चुनावमा आक्रमण गर्न माओवादीको सशस्त्र तालिम

दाङ – संविधानसभा निर्वाचनको मिति तोकिएपछि चुनाव पक्षधर दलहरु 'जित' हात पार्न रस्साकस्सी गर्दैछन्। तर चुनावी मन्त्रिपरिषद गठन भएसँगै संविधानसभाको निर्वाचनको विपक्षमा रहँदै आएको मोहन बैद्य नेतृत्वको नेकपा माओवादी भने कसरी चुनाव भाँड्ने भन्ने ध्याउन्नमा छ। आफूहरुको असहमती रहँदा रहँदै निर्वाचन मिति घोषणा गरिएको प्रति रुष्ट माओवादी सशस्त्र रुपमै प्रतिकारमा उत्रने तयारीमा जुटेको छ। दाङमा अहिले नेकपा माओवादीले चुनावी 'बुथ' कब्जा गर्नका लागि युवालाई तालिम दिइरहेको छ। चुनाव भाँड्नका लागि आफ्नो पार्टीका युवाहरुलाई संगठित गराएर 'दस्ता' निर्माण गरिसकेको नेकपा माओवादीले अहिले ती युवालाई 'बुथ' कव्जा गर्नका लागि लाठी चलाउन सिकाइरहेको छ। बुथ कव्जा गर्नेक्रममा भिडन्त हुन सक्ने भएकाले प्रतिरक्षाका लागि युवाहरुलाई लाठी हान्न सिकाउन थालिएको नेकपा माओवादीका इन्चार्ज सुवास पुनले वताए। 'हामीहरुले चुनाव केन्द्र कव्जा गर्दा हुन सक्ने झडपको कसरी सामना गर्ने भनेर तालिम दिदैछौँ', पुनले भने, 'उहाँ (दस्ता)हरुलाई लाठी सहितको तालिम दिन लागेका हौँ।' पार्टीका केन्द्रीय नेताहरुले चुनाव भाँड्न हतियार समेत उठ्न सक्ने अभिव्यक्ति दिए पनि माओवादी जिल्ला नेतृत्व अहिले नै बन्दुकको तयारी गर्नुपर्ने अवस्था नरहेको बताउँछन्। तर पार्टीको आधिकारिक निर्देशन आए जस्तोसुकै कदम चाल्ने पुनले बताए।
'अहिले युवा दस्ताका साथीहरुलाई सामान्य लाठी हान्न सिकाउँदैछौँ' पुनले भने, 'बन्दुकको तयारी अहिलेसम्म गरिसकेका छैनौं तर पार्टीबाट आउने जस्तोसुकै निर्देशन पालना गरेर चुनाव भाँड्नेछौँ।' चुनाव भाँड्नकै लागि जिल्लाका गाउँगाउँमा नेकपा माओवादीले युवा दस्ता निर्माण गरेको छ। जिल्लाका ३९ वटै गाविस तथा दुई नगरपालिकाका प्रत्येक वडामा १० देखि सय जनासम्म युवालाई समेटेर यस्ता दस्ता निर्माण गरिएको छ। नेपाल जनस्वयंसेवक व्युरोको नाममा निर्माण गरिएका यी दस्तालाई नेकपा माओवादीले चुनाव बिथोल्ने ठूलो अस्त्रको रुपमा अघि सारेको छ। दाङमा मात्रै यो ब्युरोमा ३ हजार बढी युवा आवद्ध भैसकेको माओवादीको दावी छ। झडपका क्रममा भोट हाल्न गएका सर्वसाधारणहरुको जिउ ज्यानको कसरी सुरक्षा गर्ने भन्ने बिषयमा पनि युवाहरुलाई प्रशिक्षण दिइरहेको नेकपा माओवादीले जनाएको छ। 'झडपका क्रममा मतदाताहरुलाई जे पनि हुन सक्ला, त्यसैले उहाँहरुको सुरक्षा कसरी गर्ने भन्ने बिषयमा पनि युवाहरुलाई सिकाइरहेका छौँ', पुनले भने। भिडियोको लागी तल क्लिक गर्नुहोला
source:nagariknews

0 comments

Write Down Your Responses

Powered by Blogger.