एकै घरका दिदी-भाइ त्रिशुलीमा बेपत्ता
धादिङ — त्रिशुली नदीमा पौडी खेल्दै गर्दा महेशदोभानबाट दुई बालबालिकालाई सोमबार त्रिशुली नदीले बगाएर वेपत्ता बनाएको छ। गर्मि छल्न दिउँसो पौने चार बजेतिर नदीमा पौडी खेल्दै गर्दा एकै घरका दिदी भाईलाई नदीले बगाएको प्रत्यक्षदर्शी स्थानीय सागर खतिवडाले जानकारी दिए। धादिङको कल्लेरी–३ महेशटारका चिरञ्जिवी खतिवडाको ११ वर्षिय छोरी ज्वाला र ९ वर्षे छोरा सन्तोषलाई बगाएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक तुलसी भट्टराईले जनाकारी दिए। पौडी खेल्ने क्रममा दिदी ज्वालालाई नदीले बगाएको देखेर बचाउन हाम्फालेका भाइ सन्तोषलाई पनि बगाएको सागरले बताए। 'म पौडन नजान्ने भएकाले किनारमा बसेर नुहाउँदै थिएँ। ज्वाला पौडी खेल्दै परसम्म पुगिन्, हेर्दा हेर्दै उनी आत्तिन थालिन्। उनी आत्तिएको देखेर भाई सन्तोष पनि नदीमा पस्यो। नदी ठूलो भएकाले दुवैलाई बगाएर बेपत्ता पार्यो मैले हेरेर कराउने बाहेक केही गर्न सकिन', 'सागर भन्छन् बगेको देख्दा देख्दै पनि बचाउन सकिएन।' घटनाका प्रत्यक्षदर्शी सागरले हल्ला खल्ला गरेपछि गाउँले आए, प्रहरी पनि आइपुगे तर नदीले बगाएका दिदी भाईलाई भेट्टाउन सकेनन्। घटना लगत्तै स्थानीयबासी, प्रहरी चौकी बैरेनी, सशस्त्र प्रहरी बल आदमघाट र इलाका प्रहरी कार्यालय गजुरीको टोली उद्वारमा खटिएको छ। साँझसम्म केही पत्ता नलागेको स्थानीय ज्ञानप्रसाद खतिवडाले बताए। तीन छोरी, एक छोरा रहेको परिवारमा एकै दिन अप्रत्यासित रुपमा दुवै सन्तान गुमाउँदा खतिवडा परिवारमा शोक छाएको छ। गाउँले सबै मिलेर खोजि गरे कही नभेटिएपछि साँझ फर्केर पिडित खतिवडाको घरमा जम्मा भए। दुई दिनदेखी बाबु विरामी र आमा पनि कमजोर भएकाले घरमा पानी तताएर खुवान स्कुल नगई बसेका दिदीभाई गर्मी भयो भन्दै नदीमा नुहाउन निस्केका नफर्कंदा आमा गोमा वेहोश भएर ढलेकी छन्। एक मात्र छोरा र माइली छोरी नदीले बगाउँदा पिडाले भक्कानिएका खतिवडा आफुले घर बस भन्दा घटना भएकोमा पछुतो मान्दै स्कुल गएका भए घटना नहुने थियो कि भन्छन्। वेपत्ता रहेका सन्तोष गाउँ नजिकैको कालिदेवी प्रा.विको कक्षा ३ र ज्वाला बागेश्वरी उच्च माविको कक्षा ५ मा अध्ययनरत थिए। वर्षेनी त्रिशुली नदीमा पौडी खेल्दा बगेर एकभन्दा बढीको मृत्यु भएको रेकर्ड प्रहरीसँग छ। महेशदोभान हरेक वर्ष घटना हुने जोखिमपूर्ण स्थान भएको स्थानीय बताउँछन्।
0 comments
Write Down Your Responses