बिरेन्द्र बशं नाश पछि शवयात्रामा ढुंगामुढा खाएको गिरिजा सरकारले यस्तो विज्ञप्ती जारी गरेको थियो

दरबार हत्याकाण्ड

ज्ञानेन्द्र चुप, प्रधानमन्त्रीले दिए निरीह वक्तव्य

११ वर्षअगाडि जेठ २० गतेको दिन। राजा, रानीसहित राजपरिवारका त्यत्रा सदस्यहरुको हत्या भयो, शवयात्रा भयो तर राज्यका हर्ताकर्ता भएका ज्ञानेन्द्र भने चुप थिए। त्यत्रो घटना हुँदा पनि एक शब्द बोलेका थिएनन् उनी। बरु शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्‍है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन। संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ।
हेर्नुस् उक्त शोक सन्देशको पूर्ण विवरणः

दिदी बहिनी तथा दाजुभाइहरू,
राष्ट्रिय एकताका प्रतीक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहको अत्यन्त दुःखद एवं अप्रत्यासित निधनले हामी सम्पूर्ण नेपाली जनता स्तब्ध र शोकमग्न भएका छौँ। नेपालको ऐतिहासिक राजसंस्थाको गरिमा र मर्यादालाई झन्-झन् उज्ज्वल पार्दै जनताको सुख-दुःखमा निरन्तर समर्पित देशको प्रगति र एकताका निम्ति चिन्तनशील एवं संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रको पुनःस्थापना र विकासका निम्ति अविस्मरणीय योगदान पुर्याउने आफ्ना प्यारा राजारानीको अप्रत्यासित निधनको यो अत्यन्त दुःखद र पीडादायक राष्ट्रिय दुर्घटनाले नेपाली जनतालाई लामो समयसम्म मर्माहत गराइराख्नेछ।

मौसुफहरूको अप्रत्यासित निधनको यो घटनासँगै श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह, श्री ५ शाहज्यादी जयन्ती शाह र कुमार खड्गविक्रम शाहसमेतको सामूहिक एवं अप्रत्यासित निधनले हामी सबै नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ।

यो हृदयविदारक एवं राष्ट्रिय शोकको बेला देशभित्र र बाहिर बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूलाई शान्त र सयमित रहन तथा धैर्यका साथ यस राष्ट्रिय विपत्तिलाई सहनसक्ने साहस बटुल्न अपील गर्दछु। नेपाली जनताको एकता र सयमको प्रदर्शन नै राष्ट्रिय शोकको यस घडीमा दिवंगत आफ्ना प्यारा राजारानीप्रति भावपूर्ण श्रद्धाञ्जलि हुनेछ।

समस्त नेपाली जनता र श्री ५ को सरकारका तर्फबाट म स्वर्गीय श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानी एवं राजपरिवारका अन्य सदस्यहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मौसुफहरूको दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ आ-आफ्ना धार्मिक विधि विधान र विश्वासअनुसार पूजाप्रार्थना गर्न समस्त नेपाली जनतालाई आग्रह गर्दछु।

साथै यस घटनामा घाइते होइबक्सेका वर्तमान श्री ५ दीपेन्द्र वीर विक्रम शाहदेवलगायत श्री ५ अधिराजकुमारी कोमलराज्य लक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी देवी शाही, कुमार गोरखशमशेर राणा, धीरेन्द्र शाह र केतकी चेप्टरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हिजो भएको अत्यन्त दुःखद घटनाका बीच आफ्ना प्यारा राजारानीलगायत राजपरिवारका अन्य सदस्यहरूसमेतको अप्रत्यासित एवं दुःखद निधनको यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वाससहित यसप्रति श्री ५ को सरकार गम्भीर र संवेदनशील रहेको तथ्य पनि सबै नेपाली दिदीबहिनी र दाजुभाइमा अवगत गराउन चाहन्छु।
जय नेपाल !

0 comments

Write Down Your Responses

Powered by Blogger.