अर्जेन्टिना बराबरीमा रोकियो !

ब्युनर्स आयर्स – समान १० खेलाडीमा खेल अन्त गरेका अर्जेन्टिना र कोलम्बियाले दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत शुक्रबारको खेल गोलरहित बराबरीमा टुंग्याएका छन्।

एकअर्कालाई हात हालेपछि अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिग्विन र कोलम्बियाका क्रिस्टियन जापाटा रातो कार्ड पाउँदै पहिलो हाफमै बाहिरिएका थिए। स्ट्राइकर सर्जियो अग्विरोले दोस्रो हाफमा गरेको गोललाई अफसाइड करार दिएपछि घरेलु टोली विजयबाट वञ्चित भयो।
भेनेजुएलाका रेफ्री मार्लोन इस्कालान्टेलाई अन्तिम सिटीसँगै सुरक्षाकर्मी तैनाथ गरेर मैदानबाट खेलाडी बाहिर पठाइएको थियो। अग्विरोको दुई गोललाई अमान्य गरेकोमा अर्जेन्टिनाका खेलाडी, प्रशिक्षण टोलीका सदस्यहरू रेफ्रीमाथि आक्रोश पोख्न गएका थिए। विशेष गरी दोस्रो गोलमा निर्णायक टोलीको गलत निर्णय देखिएको थियो।

यसका बाबजुद चार खेल बाँकीको अवस्थामा अर्जेन्टिना दक्षिण अमेरिकी अंकतालिकामा ५ अंकले अगाडि छ। टोलीको सोझै छनोट हुने सम्भावना बलियो छ। १२ खेलमा अर्जेन्टिनासँग २५ र कोलम्बियासँग २० अंक छ। इक्वेडर (२०), चिली (१८) र भेनेजुएला (१६) क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा छन्। दक्षिण अमेरिकी क्षेत्रबाट शीर्ष चार टोली सोझै छनोट हुनेछन् भने पाँचौं टोलीले एसियाको पाँचौं टोलीसँग प्लेअफ खेल्नेछ।
पूर्ण फिट नभएका कप्तान लियोनल मेसी बेन्चमा भए पनि मोनुमेन्टल रंगशालामा अर्जेन्टिनाको पकड राम्रो थियो। मेसीलाई दोस्रो हाफमा ल्याइए पनि कुनै डरबिना खेलिरहेको कोलोम्बियाको रक्षापंक्ति तोड्न अर्जेन्टिना असमर्थ रह्यो। दुवै टोलीका खेलाडीले एकअर्कामा डरलाग्दो ट्याकल गरेका थिए। हिग्विन र जापाटाको रातो कार्ड त्यसकै परिणाम थियो।
यसको असर अर्जेन्टिनालाई बढी पर्ने देखिएको छ। मेसी पनि फिट नभएको र हिग्विन प्रतिबन्ध भएको अवस्थामा मंगलबार हुने इक्वेडरसँग अर्जेन्टिना मुख्य स्ट्राइकरबिनै उत्रनुपर्ने हुन्छ। मेसी र हिग्विनले यस विश्वकप छनोट चरणमा एकापसमा मिलेर १७ गोल गरिसकेका छन्। यसक्रममा हिग्विनले मैदानमा उत्रिएपछि प्रतिखेल झन्डै २ गोल गरेका छन्।
पेरुसँग लिमामा १–० ले पराजित भएपछि इक्वेडर गोलभिन्नतामा पनि कोलम्बियाभन्दा पछाडि छ। पाराग्वेलाई २–१ ले पराजित गरेपछि चिली चौथो स्थानमा उक्लिएको छ। शुक्रबारै ला पाजमा बोलिभियालाई १–१ को बराबरीमा रोक्दै भेनेजुएला पाँचौं स्थानमा उक्लियो।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.