नक्कली रेडबुलको बिक्रीमा प्रतिबन्ध

काठमडौं । चर्चित ब्राण्ड रेडबुलको नक्कल गर्दै बिक्री भएका राइनो-एस र रेड स्टार नामका ‘इनर्जी डि्रङ्क्स’ को बिक्रीमा सरकारले प्रतिबन्ध लगाएको छ । देख्दा रेडबुल जस्तै देखिने गरी यी नक्कली ब्राण्ड मुख्यतः राजमार्गका होटलमा बिक्री गर्ने गरिएको थियो । ग्राहकले रेडबुल माग गर्दा पसलेले नक्कली पेय दिने गर्दछन् । यसमा बढी मार्जिन रहेको हुनाले त्यसो गरिएको हो । सचेत ग्राहकले नाम हेरेर मागेमा मात्र पसलले ३० रुपैयाँ थपेर रेडबुल दिने गरेका छन् । राजधानीमा समेत किराना पसलहरुमा यस्ता पेय बिक्री भइरहेका छन् । थाइ ब्राण्ड रेडबुलले उपभोक्ताको विश्वास जितेर बजार निर्माण गरेको अवस्थामा नक्कली ब्राण्डले त्यसको फाइदा उठाइरहेका थिए । रेडबुलले विज्ञापनमार्फत बनाएको बजारलाई सित्तैमा उपयोग गरिरहेका नक्कली कम्पनी अब फन्दामा परेका छन् । आधिकारिक रेडबुल नेपालमा राजेन्द्र खेतानको साझेदारी रहेको गोर्खा बु्रअरीले आयात गरी बिक्री वितरण गर्ने गरेको छ । बजार अनुगमनका क्रममा यी नक्कली ब्राण्डले लेबलमा अनिवार्य खुलाउनु पर्ने सूचना उल्लेख नगरेको र सरकारी अनुमतिबिना बिक्री गरेको पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सिफारिशमा सरकारले कारोबारमा रोक लगाएको हो । बजारमा भएका पेय पनि फिर्ता लिन बिक्रेतालाई निर्देशन दिइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.