फिल्म, सिनेमा र मुभीः अर्थ आ–आफ्नै
काठमाडौँको एउटा मल्टिप्लेक्सबाहिर तीन भाइ झगडा गर्दै थिए। हलमा के हेर्ने भन्ने विषयमा भनाभन हुँदै थियो। पहिलो भाइ 'फिल्म' हेर्न चाहन्थे, दोस्रोको रोजाइ थियो 'सिनेमा', अनि तेस्रो चाहिँ 'मुभी'मा जिद्दी गर्दै थिए। उनीहरूको 'खिचलो' अचम्म र हेर्नलायककै थियो। भीडबाट कसैले भन्यो, 'अरे मुर्खहरू, फिल्म, सिनेमा र मुभी भनेको एउटै चिज हो, व्यर्थै किन लफडा!' हुन पनि हो, झट्ट सुन्दा फिल्म, सिनेमा र मुभीमा के भिन्नता छ र? आखिर बोलाउने नाममात्र फरक त हो! पत्रपत्रिकामा पनि यी शब्दहरू समान अर्थमा छापिन्छन्। पाठक र दर्शकहरूले पनि यिनै शब्दलाई चलनचल्तीमा ल्याउने गर्छन्। एउटाले 'फलानो सिनेमा हेर्यौ' भनेर सोध्दा अर्कोले 'हेरेँ, फिल्म राम्रो रहेछ' भन्छन्। त्यसैले एउटै अर्थ लाग्ने शब्दका लागि भाइबीच खिचातानी नहुनुपर्ने हो। केही छिनमा हदैसम्मको लचकता अपनाइएपछि तीन भाइको सहमति भयो। टिकट काटेर हलभित्र पसे। भाइ–भाइको चाला देखेपछि भीडबाट कराउनेको दिमाग रिंगियो, केही न केही त पक्कै फरक हुनुपर्छ यी तीन शब्दमा। व्यावहारिक अर्थ एउटै बुझिन्छ, तर गहिराइमा डुब्ने हो भने यी शब्दहरूको अर्थमा पूर्ण समानता पाइँदैन। 'फिल्म' शब्द सबैभन्दा 'युनिभर्सल' छ। कलाकारको जमघट हुने र फिल्म देखाइने महोत्सव वा मेलालाई संसारभर धेरैजसो 'फिल्म फेस्टिभल' भनिन्छ, सिनेमा वा मुभी फेस्टिभल भनिँदैन। फिल्म पढाउने कलेजहरूलाई पनि 'फिल्म कलेज'को रूपमा चिनिन्छ, न कि मुभी कलेज वा सिनेमा कलेज। विश्वभरकै धेरैजसो संघसंस्थाको नाममा यही 'फिल्म' शब्द झुन्ड्याउने गरिन्छ। जस्तै, 'फिल्म डाइरेक्टर्स गिल्ड', 'फिल्म सोसाइटी' र 'फिल्म एसोसियसन'। पेशाको रूपमा पनि यही शब्द जोडिन्छ, फिल्म लेखक, फिल्म पत्रकार, फिल्म निर्माता आदि। सर्वत्र प्रयोग भए पनि 'फिल्म' शब्दका अर्थहरू अंग्रेजीमा थुप्रै छन्। चलायमान वा स्थिर दृश्यलाई क्यामेरामा कैद गर्ने एउटा माध्यम हो फिल्म। अर्थात् रिल। 'फिल्म' शब्दले 'पातलो पत्र'लाई पनि बुझाउँछ। खाना प्याक गर्ने पातलो प्लास्टिक पनि फिल्म नै रहेछ। सिनेमाकै अर्थमा बुझ्ने हो भने 'फिल्म' अलि बढी टेक्निकल सुनिन्छ। फिल्म भन्नेबित्तिकै क्यामेरा, रिल वा हार्ड डिस्क, लाइटिङ, उपकरण र प्रप्सहरूको समूह दिमागमा घुम्न थाल्छ। 'सिनेमा' शब्द चाहिँ धेरैजसो युरोपमा प्रयोग गरिन्छ। ग्रिक शब्द 'किनेमा' ल्याटिन हुँदै अंग्रेजीमा प्रवेश गरेपछि 'सिनेमा' भएको हो। 'किनेमा'ले 'मोसन' अर्थात् 'चाल' बुझाउँछ। रमाइलो के भने, फिल्म प्रदर्शन हुने हललाई नै कतै–कतै सिनेमा भनिन्छ। 'फिल्म' टेक्निकल सुनिएजस्तै 'सिनेमा' शब्द चाहिँ कलात्मकसँग सम्बन्धित लाग्छ। इन्टरनेटमा खोज्दा धेरैजसो अमेरिकी दर्शकले 'सिनेमा'लाई 'आर्ट फिल्म' र विदेशका राम्रा–राम्रा फिल्मका रूपमा बुझेका पाइन्छन्। सिनेमा भन्नेबित्तिकै कथा, प्रस्तुति, अभिनय, लय र संस्कृतिबीचको तालमेलको झझल्को आउँछ। प्राज्ञिक अध्ययन गर्ने बेला यही 'सिनेमा' शब्द उठाइन्छ। त्यही भएर 'वर्ल्ड फिल्म' होइन 'वर्ल्ड सिनेमा' प्रचलनमा छ। सिनेमासँग सोसाइटी अर्थात् समाज जोडिहाल्छ। समाजको यथार्थ चित्रण भएको फिल्मलाई दर्शकले सिनेमा नै भन्छन्। मुम्बैयालाई 'बलिउड फिल्म' भनिन्छ भने पश्चिम बंगालमा बनेकालाई 'बंगाली सिनेमा'। अमेरिका र क्यानडामा बढी चल्तीमा रहेको 'मुभी' शब्दको लोकप्रियता अरू देशमा पनि बढ्दो छ। यो शब्द 'मुभिङ पिक्चर्स'को संक्षिप्त रूप हो। 'मुभी'ले कतै–कतै 'सिनेमा'ले जस्तै फिल्म देखाउने ठाउँलाई पनि इंगित गर्दो रहेछ। हलिउडका उत्पादनहरूलाई 'मुभी' नै भनिन्छ। 'मुभी' शब्दमा फिल्मलाई मनोरञ्जनको माध्यममात्र ठान्ने मनोविज्ञान टाँसिएको छ। यसले पैसा र व्यापारको पनि प्रतिनिधित्व गर्छ। धेरै पैसा खर्चिएको, तामझाम र बजार पनि ठूलो भएको फिल्मलाई 'मुभी' शब्द नै सुहाउँछ। 'पपकर्न मुभी' भन्ने एउटा शब्दावली चलनमा आइसक्यो। यसले टाइमपास गर्ने हल्काफुल्का फिल्म भन्ने अर्थ दिन्छ। भारत र अरू देशमा पनि फिल्मलाई 'पिक्चर' समेत भनेको सुनिन्छ। तर, अंग्रेजीमा अर्थ लगाउँदा 'पिक्चर' भनेको स्थिर फोटो पनि हो। 'पिक्चर' भन्यो भने फोटो बुझ्नेले पनि 'कुन पिक्चर लागेको छ' वा 'पिक्चर हेर्न जाउँ्क' भन्दा फिल्म नै सोच्छन्। फिल्ममा ध्वनिको प्रवेशले पात्रका आवाज थपिएपछि 'टाकिज' शब्दको प्रयोग सुरु भयो। ध्वनिको प्रविधि सुरुवात कालमा सबैले अँगालिहालेनन्। त्यसैले धेरै वर्षसम्म साइलेन्ट फिल्म र 'टाकिज' सँगसँगै अगाडि बढे। आजकल 'टाकिज' शब्द पनि 'मोसन पिक्चर्स'जस्तै ओझेल परिसकेका छन्। बरु, 'फिल्म', 'सिनेमा' र 'मुभी'बीच तँछाडमछाड चल्दै छ।
0 comments
Write Down Your Responses