शान्ता चौधरीलाई मार्ने योजना यसरी बनेछ !
३ साउन, काठमाडौं । पूर्व सभासद शान्ता चौधरी पहिले कमलरी समेत हुनुहुन्थ्यो । सामाजिक कुप्रथाले उहाँलाई पनि जमिनदारको घरमा बसेर काम गर्नुपर्ने बाध्यता आइलाग्यो । अरु पूर्व कमलरीले जस्तै उहाँले पनि थुप्रै हण्डर र ठक्कर खेप्नुभएको छ ।
निकै संघर्षपूर्ण जीवन गुजारेकी चौधरी २०६४ सालपछि गठन भएको संविधानसभामा एमालेको तर्फबाट सभासद समेत बन्नुभयो । सभासद भएको बेला उहाँले कमलरी लगायत पछाडि पारिएका वर्ग र समुदायको हितमा आवाज उठाउनुभएको थियो ।
आफ्नो जीवनमा आएको उथलपुथल, संघर्ष र सफलतालाई समेटेर पूर्व सभासद चौधरीले बुधबार पुस्तक सार्वजनिक गर्नुभएको छ । ‘कमलरीदेखि सभासदसम्म’ नामक पुस्तकमा उल्लेखित उहाँको जीवनीले समग्र कमलरीको व्यथा र अवस्था थाहा पाउन सकिन्छ ।
कसरी बन्यो मार्ने योजना ?
कमलरी जीवनबाट मुक्ति पाएर सामाजिक अभियानमा लाग्दा शान्ता चौधरीलाई मार्ने योजनासमेत बनेको रहेछ । जुन कुरालाई उहाँले पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ :
२०६३ सालमा कमलरी जीवनबाट मुक्ति पाएँ । मुक्तिपछि जीवनमा धेरै गर्नुपर्छ भन्ने सोच्थें । दुनियाँले जे भने पनि, जस्तो नजरले हेरे पनि केही गरेर देखाउने अठोट मनमा थियो । जमिनदारको घरबाट काम छाडेपछि गुजाराका लागि जे भए पनि काम गर्नुपर्ने बाध्यता आइलाग्यो । गाउँका केही घरबाट सुङ्गुर र बाख्रा मागेर अधियामा पाल्न सुरु गरें । छोराछोरी दुवै स्कुल जान थालेका थिए । उनीहरूको पढाइ खर्च जुटाउने अर्को चुनौती पनि थियो । कलम, कापी, कपडा र झोला जस्ता सामान्य कुरा जोहो गर्न पनि निकै कठिन पर्यो । आफू भोको बसेर पनि बच्चाका लागि जोहो गर्नैपर्ने थियो । जे होस्, अभाव नै भए पनि मुक्त भएपछि घरको काम गर्ने र आन्दोलनमा जाने स्वतन्त्रता भने प्राप्त भयो । निर्धक्कसाथ समय बचाएर आन्दोलनमा सहभागी हुन पाएँ । यो भने औधी खुसीको कुरा थियो ।
घरमा खानेकुरा नभएपछि बच्चाहरू दौडेर मामाघर जान्थे । आमाले भएसम्म खानेकुरा दिनुहुन्थ्यो । तर यसरी खान दिएको भनेर भाउजूचाहिँ निकै रिसाउनुहुन्थ्यो । ‘आफू नेतागिरी गरेर यताउता हिँड्ने ? खानचाहिँ बच्चालाई हाम्रो घरमा पठाउने’ भन्दै भुत्भुताउनु हुन्थ्यो । त्यसपछि आमाले आन्दोलनमा हिँड्न छाडेर घर-बच्चाको स्याहारमा लाग्न सुझाव दिनुहुन्थ्यो । तर म जसले जति आग्रह गर्दा पनि आन्दोलनमा लाग्न भने छाडिनँ । बच्चालाई गाली गरेको देख्दा आमा कहिलेकाहीँ रुनु पनि हुन्थ्यो । आन्दोलनमा लागेको भन्दै गाउँका केही विरोधी ममाथि जाइलागेको देखेर आमा निकै चिन्ता गर्नुहुन्थ्यो । ‘शान्तिकै कारणले खेत जोत्न पाएनौं’ भन्दै अन्य कमलरीका बाबा-दाइहरूसमेत मेराविरुद्ध विभिन्न योजना बनाउँथे । कतिपयले मार्नेसमेत योजना बनाएको थाहा पाएकी छु । तर म आमालाई सम्झाउँथें- ‘अभियानमा लागेर गाउँको भलो गर्छु’ भन्थें । अनि आमा रिसाउँदै भन्नुहुन्थ्यो- ‘तँलाई नै मारेपछि गर्लिस् नि अरुको भलो ? पहिले आफ्नो काम गर, परिवार जहानको ख्याल गर, अनि अरुका लागि सोच्नू ।’ उहाँको पीडा देखेर मलाई पनि चिन्ता हुन्थ्यो । आमा कहिले गाली गर्नुहुन्थ्यो त कहिलेचाहिँ साहस पनि दिनुहुन्थ्यो ।
आमाको मन न हो, सन्तानप्रति माया हुने नै भयो । अझ म त कान्छी छोरी । त्यसैले उहाँलाई मेरो धेरै चिन्ता थियो । उहाँ मलाई धेरै नबोल, जमिनदारविरुद्ध नलाग भनेर बारम्बार सम्झाउनुहुन्थ्यो । उहाँको डर थियो कि मलाई जमिनदारले केही गरिदेलान् । त्यसैले जमिनदार वा शोषण गर्नेहरूको विरोध गर्नुभन्दा बरु मिलेर बसिदिए राम्रो हुन्थ्यो भन्ने चाहना उहाँमा थियो । त्यतिखेरमात्र हैन, अहिले पनि उहाँ मलाई जमिनदारले केही गरिहाल्ने पो हुन् कि भन्ने पिरलो गरिरहनुहुन्छ बेलाबखत । यसबाट पनि थाहा हुन्छ कि आमा त्यतिखेरका जमिनदारबाट कति सताइनुभएको रहेछ भन्ने । उहाँमात्र हैन, उहाँका उमेरका सबै थारु महिला यस्तै सोच राख्छन् अहिले पनि । जुन प्रवृत्तिका रूपमै झाङ्गिएको छ ।
अभियानमा रोक्ने प्रयास र सफलता
मैले भने सफलता नपाउँदासम्म आन्दोलनमा लागिरहने प्रण गरें । एक न एक दिन कसो सफलता हात नलाग्ला भन्ने लाग्थ्यो । यद्यपि कसरी सफल होइन्छ भन्नेचाहिँ मलाई पनि थाहा थिएन । तर पनि अनवरतरूपमा लागिरहें । नथाकुन्जेल लागिरहें- कहाँ पुग्छु भन्ने गन्तव्य थाहा नभए पनि । मलाई यतिमात्र थाहा थियो कि निरन्तर लागेमा एक दिन गन्तव्यमा अवश्य पुगिएला ।
मलाई अभियानमा लाग्नबाट रोक्नका लागि गाउँमा पटक-पटक कचहरी समेत हुन्थ्यो । अरुका चेली छोरी, श्रीमती सबैलाई अभियानमा लगाई भनेर सबैले आरोप लगाउँथे । ‘अभियानमा लगाउने भए हाम्रा पनि बच्चा स्कुल पढाउने जिम्मा लिनुपर्यो’ भनेर गाउँलेहरू सर्त राख्थें । आफ्नै बच्चा त पढाउन मुस्किल थियो । कहाँबाट अरुको बच्चा पढाउने जिम्मा लिन सक्नु ? गाउँका कोही मान्छेको साथ नपाउँदा कहिलेकाहीँ त मलाई चिन्ता पनि लाग्थ्यो । तर पनि म थाक्न भने थाकिनँ ।
यो अभियानमा मसँगै गाउँकै शरद योगीकी श्रीमती पनि लागेकी थिइन् । शरदले आफ्नी श्रीमती मसँगै हिँडेकै कारण धम्क्याउँथे । कुटपिट पनि गर्थे । यस्तो अभियानमा नलाग्न बारम्बार चेतावनी दिन्थे । म उनलाई निकै सम्झाउन कोसिस गर्थें । यो अभियान असमान भूमि वितरणविरुद्ध छ र गरिबको हितमा छ भन्थें । तर उनी मरे पत्याउँदैनथे । अनि भन्थे- कस्ता कस्ता ठूलो नेताले नसकेको काम तैंले गर्ने ? यत्तिकैमा उनले ‘बरु सक्छस् भने गाउँ -डाँडागाउँको चुक्लीपाटा, जहाँ १७-१८ घर थिए) मा बत्ती बालेर देखा त’ भनेर चुनौती दिए । नत्र गाउँका आइमाई बिगार्दै नहिँड्न चेतावनीसमेत दिए ।
म पनि के कम र ? आफैंलाई त बत्ती बाल्न कहाँ जाने, कसलाई भन्नेबारे केही मेसो थिएन । त्यसैले गाउँकै वसन्तपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर ओलीलाई गाउँमा बत्ती बाल्ने अभियानमा लागौं भनेर अनुरोध गरें । उनले यो सम्भव हुने काम नभएकाले प्रयास नै नगर्न पो सुझाव दिए । यसरी पहिलो प्रयासमै झड्का लागेपछि म पछि हट्नुपर्ने हो तर मेरो बानीले मलाई यो काम जसरी पनि पूरा गरेरै छाड्छु भन्ने अठोट दिलायो । त्यसपछि उनलाई कहाँ जाने, कसलाई भेट्ने, प्रक्रिया त बताइदेउ भनें । बल्ल उनले ‘हुन त हुन्न’ भन्दै प्रक्रियाचाहिँ सबै बताइदिए ।
उनकै सल्लाहअनुसार गाविसमा सिफारिस लिन गएँ । कहाँ गाविस ? कसलाई भन्ने ? के भन्ने ? केही थाहा थिएन । यसमा मेरी नन्द (जसलाई पछि उनकै श्रीमान्ले हत्या गरे) ले सहयोग गरिन् । उनलाई अलिअलि थाहा रहेछ । अरु बेला त गाविस पनि कहाँ जान पाइन्थ्यो र ? त्यसैले घाँस काट्न गएका बेला समय मिलाएर गाविस कार्यालय धाउने काम भयो । यो सिफारिस लिएर विद्युत् कार्यालय धाउने काम पनि जारी राखें । ६ महिनाको लामो प्रयासपछि गाउँमा विद्युत् कार्यालयले पोलसम्म खसाल्यो । पोल आएपछि अलि राहत महसुस भयो । पोल आए पनि लामो समयसम्म तार जडान भएन । तार नहालेकाले बत्ति बल्ने कुरै भएन । त्यसपछि ‘देखाउनलाई पोल खसाल्न लगाएको’ भनेर पुनः गाउँलेले मलाई उडाउन थाले । गाली गरे । गाउँमा यो वातावरण देखिएपछि अरु गाउँलेलाई पनि मसँगै हिँड भनेर पछि लगाएँ । नभन्दै साथ पनि दिए । सबैको दबाब निरन्तर जारी रहेपछि बल्ल विद्युत् कार्यालयले गाउँमा तार खसाल्यो । अनि बत्ती पनि बल्यो । त्यसपछि भने ममाथि गाउँलेको अलि विश्वास बढ्यो ।
गाउँलेको ममाथि विश्वास बढेको यही क्षणलाई भरपुर प्रयोग गर्दै मैले कमलरीका बाबुआमालाई आफ्ना छोरी जमिनदारको घरबाट फिर्ता गरौं भन्ने प्रस्ताव राखें । तर कोही तयार भएनन् । उनीहरूको सबैको एउटै भनाई थियो- ‘फिर्ता त ल्याउने तर पाल्ने कसरी ? आफैं पालिन त गाह्रो भएका बेला थप बोझ किन भिर्ने ? कम्तीमा ऊ आफू त पालिएकी छे ।’ हुन पनि हो, खाना अभावले आफ्नै छोराछोरी पनि बोझ लाग्ने अवस्था थियो गरिब थारुहरूको । छोरीहरूलाई कमलरी बस्न पठाउनुको एउटा कारण यो पनि थियो । यही बाध्यता बुझेका जमिनदारहरूले कमलरीको सकेसम्म शोषण गर्थे । अनि यो शोषण सहिरहनुको एउटा कारण आफ्नै गरिबी पनि थियो । जुन कुरा मैले राम्रैसँग बुझेकीमात्र हैन, भोगेकीसमेत थिएँ ।
उनीहरूलाई हौसला दिनका लागि फिर्ता ल्याइएका कमलरी म आफैं जिम्मा लिन्छु भनें । भन्न त भनें तर उनीहरूलाई कसरी राख्ने, के खुवाउने भन्ने प्रश्नको उत्तरचाहिँ म आफैंसँग पनि थिएन । आफैंलाई विश्वास नभएको आश्वासन दिए पनि कमलरीका आमाबाबु भने कमलरी फिर्ता गर्न सहमत भए । अर्थात् सबैले ममाथि विश्वास गरे । गाउँमा बत्ती बाल्न सफल भएपछि सबैले पत्याउने वातावरण बनेकाले ममाथि विश्वास गरेका थिए उनीहरुले । यसरी कमलरी फिर्ता गरेपछि जमिनदारले उनीहरूको परिवारलाई गरिखान दिएका जमिन पनि खोसे । एकातिर घरमा खाने परिवारको बोझ थपियो थारु समुदायमा भने अर्कोतर्फ गरिखाने जमिन पनि खोसिएकाले जीविका नै धरापमा पर्यो । यसरी जमिन खोस्ने जमिनदारहरूले फिर्ता भएका कमलरी र उनीहरूका आफन्तलाई ‘अब शान्तेको डाँडा जोत्न जाओ’ भनेर डायलग हान्दै पठाए । मेरो आफ्नै पनि केही नभएकाले उनीहरूले हामी बसेको डाँडो देखाउनु स्वाभाविक पनि थियो । यसरी कमलरी छुटाउने अभियान त सुरु गरियो तर उनीहरूको समस्या कसरी हल गर्ने भन्ने उपाय भने नभएकाले थप तनावमा परें म ।
यसैबीच कमलरीहरू फिर्ता आएपछि जमिनदारहरूको घरमा काम गर्ने मानिस भएन । वर्षौंदेखि अरुलाई जोताएर मोजमस्ती गरेकाहरू मसँग पुनः आक्रोशित भए । त्यसपछि उनीहरूले मेराविरुद्ध विभिन्नखाले षडयन्त्र रच्न थाले । यस क्रममा कमलरीका बाबुआमालाई उचाले र ममाथि जाइलाग्न लगाए । कैयौं मानिसलाई जाँड खुवाएर कुटपिट गर्नसमेत पठाए । यसरी आफैंमाथि आक्रमण हुन थालेपछि छाप्रोभित्रै चुकुल लगाएर बस्न बाध्य भएँ कति दिन त । जमिनदारको उक्साहटमा लागेर कमलरीकै आफन्त तथा अभिभावकहरू समेत मेराविरुद्ध मेरै छाप्रो अघि आएर नारा जुलुसै लगाउँथे । यस्तो अवस्था देखेपछि मलाई घरमै आफन्त र परिवारले समेत गाली गर्न थाले । हुँदाहुँदा उनीहरूको पनि आँखाको तारो हुन थालें म ।
तर पनि मैले हरेस खाइन । चराको पनि गुँड हुन्छ । हामी बरु गिटी कुटौं, छोरी नबेचौं भनेर सबैलाई सम्झाउन छाडिन् । कमलरीबाट छाड्न त लगाइयो, छाड्दै पनि गए । छोरी फिर्ता ल्याउने क्रम पनि बढ्यो तर उनीहरूलाई कसरी राख्ने, के खुवाउने भन्ने चिन्ताचाहिँ कम भएन । केही गरौं न त भने आफैं पनि समस्यामा थिएँ । कतै जाउँ, साहूको काम छाड्न पाइन्न । यत्तिकैमा केही उपाय त खोज्नै पर्यो बा भनेर एक दिन कमलरी हितमा काम गर्ने संस्था खोज्न घोराही गएँ । अघिल्लै दिन दुई भारी घाँस काटेकी थिएँ । एक भारी भोलिपल्टलाई राखेर त्यो दिन घोराहीतर्फ हानिएँ । जान त जाने तर कहाँ जाने ? कसलाई के भन्ने ? रनभुल्लमा परें ।
यत्तिकैमा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीलाई सम्झें । उनीहरूले नै हाम्रो गाउँमा एउटा बचत समूह गठन गर्न लगाएका थिए, जसको सदस्य म पनि थिएँ । त्यसैले उनैलाई पीडा बिसाउन पाए फिर्ता आएका कमलरीका लागि केही उपाय निस्कन्छ कि भन्ने लाग्यो । अनि उनलाई भेटें पनि । सबै कुरा बताएँ र आफू राम्रो काम गर्न खोज्दा झनै समस्यामा परेको पनि सुनाएँ । मेरो सबै कुरा सुनिसकेपछि आसमानीले एक साता उनीहरूलाई नआत्तिइ बस्न भन्नु, त्यसपछि केही गरौंला भनेर आश्वासन दिइन् । सहाराबिहीन बनेकी मलाई उनको त्यो भनाईले पनि ठूलै राहत प्रदान गर्यो । तर आफ्नो गास र बास छाडेर मेरै भरमा फिर्ता आएका कमलरी र उनका आफन्तलाई भने एक साता मनाउन वा टिकाउन पनि निकै गाह्रो भयो मलाई । धन्न, नभन्दै उनले एक सातापछि फिर्ता आएका कमलरीका लागि विद्यालय पोशाक, झोला र अन्य सामान ल्याइदिइन् । त्यसपछि पढ्न चाहने र रुचि भएका सबैलाई विद्यालयमा भर्ना पनि गरियो ।
बल्ल केही राहत महसुस हुन सक्यो । कुरा काट्ने र मान्छे भाँड्छे मात्र भन्नेलाई पनि केही जवाफ स्वत मिल्न पुग्यो । मलाई यस कार्यमा पवित्रा नेपालीले निकै सहयोग पुर्याइन् । उनको कहानी पनि कम्ता पीडाजनक थिएन । श्रीमान् र दुई बच्चा मरेका थिए उनका । त्यसपछि सासूले मेरो छोरो खाइस् भनेर घरबाट निकालिदिएकाले विचल्लीमा थिइन् । उनले पनि अदालतमा अंश मुद्दा हालेकी थिइन् । उनको मुद्दामा म पनि लागें । पछि उनले जितिन् । मसमेत लागेको पवित्राको मुद्दा जित्नाले पनि मैले थालेको अभियानलाई फाइदा पुग्यो । यसले गरेको काम पक्का हुन्छ भन्ने विश्वास गाउँलेमा पलायो । यसरी एकपछि अर्को सफलताले मैले थालेको अभियान क्रमशः सफल हुँदै गएको थियो । बलदेव मजगैयाको सांसद विकास कोषबाट सहयोग जुटाएर गाउँमा इनार पनि खनियो । यसबाट पनि गाउँलेको मन जित्न मलाई सहज भयो । थप मानिसमा मप्रति आशा जगाउन र केही गर्छे भन्ने पार्न सफल भएँ । स-सानै किन नहुन, यिनै सफलता थिए, जसले मलाई भूमिहीनका लागि केही गर्न तथा उनीहरुका लागि नीति निर्माण गर्ने थलो संविधान सभासम्म पुर्याउन ठूलो भूमिका निर्वाह गरेका थिए ।
0 comments
Write Down Your Responses