पसिना गन्हाउँछ ? दुर्गन्ध हटाउने सजिलो छ उपाय !
१३ असार, काठमाडौं । गर्मीको बेला
कामधन्दा र दौडधूप गर्दा मात्र होइन, चुप लागेर त्यसै बसिरहँदा समेत खलखली
पसिना आउँछ । पसिना आउनु स्वास्थ्यका लागि फाइदाजनक पनि मानिन्छ । तर
कतिपयको पसिना डुङ्डुङ्ती गन्हाउने भएकाले उसलाई फाइदा भएपनि वरपर बस्नेलाई
चाहिँ सहिनसक्नु बनाउँछ ।
‘कतिपयको
शरीरबाट आउने पसिना लगायतको गन्धले एक अर्कालाई आकषिर्त गर्छ भनेर पनि
भनिन्छ, कतिपयको शरीरको गन्धले साथीहरू नै भाग्न सक्छन्’ जनस्वास्थ्य
सम्बन्धी जानकार डा. अरुणा उप्रेती भन्नुहुन्छ-’मुख गन्हाउने वा जसको
शरीरबाट दुर्गन्ध आउँछ उसलाई थाहा हुँदैन । तर, सँगै बस्ने, सँगै हिँड्ने र
गाडीमा कोच्चिएर बस्नु पर्दाको सहयात्रीलाई त त्यो दुर्गन्ध मर्नु बराबर
हुन्छ ।’
दुर्गन्ध हटाउने सबभन्दा राम्रो उपाय
शारीरिक सफाइ नै भएको उहाँको भनाई छ । उहाँका अनुसार सफाइका लागि महँगो
साबुनको जरूरत पर्दैन । साधारण खालको नुहाउने साबुन र पानी नै पर्याप्त
हुन्छ । तर, बढी पसीना आउने ठाउँ जस्तै-काखी, फिलाको काप आदिमा बढी ध्यान
दिनुपर्ने उहाँले बताउनुभयो । ‘पसिना आफैंमा गन्धरहित हुन्छ, तर जब त्यो
पसीनामा कीटाणु मिसिन्छन् अनि गन्हाउन थाल्छ’ डा. उप्रेती भन्नुहुन्छ-’
शरीर कतिपटक सफा गर्नुपर्छ भन्ने कुरा चाहिँ व्यक्तिको शारीरिक श्रम र
मौसममा पनि भर पर्छ । कुनै-कुनै बेला दिनको दुई-तीन चोटि सफा गर्नुपर्ने
हुन्छ ।’
पटकपटक नुहाएपनि लुगा फेरिएन भने गन्हाउने
समस्या उस्तै हुन्छ । ‘कतिपय व्यक्तिहरू पटक-पटक नुहाउँछन्, तर फेरि
पसिनाको गन्ध भएको लुगा लगाउँछन् । यस्ता व्यक्तिहरू जति नुहाए पनि
गन्हाउँछन्’ उप्रेतीको जोड छ-’विशेष गरी भित्री लुगा त दिनदिनै फेर्नु र
धुनुपर्छ । त्यसमाथि पनि शरीर बढी गन्हाउनेले त प्रत्येक पटक नुहाएपछि
भित्री लुगा त फेर्नैपर्छ ।’
डा. उप्रेतीका अनुसार सकेसम्म लुगा सुतीकै
लगाउनु राम्रो हुन्छ । यदि लामो यात्रामा जानु छ भने र सुतीको लुगा असजिलो
जस्तो लागेमा अन्य खालको लुगा लगाएर गन्तव्यस्थलमा पुग्नेबित्तिकै लुगा
फेरिहाल्नुपर्ने उहाँको सुझाव छ ।
यस्तै धेरै गन्ध आउने मानिसहरूले
नुहाइसकेपछि कागतीले पसीना आउने काप, काखी र गर्दन पछाडिको भागहरूमा दल्नु
उचित हुन्छ । यसैगरी नुहाउने पानीमा कागतीको रस वा गुलाबजल हालेर शरीर
पखाल्दा पनि केहि हदसम्म शारीरिक दुर्गन्धबाट बच्न सकिने डा. उप्रेतीको
भनाई छ ।
|
0 comments
Write Down Your Responses