सशस्त्रसँग गृहमन्त्री असन्तुष्ट
काठमाडौं– जनसम्पर्कमा बढी चासो देखाएको भन्दै गृहमन्त्री माधवप्रसाद घिमिरेले आफ्नै कार्यक्षेत्रमा केन्द्रित हुन सशस्त्र नेतृत्वलाई निर्देशन दिएका छन्। निर्वाचन सुरक्षाकेन्द्रित छलफलका लागि मंगलबार मन्त्रालयले आयोजना गरेको छलफलमा गृहमन्त्री घिमिरेले अपराध अनुसन्धान, पक्राउलगायतको जिम्मेवारी नेपाल प्रहरीको भए पनि सशस्त्र प्रहरीले त्यस्ता गतिविधिलाई प्राथमिकता राखेको भन्दै 'आफ्नो कार्यक्षेत्रमा केन्द्रित हुन' निर्देशन दिएका थिए।
स्रोतका अनुसार क्षेत्रगत प्रस्तुतिका क्रममा सशस्त्रका प्रतिनिधिहरूले पक्राउ र मुद्दा चलाइएको संख्या सार्वजनिक गरेपछि गृहमन्त्रीले 'ती काम प्रहरीको हो, अर्धसैनिक संरचनाको संगठन सशस्त्रको होइन' भन्दै सम्झाएका थिए।
कानुनतः पक्राउ गरेर मुद्दा चलाउने अधिकार सशस्त्र प्रहरीलाई छैन । सशस्त्र प्रहरी बल ऐन अनुसार ठूलै आपराधिक घटनाको सूचना पाउँदा हस्तक्षेप गरी कसैलाई नियन्त्रणमा लिए तत्काल प्रहरीलाई बुझाउनुपर्ने भए पनि सशस्त्रका क्षेत्रीय डिआइजीहरूले आफ्नो कामको सूचीमा पक्राउ र मुद्दा चलेकाहरूको संख्या राखेपछि गृहमन्त्री घिमिरे रिसाएका थिए।
'पक्राउ गर्ने, मुद्दा चलाउन गृहअन्तर्गत नेपाल प्रहरी संगठन छ । त्यो काम प्यारामिलिटरी फोर्स सशस्त्रको होइन,' गृहमन्त्रीको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो, 'सशस्त्र स्थापनाको उद्देश्य जनसम्पर्क बढाउन होइन, तपाईहरूलाई मन्त्रालयले काम तोकेको छ, त्यही घेरामा केन्द्रित हुनुस्।'
डिआइजीहरूको प्रस्तुतिभन्दा अगाडि सशस्त्र प्रहरी बलका प्रमुख कोषराज वन्तले समेत जनसम्पर्कको कामलाई प्राथमिकतामा राख्दै गृह मन्त्रालयबाट सहयोगको अपेक्षा राखेको बताएका थिए। उनको प्रस्तुतिप्रति गृहसचिव नवीन घिमिरेले पनि असन्तुष्टि व्यक्त गरेका थिए।
गृहले सशस्त्रलाई सीमा व्यवस्थापन, भन्सार छली नियन्त्रण, विपद व्यवस्थापन र औद्योगिक सुरक्षा कार्यक्षेत्र तोकेको छ। पछिल्लो समय अपराध अनुसन्धानमा समेत चासो राख्दै सशस्त्रले त्यस्ता सूचना संगठनलाई उपलब्ध गराउन सार्वजनिकरूपमै आह्वान गर्ने गरेको गुनासो अनौपचारिक रूपमा प्रहरी संगठनले गृह अधिकारीलाई गरेका थिए।
सशस्त्रले आफ्नो वेबसाइटमा जबर्जस्ती चन्दा असुली, अवैध हातहतियार, अपहरण, फिरौती लिने गिरोह तथा संगठित संलग्न समूहबारे जानकारी दिन आग्रह गर्दै सूचनासमेत राखेको छ।
निर्वाचनको सूचना दिन कक्षनिर्वाचन सुरक्षामा प्रहरीको 'ब्याकअफ फोर्स' सशस्त्र प्रहरीले संविधानसभा निर्वाचनसम्बन्धी जानकारी सञ्चारकर्मीलाई 'छिटो दिन' सूचना कक्ष स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तले बुधबार बलका पाँचै क्षेत्रीय कार्यालयमा तत्काल सूचना कक्षको स्थापना गर्न निर्देशन पठाएको सशस्त्रको समाचार कक्षले जनाएको छ ।
कक्षले निर्वाचनमा सुरक्षा व्यवस्थासम्बन्धी सूचना छिटोछरितो बनाउन बलका प्रवक्तालाई उपलब्ध गराउने छ । विज्ञप्तिमा सशस्त्रको कार्य क्षेत्रभित्रको सूचना उपलब्ध गराउने भनिए पनि कार्यक्षेत्र उल्लेख गरिएको छैन ।
समाचार कक्षका अनुसार निर्वाचन अवधिभरका लागि स्थापना गरिएको सूचना कक्षले आफ्नो कार्य क्षेत्रभित्रको सूचना संकलन गर्ने, सोको अनुगमन कार्यालय प्रमुखबाट गरिने तथा सशस्त्र प्रहरी बलका प्रवक्तामार्फत छिटोछरितो ढंगले सञ्चारमाध्यमलाई सूचना उपलब्ध गराउने उल्लेख छ ।
0 comments
Write Down Your Responses