बिग्रेको जहाज हेर्न ५० जना कर्मचारी विदेश भ्रमणमा
१० साउन, काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सिंगापुरमा मर्मत भइरहेको एउटा जहाज लिन जाने ‘निहुँ’ मा ५० जनाजति कर्मचारीले विदेश शयर गरेका छन् ।
ती कर्मचारीको विदेश शयरका लागि निगम व्यवस्थापनले झन्डै ५० लाख रुपैयाँ बेहोर्नुपरेको छ । जहाज लिन जाने भनेर काठमाण्डौं-सिंगापुर ओहोरदोहोर गर्ने ती कर्मचारीले अहिलेसम्म जहाज भने ल्याउन नसकेको नागरिक दैनिकमा खबर छ ।
‘यसरी गएका कर्मचारीको काम मजाले विदेश घुम्ने र भत्ता पचाउनेमात्र हो,’ निगमका एक अधिकारीले बुधबार भने, ‘नत्र एउटा जहाज लान र ल्याउन त्यत्रो लावालश्कर किन जानुपर्यो ? यो पनि अनियमितताको गतिलो उदाहरण हो ।’
जहाज अभावमा पर्याप्त आम्दानी गर्न नसकेको निगमका लागि यस्तै ‘अनियमितता’ र फजुल खर्चले पनि थिलथिलो पार्दै आएको सम्बद्ध अधिकारीले बताएका छन् । मर्मत गरेपछि जहाज लिन चालक दल र इन्जिनियरमात्र गए पुग्ने भएपनि बर्षौदेखि हुलका हुल कर्मचारी जाने गरेको ती अधिकारीले बताएका छन् ।
0 comments
Write Down Your Responses