२०७३ सालको वैशाखमै मेलम्चीको पानी काठमाण्डौं आउने !
१ साउन, काठमाण्डौं । आगामी तीन वर्षभित्र अर्थात् २०७३ वैशाखमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । मेलम्ची खानेपानी आयोजनाको महत्त्वपूर्ण पाटो मुहान र सुरुङ निर्माण कार्यका लागि इटालीको को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सँग सोमबार गरिएको ठेक्का सम्झौतामा २०७२ सालभित्र आयोजना सम्पन्न गरी २०७३ वैशाखमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य किटान गरिएको हो ।
मुहान र सुरुङ ३६ महिनामै सम्पन्न हुने समयावधि तोकिएको छ । यसअघि सन् २०१३ सेप्टेम्बरभित्र काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन २७ किलोमिटर सुरुङ तथा मुहान निर्माणका लागि सरकारले सन् २००९ को फेब्रुअरीमा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । तर, १० महिनाअघि अर्थात् सन् २५ सेप्टेम्बर २०१२ मा मेलम्ची आयोजनाले चाइना रेलवेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
समयमै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्बभन्दा बढी रकम चाइना रेलवेले माग गरेपछि मेलम्ची विकास समितिले ऊसँग ठेक्का सम्झौता रद्द गरेको थियो । आफूले ठेक्का पाएको अवधिमा चाइना रेलवेले जम्मा साढे ४ किलोमिटर मात्र सुरुङ निर्माण गरेको थियो । ऊसँगको ठेक्का सम्झौता रद्द हुँदा १० महिनासम्म आयोजनाको काम ठप्प बन्न पुगेको थियो । चाइना रेलवेले ठेक्का सम्झौता रद्द गरी बीचमै काम छाडेर हिँडे पनि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले आयोजना जसरी पनि पूरा गरेरै छाड्ने सरकारसँग प्रतिबद्धता जनाएको थियो । त्यसपछि बाँकी कामका लागि मेलम्ची खानेपानी आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरूले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए । इटालीको सीएमसी कम्पनीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो । सबैभन्दा कम आर्थिक प्रस्ताव सीएमसीले हालेपछि ऊसैसँग ठेक्का सम्झौता गरिएको मेलम्ची आयोजनाले जनाएको छ । मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना रहेको राजधानी दैनिकमा खबर छ ।
जसमा सिन्धुपाल्चोकको मेलम्ची, यांग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी ल्याइनेछ । मेलम्ची आयोजनाको पानी काठमाडौंमा ल्याउन केही समयअघि जापानी नियोग (जाइका) को ऋण सहयोगमा सुन्दरीजलस्थित महांकाल चौरमा पानी प्रशोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । पानी प्रधोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा कम्पनीले ४ अर्ब २० करोड ४६ लाखमा ठेक्का पाएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार आयोजित मुहान र सुरुङ निर्माण सम्झौता कार्यक्रममा मन्त्री छविराज पन्तले मेलम्ची खानेपानी आयोजनालाई सरकारले महत्त्वपूर्ण प्रोजेक्टको रूपमा राखेको ठेक्का सम्झौताले आयोजना समयमै सम्पन्न हुने विचार व्यक्त गरे । ‘एडीबीले नेपाल र नेपालीको विकासमा निकै ठूलो सहयोग गरेको छ, काठमाडौं उपत्यकावासीको खानेपानीको मागलाई दीर्घकालीन रूपमा समाधान गर्ने यो आयोजना समयमै पूरा गराउन एडीबीले गरेको आर्थिक सहयोग महत्त्वपूर्ण छ,’ मन्त्री पन्तले भने । मुहान र सुरुङ निर्माणका लागि भएको ठेक्का सम्झौताले आयोजना पूरा हुँदैन कि भन्ने शंकालाई निवारण गरिदिएको मन्त्री पन्तको भनाइ थियो । कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले पहिलेको गल्ती नदोहोर्याउन र समयमै आयोजना पूरा हुनेमा आफू आशावादी भएको विचार व्यक्त गरे । ‘एडीबीले पुरानो गल्ती नदोहोर्याउनेमा नेपाल सरकार विश्वस्त छ,’ पौडेलले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना हो ।’
0 comments
Write Down Your Responses