पत्रकार पक्राउको पत्रकार महासंघ द्वारा बिरोध !

काठमाडौं- नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीको टोलीले पक्राउ परेका नेपालीहेडलाइन्स डट कमका पत्रका सम्पादक सुशील पन्तसँग भेट गरेको छ। समाचार लेखेको कसुरमा प्रहरीले पक्राउ गरेका पन्त र सो अनलाइनका सञ्चालक सन्तोष भट्टराईलाई तत्काल रिहा गर्न समेत उनले माग गरेका छन्।


'समाचार लेखेकै आधारमा अपराधीजस्तो पक्राउ गर्न पाइँदैन', काउन्सिल अध्यक्ष वोर्णबहादुर कार्कीले नागरिकन्युजसँग भने- 'यो प्रेस स्वतन्त्रताको चरम उल्लंघन हो।' समाचारको मुद्दा आफ्नो क्षेत्राधिकार भएको भन्दै काउन्सिलले छानवीन गर्ने उनले बताए। 'पत्रकार आचारसंहिता उल्लङघन छ कि छैन काउन्सिलले छानविन गर्छ, त्यो प्रहरीको काम होइन' अध्यक्ष कार्कीले- 'उनलाई तत्काल रिहा गरिनुपर्छ।'

पत्रकार पन्तलाई प्रहरीले केही काम छ हनुमानढोका बोलाएको थियो। हनुमानढोका पुगेका पन्तलाई सो समाचारको विषय निकाल्दै प्रहरीले थुनामा पठाएको थियो। पन्तसँगै नेपालीहेडलाइन्सका प्रकाशक सन्तोष भट्टराई पनि पक्राउ परेका हुन्। 

दुई हप्ताअघि एक्स्ट्राखबर डट कमले डिल्लीबजार कन्या क्याम्पसको ट्वाइलेटमा दुईभन्टा भेटिएको खबर प्रकाशित गरेपछि भ्रामक समाचारले कलेजको इज्जतमा धक्का लागेको भन्दै राष्ट्रिय महिला आयोग र प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा जेठ २७ गते एक्स्ट्रखबर डट कमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले सो समाचार नेपालीहेडलाइन्सबाट लिंक लिएको बताएपछि प्रहरीले पत्रकार पन्त र भट्टराईलाई अनुसन्धानको दायरामा ल्याएको थियो।

अमानवीय तरिकाले कलेज र महिलाको इज्जतमा आँच आउने कार्य गरेकोले उजुरी गरेको डिल्लीबजार कन्या क्याम्पसका प्राचार्य भोला रेग्मीले बताए। 'समग्र महिला र कलेजको इज्जत प्रतिष्ठामा आँच आउने काम गरेकाले हामीले न्याय माग्दै उजुरी गरेका हौं', प्राचार्य रेग्मीले नागरिकन्युजसँग भने- 'हाम्रो केलेजमा पनि पत्रकारिता पढाइ हुन्छ ह्युमन सेन्स भएकाले त्यस्तो समाचार लेख्न सक्दैन।'


संविधानको उल्लंघन
पत्रकार पक्राउ गरी साइबर कानुन लगाउने प्रहरीको तयारी संविधानको उल्लंघन भन्दै विभिन्न संघ संस्थाहरुले विरोध गरेका छन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति प्रकाशित गर्दै सञ्चारमाध्यममा संप्रेषित सामग्रीबारे उजुरी हेर्ने निकाय प्रहरी प्रशासन नभइ नेपाल प्रेस काउन्सिल रहेकोमा सरकारको ध्यानाकर्षण गराएको छ। कार्यवाहक महासचिव जगत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 'एक महिना अघि हेडलाइन्स डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार पन्तलाई प्रहरीले असार ६ गते प्रक्राउ गरी महानगरीय प्रहरी प्रभाग हनुमानढोकामा राखेको छ। कुनै संप्रेषित समाचार समाग्रीका बारेमा चित्त नबुझे अपनाउनु पर्ने कानुनी तथा प्रचलित विधिलाई छाडेर पत्रकार पक्राउ गरिएको घटनाप्रति महासंघ खेद व्यक्त गर्दछ।'

स्वतन्त्रता पूर्वक समाचार संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक हक सुनिश्चित गर्दै समाचार लेखेको विषयमा परेको उजुरीको टुंगो प्रेस काउन्सिलमार्फत लगाउनु पर्ने धारणा महासंघले सार्वजनिक गरेको छ। महासंघ पत्रकार पन्तलाई तत्काल रिहा गर्न र समाचार लेखेको भरमा पत्रकारलाई पक्राउ गरी स्वतन्त्र प्रेसलाई हतोत्साहित गर्ने काम तत्काल वन्द गर्न सरकारसँग माग गरेको छ।


यसैगरी रिपोर्टर्स क्लबले विज्ञप्ति जारी गर्दै पन्तलाई तत्काल रिहा गर्न माग गरेको छ। 'प्रेस काउन्सिलमार्फत् कारवाही प्रक्रिया अघि बढाउने बिधि हुँदा हुँदै पक्राउ गर्नु लोकतन्त्र र अन्तरिम संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो', क्लबका अध्यक्ष ऋषि धमालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसैगरी अनलाइन मिडिया एशोसिएशनले अनलाइन पत्रिकाहरुमाथि विद्युतीय कारोबार ऐनअनुसारको उपचार खोज्ने प्रक्रिया रोक्न माग गरेको छ। अध्यक्ष दिशेन बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'अहिलेकै प्रक्रिया निरन्तर रहे सशक्त आन्दोलनमा उत्रने बाध्य हुनेछौं।'
Sources : Nagarik news

0 comments

Write Down Your Responses

Powered by Blogger.