कसरी रोकियो प्रचण्डको राजिनामा

१५ साउन, काठमाण्डौं । हेटौंडा महाधिवेशन सकिएको ६ महिनामै सर्वसम्मत निर्वाचित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल परिस्थितिको आवश्यकता आफ्नो राजीनामा थियो भन्ने निष्कर्षमा पुगेका रहेछन् । उनले खन्ना गामेन्टमा भएको विस्तारित बैठक समापनमा साउन ६ गते यसको खुलासा गरे ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिएपछि उत्पन्न परिस्थितिबारे निर्णय गर्न बोलाइएको बैठक समापनका दिन दाहाल एकाएक भावुक भए । अहिलेसम्मका सवै कमजोरीको कारक आफू भएको बताउँदै उनले भने ‘राजीनामा त मैले दिनुपथ्र्यो ।’ दाहालले राजीनामा दिनुपर्ने कारण बारे व्याख्या पनि गरे । उनले भने, ‘वस्तुगत र आत्मगत कारणले हामी अहिले जटिलताभित्र पुगेका छौं । यहाँसम्म आइपुग्दा हामीले केही क्षति र बलिदानी बेहोरिसकेका छौं । गएको केन्द्रीय बैठक -असार १३-३१) मै पनि हामीले असफलता र क्षति भोग्यौं । पार्टी संरचना बनाउन सकेनौं । यी कमजोरीको जिम्मा मैले लिनुपथ्र्यो ।’

तत्कालै दाहालले आफूले राजीनामा नदिनुको कारण पनि सुनाईहाले, ‘तर यो ढंगले समस्या समाधान हुन सक्छ कि सक्दैन ? ‘ उनले कार्यकर्तालाई भावुक बनाउन प्रयास गर्दै भनेका थिए , ‘अहिले पद त्याग गरौं भने संक्रमणकालको समस्या समाधान कसरी सम्भव छ ? जिम्मेवारीबाट पन्छने स्थितिमा हामी छैनौं ।’

एमाओवादी नेता राम कार्कीले भने, ‘महाधिवेशनको म्यान्डेट लागू गर्न नसकेको अवस्थामा दाहालको यस्तो अभिव्यक्ति आएको हो ।’ उनी पद छाड्नु सधैँभरि त्याग नहुने बताउँछन् । भन्छन् ‘समय अनुकूल भएमात्र त्याग हुन्छ ।’ आफूले राजीनामा दिनुपर्ने विषय उठाएर दाहालले संक्रमणको समस्याबाट भाग्न, जिम्मेवारीबाट पन्छिन खोजेकोजस्ता आरोप बाबुराममाथि परोक्ष रुपमा लगाएपछि उनको राजीनामा पार्टीलाई अप्ठ्यारो पार्न आएको हो भन्ने धारणा रहेछ भनी उपस्थित नेता कार्यकर्तालाई बुझ्न गाह्रो नभएको मंगलबार प्रकाशित अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.