ब्राजिलको लगातार जित !

साल्भाडोर)– इटालीमाथि ४–२ को जित हासिल गर्दै ब्राजिल अन्तर महादेशिय कपमा समूह 'ए' को विजेता बनेको छ।
जितसँगै ब्राजिलले स्पेनविरुद्धको सम्भावित सेमिफाइनल टारेको छ। स्पेन समूह 'बी' को विजेता बने ब्राजिलले सेमिफाइनलमा उरुग्वेसँग खेल्ने सम्भावना रहन्छ।

सामाजिक न्याय र भष्ट्राचारविरुद्ध जनता सडकमा ओर्लिरहँदा ब्राजिलियन फुटबल टोलीले समूह चरणका तीनै खेलमा प्रभावशाली जित दर्ता गर्‍यो। आयोजक ब्राजिलले पहिलो खेलमा जापान र दोस्रोमा मेक्सिकोलाई हराएको थियो।
टोलीले सफल नतिजालाई निरन्तरता दिएपनि प्रशिक्षक लुइस फिलिप स्कोलारी प्रदर्शनमा अझै सुधारको आवश्यकता देख्छन्। 'हामीले इटाली जस्तो बलियो टोलीलाई हराएका छौं। मलाई लाग्छ हामी सही बाटोमा छौं। यद्दपी केही सुधार अझै आवस्यक छ,' सन् २००२ मा ब्राजिललाई विश्वकप जिताएका स्कोलारीले भने, 'पछिल्ला केही समयमा टोलीको प्रदर्शनमा सुधार आएको छ।'
सुरुआतमै ओस्कारले निकालेको बलमा मौका खेर फालेका नेइमारले प्रतियोगितामा पहिलो पटक पहेलो कार्डको दर्शन गरे। इग्नाजियो अबाटेलाई अनावश्यक फाउल गरेपछि नेइमारले पहेलो कार्ड पाएका थिए। खेल सुरु भएको आधा घन्टामा इटालीले अवसर पाएर पनि गोल गर्न सकेन। तर, पहिलो हाफको अन्त्यतिर डान्टेको गोलबाट ब्राजिलले अग्रता लिएको थियो। चोटग्रस्त डेभिज लुइजको सट्टा मैदान प्रवेश गरेका डान्टेले पोस्ट नजिकबाट गोल गरेका थिए।
काँधमा चोट बोकेपछि इटालीका अबाटेले पनि पहिलो हाफमा मैदान छोड्नु परेको थियो। उनको ठाउँ क्रिस्टियन माजियोले लिए। दोस्रो हाफमा नेइमारले फ्रि–किकमा र फ्रेडले दुई गोल थपेपछि पाँच पटकको विश्व विजेताले सहज जित दर्ता गराएको थियो। सुरक्षाका कारण होटलमै बस्न बाध्य इटालियन टोलीले अभ्यास गर्न नपाउनुको मुल्य हारबाट चुकाउनुपर्‍यो।
दोस्रो हाफ सुरु भएको ६ मिनेटमा चार पटकको विश्वकप विजेता इटालीले खेल बराबरीमा ल्याएको थियो। मारियो बालाटोलीको उत्कृष्ट पासमा ब्राजिलियन कप्तान थिएगो सिल्भा र गोलकिपर जुलियो सिजरलाई छक्काउँदै इमानुली गाचिरिनीले बराबरी गोल गरेका थिए।
घाइते एन्ड्रिया पिर्लोलाई गुमाएको इटालीले खेल बराबरी गरेको चार मिनेटपछि नेइमारको गोलमा ब्राजिलले दोस्रो पटक अग्रता लिएको थियो।
पेनाल्टी बक्सको ठिक बाहिर पाएको फ्रि–किकमा नेइमारले गोल गरेका थिए। समूह चरणको पहिलो खेलमा जापानविरुद्ध गोल गर्नुअघि नेइमानरले ९ खेलमा गोल गरेका थिएनन्। अन्तरमहादेशीय कपमा उनले तीनै खेलमा एक/एक गोल गरेका छन्।
फ्रेडले ६६ औं मिनेटमा अन्तर ३–१ ले फराकिलो पारे। मार्सेलोको पास नियन्त्रणमा लिदै फ्रेडले गोल गरेका थिए। जर्जियो चिलिनले ७१ औं मिनेटमा गोल फर्काउँदै इटालीलाई आशा दिलाएका थिए। तर, खेल सकिन दुई मिनेटअघि फ्रेडले अर्को गोल थपे। मार्सेलोको प्रहार विपक्षी गोलकिपर जियानलुइजी बुफोनले फर्काएपछि त्यसमै फ्रेडले गोल गरेका थिए।
भिडियोको लागी तल क्लिक गर्नुहोला
Sources : Nagariknews

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.