मृत भनिएका दुई बालक घर फर्किए, एकको डुबेर मृत्यु

मोरंग । खोलाको बाढीमा पौडी खेल्दा बेपत्ता भएका तीनजना बालक र किशोरमध्ये एकजना मृत फेला परेका छन् भने दुई जना सकुसल फेला परेका छन् । बेपत्ता भएका तीन जनामध्ये दर्बेसा-१ का १६ वर्षीय प्रमोद राजवंशी मृत फेला परेका छन् । सोही ठाउँका ११ वर्षीय दीपक राजवंशी र अविनाश राजवंशीचाहिँ सकुशल फेला परेका हुन् । शुक्रबार दिउँसो रङ्गेली-१ स्थित बक्राहाघाटमा पौडी खेल्न भन्दै घरबाट हिँडेका एकै गाउँका तीन बालक घर फर्केर नआएपछि उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्दै स्थानीयवासी र प्रहरीले शनिबार दिनभर खोजी गरेका थिए । खोजी गर्नेक्रममा प्रमोद राजवंशी शनिबार साँझ खोलामा मृत फेला परेका थिए भने दुई जनाचाहिँ आफन्तको घरमा गएकाले आइतबार बिहान सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक माधव काफ्ले जानकारी गराउनुभयो । सम्पर्कमा आएका बालकहरुले घरबाट सँगै निस्किए पनि आफूहरु खोलामा पौडी खेल्न नगएको बयान दिएका छन् । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.