको मनरामा हतियारधारी एक समूहले गोली हानी हत्या प्रयास गरेको छ। मनराको महादेव मठ चोकमा आइतबार बिहान ६:३५ बजे भएको अन्धाधुन्ध गोली प्रहारबाट विदामा घर आएका नेपाली सेनाका २३ वर्षीय विकास सिंह र २८ वर्षीय शैलेन्द्र मण्डल घाइते भएका हुन्।
मर्निङवाकबाट फर्केर चिया पिउन बसिरहेका उनीहरुमाथि एक्कासि आक्रमण भएको थियो। अन्धाधुन्नद गोली चलेपछि अन्य स्थानीय भागेका थिए। मण्डलको पेट तथा सिंहको तिघ्रामा गोली लागेको छ। गोली लागी घाइते भएकाहरुको अवस्था अत्यन्त गम्भीर रहेको सशस्त्र प्रहरी महोत्तरीका प्रमुख एसपी कुमार न्यौपानेले बताए। घाइते दुवैको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार भइरहेको उनले जानकारी दिए। नेपाली सेनामा भर्ती भएका उनीहरु तालिम सकेर विदामा घर आएको स्थानीय लालजी ठाकुरले नागरिकन्युजलाई बताए।

भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले सञ्चारकर्मीहरुलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका छन्। मुक्तिले मधेशबाट प्रहरी र प्रशासन खाली गराउन चेतावनी स्वरुप गोली प्रहार गरेको बताए। 

श्रोत : नागरिक न्युज

0 comments

Write Down Your Responses

Powered by Blogger.