एमाओवादीका कारण संविधान सभाको मिति अझै तोकिएन : नेपाल
रौतहट- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी र मधेसवादी दलका कारण देशमा संविधान सभाको मिति तोक्न नसिकएको बताएका छन्। उनले उनीहरुकै कारण निर्वाचन आयोगको काम ठप्प भएको आरोप लगाए। रौतहटको सदरमुकाम गौरमा नेकपा एमालेका एक नम्बर क्षेत्रले आयोजना गरेको संविधान सभा निर्वाचनका लागि पार्टी परिचालन अभियान कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले एमाओवादी र मधेसवादी दलका जालझेल प्रवृतिले निर्वाचन आयोगले संविधान सभाको म्याद तोक्न नसकेको बताए। देशमा एमाओवादी र मधेसवादी दलको कारण यस्तो किसिमको जरजर अवस्था आएकाले त्यस्ता दललाई अब आउन लागेको संविधान सभाको चुनावमा पाखा लगाउन मधेसका जनता जागरुक हुनुपर्ने उनको भनाइ थियो। उनले अब हुने संविधान सभाको चुनावमा एमालेलाई पूर्ण बहुमतले जिताए देशको समस्या सामाधान हुने दाबी गरे। अन्तरिम चुनाबी सरकारले ल्याएको चुनावसम्बन्धी सम्पूर्ण कुरा एमालेलाई ठीक लागेको तर एमाओवादी र मधेसवादी दललाई ठीक नलागेको र पेचिदा कुराले गर्दा चुनाबी सरकारले केही गर्न नसकेको आरोप लगाए। मधेसवादी दलले मधेसीको नाम बेचेर निजी स्वार्थ सिद्ध गर्नमा लागिपरेको बताउँदै नेता नेपालले ती दलसित मधेसी जनता सचेत हुन आग्रह गरे। रौतहट निर्वाचन क्षेत्र नम्बर एकबाट चुनाव लड्ने मनस्थिति बनाएकोसमेत उनले बताए। भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses