शिक्षकमा पास गराउन ७ लाख घुस !

२० जेठ, काठमाण्डौं । शिक्षक सेवा आयोगको परीक्षा दिएका परीक्षाथी शिक्षकसँग पास गराइदिने ग्यारेन्टी दिँदै विभिन्न व्यक्तिले बार्गेनिङ सुरु गरेका छन् । यसरी रकम माग्नेमा स्थायी दरबन्दीका शिक्षक, राजनीतिक दलका कार्यकर्ता, सरकारी कर्मचारीसहित पत्रकारसमेत रहेको परीक्षाथीले आफै जानकारी गराएको खबर सोमबार प्रकाशित कारोबार दैनिकले छापेको छ । आफ्नै स्कुलका प्रधानाध्यापकले समेत रकम मागेपछि आफूहरु अफ्ठ्यारोमा पर्ने भन्दै उनीहरुले नाम खुलाउन चाहेनन् । त्यस्ता व्यक्तिले ३ देखि ७ लाख रुपैयाँसम्म घुस माग्ने गरेका छन् । कतिपयले एक बर्षको तलबबराबरको रकम मागेका छन् । सर्लाही सदरमुकाम मलंगवास्थित पद्यमरत्न उमाविमा राखिएको केन्द्रबाट आयोगको परीक्षा दिएका सर्लाहीका बोधराज बस्नेतले आफूलाई पास गराउने प्रस्तावसहित रकम माग भएको बताए । उक्त क्षेत्रका धेरैजसो परीक्षा केन्द्रमा खुलेआम चिट चोरिएकाले परीक्षा रद्द गर्न मागसहित जिल्ला शिक्षा कार्यालयमा उजुरीसमेत परेका छन् । मकवानपुरको एक प्राथमिक विद्यालयमा अस्थायी दरबन्दीमा रहेकी एक शिक्षिकाले भनिन् ‘पास गराउने ग्यारेन्टीसहित एक बर्षको तलब मागेका छन्, भक्तासहित चारलाख दिनु भनेका छन् ।’ आफू रकम दिने नदिने भन्ने निर्णयमा पुग्न नसकेको भन्दै उनले यो प्रस्तावका बारेमा आफ्ना सहकर्मीहरुलाई पनि बताएको जानकारी दिइन् । यता आयोगले भने परीक्षाको नतिजामा कसैको प्रभाव नपर्ने जनाउको छ । आयोगका प्रशासन प्रमुख खगेन्द्र नेपालले भने, ‘उत्तरपुस्तिकामा फुल प्रुफ सिस्टम अपनाइएको छ । आयोगका अनुसार १३ हजार ५९ शिक्षकका लागि गरिएको विज्ञापनमा ४ लाख ८० परीक्षाथी सहभागी थिए । त्यसमध्ये ५० हजारभन्दा धेरै सरकारी तथा सामुदायिक विद्यालयमा अस्थायी, राहत र पीसीएफ शिक्षक छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.