बाबुरामले भने- ज्ञानेन्द्रलाई चिमोट्दा गणतन्त्रवादीलार्इ किन १०४ डिग्रीको ज्वरो ?

१६ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो व्यक्तिगत दुश्मनी नभएको बताउनुभएको छ ।
पछिल्लो समय पूर्वराजालाई जेल हाल्नुपर्छ भन्ने प्रतिक्रिया दिएपछि उत्पन्न तरंगबारे फेसबुकबाट थप स्पष्टीकरण दिँदै भट्टराईले आफूले सत्य बोलेको बताउनुभएको छ । ‘ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा क-कसलाई कति डिग्रीको ज्वरो आउँदो रहेछ र कहाँ कहाँ दुख्दोरहेछ भन्ने ज्ञान चाहिं निकै लाभदायी र रोचक भएको छ ।’ भट्टराईको भनाइ छ, ‘आफुलाई गणतन्त्रवादी भएको दावी गर्ने कतिपय व्यक्ति र शक्तिलाई १०४ डिग्रीकै ज्वरो आएको देख्दा म निकै दुस्खित र चिन्तित भएको छु ।’
यस्तो छ भट्टराईको फेसबुक स्टाटस
संस्क्रितमा एउटा चर्चित श्लोक छ ‘सत्यम् ब्रुयात् प्रियम् ब्रुयात्, नब्रुयात् सत्यमप्रियम्’ अर्थात् सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल ।
मेरा विचारमा आफ्नो कुनै निजी स्वार्थ नभएको र देश र जनताप्रति प्रतिवध्द व्यक्तिले आवश्यक पर्दा ‘अप्रिय सत्य’ बोल्न सक्नुपर्दछ ।
देशको राजनीतिको अन्तर्यमा केही समयदेखि पुत्पुताउँदै गैरहेका कर्महरु र मुख्यतस् पूर्वराजा ज्ञानेन्द्रका प्रतिक्रान्तिकारी उद्देश्य र हर्कतहरुबारे एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले बेलैमा खतराको घण्टी बजाउनु मैले आफ्नो कर्तव्य ठानेको हुँ । ज्ञानेन्द्रका समग्र देखिने र नदेखिने प्रतिगमनकारी कामका सन्दर्भमा भनिएका कुरालाई बिर्सिएर एउटा राहत वितरणको प्रसंग मात्र जोड़ेर प्रचार भैदिंदा आम जनमानसमा केही भ्रम उत्पन्न हुनुलाई म अन्यथा मान्दिनँ । बरु म त्यसको कदर नै गर्छु ।
तर ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा ककसलाई कति डिग्रीको ज्वरो आउँदो रहेछ र कहाँ कहाँ दुख्दोरहेछ भन्ने ज्ञान चाहिं निकै लाभदायी र रोचक भएको छ । पूर्व राजतन्त्रवादीहरूको अविचलित राजभक्तिको म कदरै गर्छु, भलै म उनीहरूसंग सहमत हुन सक्दिनँ । रगत नचुहाइकन मासु काटेर खान खोज्ने मध्मवर्गीय आदर्शवादीहरुको वर्गनिरपेक्ष शिष्टता र भद्रताको आग्रहलाई पनि म अन्यथा मान्दिनँ । तर आफुलाई गणतन्त्रवादी भएको दावी गर्ने कतिपय व्यक्ति र शक्तिलाई १०४ डिग्रीकै ज्वरो आएको देख्दा चाहीं म निकै दुस्खित र चिन्तित भएकोछु । झन् एउटा वामपन्थी पार्टीको साप्ताहिक मुखपत्रले त सम्पादकीय नै लेखेर ज्ञानेन्द्रको खातिरदारी गरेको देख्दा मार्क्सवादको कतिसम्म भ्रष्टीकरण हुन सक्दोरहेछ भनेर लज्जित बनाएको छ ।
ज्ञानेन्द्र व्यक्तिसंग हाम्रो कुनै दुश्मनी छैन । एउटा स्वतन्त्र नागरिकको रुपमा उनको पुजापाठ गर्ने र दानदातव्य गर्ने अधिकारको पनि हामी कदरै गर्छौं । बरु अरबौंको सम्पत्ति हुनेले लाखमा होइन करोडमा दान गर्न सकेको भए बढ़ी राम्रो हुन्थ्यो । तर यहाँ चिन्ताको विषय के हो भने ज्ञानेन्द्रले आजसम्म नेपाली जनताले आफ्ना महान् वलिदानी संघर्षहरुबाट प्राप्त गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धी र अन्तरिम संविधानका मूल अन्तर्वस्तुबारे आजसम्म कुनै सार्वजनिक प्रतिबध्दता जनाएका छैनन् । बरु उनले उल्टै ती परिवर्तनकारी एजेण्डाबारे असहमति जनाउने गरेका छन् । उनको आशीर्वाद प्राप्त कमल थापाको पार्टीलै खुलै रुपमा राजतन्त्रको पुनर्स्थापना सहमति वा चुनाव मार्फत नभए ‘विद्रोह’ मार्फत गर्ने बताइरहेको छ ।
यो स्थितिमा विभिन्न वहानामा ज्ञानेन्द्रको देशदौडाहा केको निम्ति होला भनेर बुझ्न कुनै आइतवार पर्खिरहनुपर्ला र रु उनका नजिकका दूतहरुले पटक-पटक विदेशी शक्तिकेन्द्र धाएर केके सौदावाजी गर्न खोजेका होलान् भन्ने जानकारी आजको अतिविकसित संचारप्रविधिको दुनियाँमा पाउनै नसकिने होला र रु विभिन्न वहानामा आगामी मंसिर ४ को संविधानसभा निर्वाचन भाँड्ने र त्यसपछिको संवैधानिक संकटको स्थितिमा २०४७ को संविधान ब्युँताएर प्रतिगमनको एजेण्डा पूरा गर्ने षड्यन्त्र भएकैछैन वा हुनै सक्दैन भन्ने ग्यारेन्टी के ? अनि आजसम्मको विश्व इतिहासमा जनताको आन्दोलनबाट पदच्यूत भएका राजालाई यसरी देशभित्र छाडा छोडेर राखेको उदाहरण नेपाल बाहेक अन्यत्र कहाँ छ ? त्यसैले आवेगात्मक हैन, विवेकसंगत ढंगले सबैले सोचौं । भोलि कसैले बेलैमा सचेत गराएन भन्ने स्थिति नआओस् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.