छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
१७ साउन, चितवन । चितवनमा भएको छुट्टाछुट्टै घटनामा तीनजनाको ज्यान गएको छ । माडीमा बुधबार साँझ वर्षा सँगै परेको चटयाङ लागेर माडी बघौडाकी कलैया महतोको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । अपराहृन खेतमा धान गोड्न गएका बेला चटयाङ लागेको प्रहरीले जनाएको छ ।
चटयाङ लागेर गम्भीर घाइते भएकी महतोको स्थानीय मेडिकलमा उपचारका क्रममा साँझ ज्यान गएको हो । दम्पतीलाई नै चटयाङ लागे पनि उनका श्रीमान् सुरेन्द्र महतो भने घाइते मात्रै भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
सुत्केरीको उपचारका क्रममा मृत्यु
भरतपुर अस्पतालमा सुत्केरी गराइएकी एक चेपाङ महिलाको बुधबार अस्पतालमा नै उपचारका क्रममा मृत्यु भएको छ । सुत्केरी गराएको १२ घण्टा नबित्दै कोराककी ४० वर्षीया विपन्न महिला मायाँ चेपाङको ज्यान गएको हो । उनको शल्यक्रिया सफल भए पनि मुटुको समस्याका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका स्त्रिरोग विशेषज्ञ डा सुनिलमणि पोख्रेलले चिकित्सकको लापरबाहीले नभई मुटुको समस्याका कारण उनको मृत्यु भएको बताउनुभयो ।
आर्थिक विपन्नताका कारण समस्या झेल्दै आएका उनका श्रीमान् वीरबहादुर चेपाङ श्रीमतीको मृत्युपछि परिवार पाल्न गाह्रो हुने भन्दै नवजात छोरालाई अर्कै महिलाको जिम्मा लगाएर घर फर्किएका छन् । चार बालबालिकाका बाबु वीरबहादुरले मेघौलीकी इश्वरी राउतलाई नवजात शिशुको पालनपोषणको जिम्मा दिएका छन् । अस्पतालमा पखाला र ज्वरोको उपचारमा आएकी रावतले बच्चा पाल्ने इच्छा जगाएपछि बच्चा दिइएको अस्पताल प्रशासनले जनाएको छ ।
स्कुटर दुर्घटनामा युवतीको मृत्यु
स्कुटर दुर्घटनामा परेकी एक युवतीको उपचारका क्रममा ज्यान गएको छ । भरतपुर-१३ नवदुर्गाचोकमा स्कुटर दुर्घटनामा परेकी शारदानगर गाविसकी १८ वर्षीया हेमन्त गुरुङको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको छ । पश्चिम चितवनको शारदानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना २५ प ८० नम्बरको स्कुटर साइकल यात्रीलाई बचाउन खोज्दा दुर्घटनामा परेको थियो । रासस
0 comments
Write Down Your Responses