दोहोरो रजिस्ट्रेसन भर्नेले एसएलसी दिन नपाउने

भक्तपुर—परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७० सालदेखिको प्रवेशिका (एसएलसी) परीक्षाका लागि दोहोरो रजिस्ट्रेसन फाराम भरेका परीक्षार्थीले परीक्षा दिन नपाउने व्यवस्था गरेको छ। यसअघि दुई वा दुईभन्दा बढी विद्यालयबाट एसएलसी परीक्षाको रजिस्ट्रेसन फाराम भरेका परीक्षार्थीले एक ठाउँको रजिस्ट्रेसन फाराम रद्द गरेमा अर्को ठाउँबाट परीक्षा दिन पाउने व्यवस्था गरेपनि आगामी वर्षदेखि भने दुई वा दुईभन्दा बढी विद्यालय वा स्थानबाट रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीले परीक्षा दिनै नपाउने व्यवस्था गरेको कार्यालयले जानकारी दिएको छ। विगतका वर्षमा परीक्षार्थीले आफूलाई सहज पर्ने स्थानबाट परीक्षा दिने गरी आफू अध्ययन गरेकोबाहेक अन्य विद्यालयबाट समेत दोहोरो रजिस्ट्रेसन भर्ने गरेको पाइएपछि कार्यालयले यसमा कडाइ गर्दै परीक्षार्थीले आफूले अध्ययन गरेको संस्थाबाट मात्रै परीक्षा दिन चाहेमा परीक्षामा सामेल गराइने व्यवस्था गरेको थियो। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन कार्यालयले आगामी वर्षदेखि दोहोरो रजिस्ट्रेसन फाराम भरेका परीक्षार्थीले परीक्षा नै दिन नपाउने व्यवस्था गरेको कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले बताए। यसका लागि कार्यालयले सबै जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालयहरुमा सूचना प्रवाह गरिसकेको जानकारी दिए। कार्यालयले यही जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महिनाका अवधि राखेर २०७० सालको एसएलसी परीक्षार्थीको रजिस्ट्रेसन फाराम भर्न आह्वान गरेकाले अब फाराम भर्ने विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयबाट मात्रै रजिस्ट्रेसन फाराम भर्न कार्यालयले निर्देशन दिएको छ। विद्यार्थीले अब अर्को विद्यालयबाट एसएलसी दिन चाहेमा कक्षा ९ मा नै आफूले परीक्षा दिन चाहेको विद्यालयबाट रजिस्ट्रेसन फाराम भर्नुपर्नेछ। विगतमा उच्चशिक्षामा छात्रवृत्ति पाउने आशामा कतिपय निजी (संस्थागत) विद्यालयमा पढ्ने विद्यार्थीले सरकारी (सामुदायिक) विद्यालयबाट एसएलसी परीक्षा दिन दोहोरो रजिस्ट्रेसन फाराम भर्ने गरेको र कतिपयले सहज परीक्षा दिन पाउने आशामा दुर्गमका जिल्लामा गएर परीक्षा दिन दोहोरो रजिस्ट्रेसन फाराम भर्ने गरेको पाइएको थियो। २०६९ को एसएलसी परीक्षामा दुई हजार ८०० विद्यार्थीले दोहोरो रजिस्ट्रेसन भरेको भेटिएपछि एकातिरको रजिस्ट्रेसन रद्द गर्ने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइएको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.