भारतीय ‘अपराधी’ बब्लु ८ हजारमा रिहा

वीरगञ्ज । मोस्ट वान्टेडको सूचीमा रहेका भारतीय ‘अपराधी’ बब्लु उर्फ मिथलेश दुबेलाई जिल्ला प्रशासन कार्यालय बाराले ८ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । नेपालमा कुनै पनि अपराधिक घटनामा दुबेको संलग्नता नदेखिएकाले जिल्ला प्रशासन कार्यालय बाराले आठ हजार धरौटी बुझेर रिहा गरेको नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक सर्बेन्द्र खनालले बताउनु भयो । सुरुमा प्रहरीले दुबेलाई पक्राउ गर्नु ठुलै सफलता भएको बताएको थियो । काठमाडौं सितापाइलाबाट पक्राउ गरी वीरगञ्जमा पत्रकार सम्मेलन गरी दुबेलाइ सार्वजनिक गर्दै प्रहरी बरिष्ठ उपरिक्षक खनालले उनी नेपाल र भारतको सीमा क्षेत्रमा रहेका उद्योगपति, व्यापारी, सरकारी कर्मचारी तथा भारतका राज्यसभा सदस्य समेतलाई फोनबाट धम्की दिँदै रकम उठाउँदै आएको बताउनुभएको थियो । काठमाण्डौमा सेल्टर बनाई बिहार पिपुल्स लिबरेसन आर्मी नामक अपराधी संगठन संचालन गरि नेपालमा समेत आतंक मच्चाउने दुबेलाई विशेष सुराकीको आधारमा वीरगञ्जबाट गएको प्रहरी टोलीले पक्राउ गरेको उहाँको भनाइ थियो । अहिले नेपालमा हुने गरेका अपाराधिक कृयाकलापमा उनको संलग्नता नदेखिएको भन्ने प्रहरी बरिष्ठ उपरीक्षक खनालको अभिव्यक्तिले वीरगञ्जका व्यापारीहरु सशंकित र आतंकित भएका छन् । गत १४ गते काठमाडौबाट पक्राउ गरी ल्याइएका बब्लु दुबेलाई प्रहरी बरिष्ठ उपरिक्षक खनालले जिल्ला प्रहरी कार्यालय बारामा सार्वजनिक मुद्दा लगाएर राख्न लगाउनुभएको थियो । जिल्ला प्रशासन कार्यालय बाराका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले पनि दुबेलाई जिल्ला प्रशासन कार्यालय बाराले आठ हजार धरौटीमा रिहा गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा बरिष्ठ प्रहरी उपरीक्षक खनालकै सामु दुबेले हालसम्म आफ्नै हातले ६ वटा हत्या गरेको र आफूले दिएको निर्देशनमा संगठनका सदस्यहरुले ३० वटा हत्या गरेको स्वीकारेका थिए । आठ महिनासम्म नेपाली भूमि र नेपाली नम्बरका सीमहरु प्रयोग गरी भारत विहारका विभिन्न जिल्लाहरुमा आपराधिक गतिविधि संचालन गरेका दुबेलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको र दुबेलाई उनका आफन्तले जिम्मा लिएर गएको प्रहरी बरिष्ठ उपरीक्षक खनालले बताउनुभयो । उनलाई भारतीय सुरक्षाकर्मीलाई बुझाएको स्रोतको दाबी छ । दुबेलाई लिन लागि भारत बिहार राज्य मोतिहारी जिल्लाका एसपी विनय सिंहको नेतृत्वमा टोली आएको थियो । तर, भारतीय प्रहरीले भने दुबे आफनो नियन्त्रणमा रहेको स्वीकारेको छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.