भारत फाइनल !
कार्डिफ – विश्व च्याम्पियन भारतले बिहीबार कार्डिफमा श्रीलंकालाई ८ विकेटले हराउँदै आयोजक इङ्ल्यान्डविरुद्ध इड्बास्टनमा आइतबार हुने फाइनलमा स्थान पक्का गरेको छ। अघिल्लो दिन पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ७ विकेटले हराउँदै इङ्ल्यान्डले फाइनल सुरक्षित गरेको थियो।
१ सय ८२ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर बाँकी रहँदै २ विकेट क्षतिमा लक्ष्य पाएको थियो। ओपनर शिखर धवनले ६८ रन बनाउँदै कुल ३ सय ३२ रनका साथ प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी सूचीमा अगाडि रहँदा भारतको लक्ष्य प्राप्ति सहज बन्यो। धवनले दक्षिण अफ्रिकाविरुद्ध १ सय १४, वेस्ट इन्डिजविरुद्ध १ सय २ तथा पाकिस्तानविरुद्ध ४८ रन बनाएका थिए। भारतलाई एसियाली प्रतिद्वन्द्वीविरुद्ध पछिल्ला ८ एकदिवसीय अन्तर्राष्ट्रियमा सातौं जित दिलाउन विराट कोहलीले अविजित ५८ रन बनाए। धवनले ९२ बल खेल्दै ९ चौका र एक छक्का तथा कोहलीले ६४ बल खेल्दा ४ चौका र एक छक्का प्रहार गरेका थिए।
अर्का ओपनर रोहित शर्माले ३३ रन बनाए भने सुरेशकुमार रैना ७ रनमा अविजित रहे। बिहीबारको खेल २०११ को विश्वकप फाइनल रिप्लेजस्तै थियो। दुई वर्षअघि दक्षिण एसियाका यिनै दुई टोली विश्वकप फाइनलमा आमने–सामने हुँदा भारतले ६ विकेटको जित दर्ता गराएको थियो।
यसअघि इशान्त शर्माले तीन विकेट लिएपछि भारतले श्रीलंकालाई १८१–८ मा सीमित पारेको थियो।
टस जितेपछि भारतीय कप्तान महेन्द्रसिंह धोनीले उच्च आर्द्रतायुक्त मौसममा फिल्डिङ गर्ने निर्णय लिएका थिए। इशान्तले ३३ रन खर्चिएर ३ विकेट लिँदै उत्कृष्ट सुरुआत गर्दा भूवनेश्वर कुमार र उमेश यादवले उनलाई राम्रो साथ दिएका थिए।
श्रीलंकाली कप्तान एन्जेलो म्याथ्युजले सर्वाधिक ५१ रन बनाए। श्रीलंकाको इनिङ्समा म्याथ्युजबाहेक माहेला जयबर्द्धनेले ३८ रन बनाए। जीवन मेन्डिसले २५, तिलकरत्ने दिलशानले १८ र कुमार सांगाकाराले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन्। भारतका लागि इशान्तसँगै रविचन्द्र आश्विनले ३ विकेट लिए भने रवीन्द्र जडेजा र भूवनेश्वर कुमारले १–१ विकेटमा नाम लेखाए।
|
|
Sources : Nagarik news



0 comments
Write Down Your Responses