लेखन क्षेत्रमा चर्को गुटबन्दी देखेँ
ब्रजेश खनाल, लेखक
फिल्मी लेखक र अभिनेतासमेत हुन् ब्रजेश । तर, ‘यायावर’ सार्वजनिक भएपछि उनको परिचयमा ‘उपन्यासकार’ पनि थपिएको छ । बेलाबखत पत्रपत्रिकामा चोटिला टिप्पणी पनि लेख्छन् ।
चार दशकअघि नेपाली साहित्यमा जासुसी उपन्यास लेखन आरम्भ गर्ने श्रीधर खनालका छोरा ब्रजेश आफ्ना बारेमा के भन्छन् त ? उनका विचारमा मान्छे तीनखालका हुन्छन्, जसमा ब्रजेश दोस्रो कित्तामा पर्छन् । नेपाली लेखन क्षत्रेमा असाध्यै चर्को गुटबन्दी हुने गरेकोमा उनी चिन्तित देखिन्छन् ।
आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?
- पत्रपत्रिकाका नियमित स्तम्भ, खत्र्याकखुत्रुक बाहेक जुनेली उपन्यास लेख्दैछु । यायावर पढ्नेहरुले जुनेलीलाई अथाह प्रेम गरे । उनीहरुले जुनेलीमाथि अन्याय भयो भने । त्यसैले जुनेलीको कोणबाट त्यही पेरिफेरीमा नयाँ उपन्यास बुन्दैछु ।
उही कथावस्तु ?
-होइन, धेरै फरक हुन्छ । कथा अर्कै हुन्छ । परिवेश एउटै भए पनि अनेक आयाम आउँछन् ।
६० बढी फिल्म लेख्नु भा’ मान्छे । अहिले फिल्म लेखन छाड्नु भा हो ?
-चटक्कै छाड्या होइन । पहिले असाध्यै धेरै लेखियो । आएका अफर कुनै पनि छाडिएन । अहिले अलि चुजी भा छु ।
फिल्मले तपाईंलाई छाड्या हो कि तपाईँले फिल्मलाई ?
-वर्षका एक दुईवटा अहिले पनि लेखिराख्या छु । एक दुईवटा लेखेर पनि गुनासो छैन । रेटमा कम्प्रमाइज गर्दिँन । एगि्रमेन्ट गर्दा शतप्रतिशत भुक्तानी लिएर मात्र काम थाल्छु । कसरी फिल्मले मलाई छाडेको भन्ने ?
फिल्ममेकरहरु बेइमान छन् भनिन्छ, लेखकस्व उठाउन त थुप्रै बांकी होला है ?
-छ थुप्रेसँग । कसैसँग १७ हजार, कसैसँग १० हजार, कसैसँग ३ हजार । सबैसँग उठाउने हो भने ३-४ लाख उठ्छ । तर मैले धाउने गरेको छैन ।
थुप्रै फिल्ममा अभिनय गर्नु भो । नजिकैबाट नियाल्नु पनि भो । अहिलेको फिल्मको धार कतातिर गइरहेको छ ?
-पहिला कुनै पनि काम गर्दा अनुभव चाहिन्थ्यो, सिक्नु पथ्र्यो । अहिले प्रविधि सहज हुँदै गयो । हरेक मान्छेले सिनेमा बनाउन थाल्यो । फरकका नाममा बौलठ्ठी सिनेमा बन्न थाले । बम्बैया फर्मुला त्याग्न नसक्ने र नयाँका नाममा जे पायो त्यही गर्ने चक्कीको घानमा पिसिइरहेको छ, नेपाली फिल्मी । हामीलाई यी दुवैको वीचको धारको खाँचो हो ।
अहिले त जो पनि निर्देशक बनिरहेछन् । मानौं निर्देशक बन्नु साह्रै सजिलो काम हो । तपाईंलाई चाहिँ निर्देशक हुने रहर पलाएन ?
-विनोद शेरचनको लगानीमा फिल्म बनाउने भनेर घोषणै गरेर बसेको छु नि । गतवर्षको माघमै साइत गरेको । तर नेपाली फिल्म भन्नासाथ वितृष्णा हुने र आवश्यकताभन्दा बढी भीडभाड भएकोले यो भीडभाडमा मिसिनु हुँदैन भनेर थाती राख्या छौँ ।
यायावर उपन्यासमा तपाईंको अनुभव कति प्रतिशत मिसिएको छ ?
-प्रशस्तै छ । अरु अनुभव पनि छन् । एउटा पात्रमा १५-२० जनाको अनुभव मिसिएको पनि छ, एउटाका कुरा धेरै पात्रमा छरिएको पनि छ । उपन्यासका धेरै कुरा सत्य छन् ।
बैकुन्ठे भान्से भएका बेला दालमा पिसाब गरेको कुरा पनि सत्य हो त ?
-सुनेको कुरा बुनेको हुँ । तपाईँ पावरमा हुनुहुन्छ, प्रतिकार गर्न सक्तैन भनेर कसैमाथि अति गरिरहनु भएको छ । तर तपाईंले ढुक्क नहुनु भए हुन्छ । किनकि उसले कुनै न कुनै रुपमा प्रतिकार गरिरहेको हुन्छ भन्ने कुरा देखाउन खोज्या हो । त्यो कुरा पढेपछि एकजना पाठकले आफूकहाँ काम गर्ने मान्छेलाई अझ राम्रो गर्न थालेँ पनि भन्या थिए ।
बैकुन्ठेलाई यौनतृप्तिका सवालमा त्यति विचरा किन बनाउनु भा नि ?
-उपन्यासमा सामान्यतः हिरो बनाइन्छ पात्रलाई । तर मान्छे जीवनमा सधैँ हिरो हुँदैन । त्यही कुरा देखाउन खोजेको हुँ । खासमा त्यो सन्दर्भ ६० नाघेका एकजना मान्छेले सुनाएको अनुभव हो । आत्मीय प्रेम विना पेशेवारहरुसँग यौनसम्पर्क राख्दा कस्तो हुन्छ भनेर अनुभवका लागि उनी दुईचोटि गए रे । तर पहिलोचोटि अनुहार देखेरै दिक्क लाग्यो रे । यस्तो त पशुले मात्रै गर्न सक्छ भनेर फर्के रे । अर्कोचोटि चै केटीलाई देखेर दया लाग्यो रे । सत्य असत्य उनै जानून । मलाई चाहिँ रमाइलो लागेर उपन्यासमा राखेको हुँ ।
जुनेली लगायतका अरु पात्रहरुलाई पनि त्यति साह्रै दयालाग्दा चाहिँ किन बनाउनु भा नि ?
कतिपय अवस्थामा हामीले आफैँप्रति पनि नराम्रो गरिराख्या हुन्छौँ । जिन्दगीका वास्तविक पात्र जस्तै बनाउन खोज्या हो । लेख्दै जाँदा कति ठाउँमा मलाई समेत बैकुन्ठेप्रति रिस उठ्थ्यो । कतिपय ठाउँमा कालोरामको माया लागेर आउँथ्यो ।
उपन्यासमा अश्लिल शब्दहरु अलि बढी भएनन् ?
-कथा र पात्र अनुसार सुहाउँछ भने किन प्रयोग नगर्ने ? साहित्यमा कमै लेखिए पनि अचेल प्रायः युवाले बोल्छन् । हामी सुनिराख्या हुन्छौँ । अझ पुलिस इन्सपेक्टरहरुका लागि त अश्लिल बोल्नु दालभात खाएजस्तै हो । खासमा मैले दुनियाँमा जे भइरहेको छ, त्यही देखाउन खोज्या हो ।
आफूले आफैँलाई मूल्याङ्कन गर्दा ब्रजेश खनाल कस्तो मान्छे हो ?
-मान्छे तीन किसिमको हुन्छ रे । पहिलो, आफूले दुःख पाएर पनि अरुलाई राम्रो गरुँ भन्ने । दोस्रो, आफूलाई हानी हुँदैन भने अरुलाई पनि दुःख नदिउँ भन्ने । तेस्रो, आफूलाई फाइदा हुँदैन भने पनि अरुलाई दुःख दिन नछाड्ने ।
म दोस्रोमा पर्छु । केही राम्रा गुण छन्, केही नराम्रा । सबैका लागि चाहेर पनि म राम्रो हुन सक्तिन । जानीजानी कसैलाई दुःख दिन पनि चाहँदिन ।
आफूसँग कत्तिको रिसाउनु हुन्छ ?
-रिसाउँदिन । किनकि के गर्छु के गर्दिन भन्ने कुरा आफ्नो नियन्त्रणमा हुन्छ । किन रिसाउने ?
पहिला त खुब रिसाहा हुनुहुन्थ्यो हैन र ?
-रिसाउने कुरा उमेर अनुसार फरक हुने रहेछ । पहिला मोटरसाइकल चलाएर हिँडिराख्या बेला कसैले अगाडि थुकिदियो, बाइक मोडिदियो भने पनि रिस उठ्थ्यो । अहिले रिस उठ्ने कुरा गौण हुन्छ ।
यस्तो परिवर्तन कसरी आयो नि ?
-ओशोको एउटा उक्ति पढेपछि । त्यसमा उहाँले भन्नुभाछ, कसैले केही दिन्छ भने नस्वीकार्दे, नस्वीकारेपछि तेरो हुँदै भएन नि । गाली पनि त्यस्तै हो भन्ने भएपछि मैले रिसाउनै छाडिदिएँ ।
कुनै बेलाका चर्चित लेखक श्रीधर खनालको छोरा भएकै कारण जीवनमा कुनै अफ्ठ्यारो आइलागेन ?
-८-९ कक्षा पढ्दा कथा लिएर गोरखापत्रमा छाप्न जाँदा पत्याउँदैनथे र अलि गाह्रो भयो । त्यसपछि त्यस्तो भएन ।
विपरीत लिंगीका के कुराले आकषिर्त गर्छ तपाईँलाई ?
-विचारले । मानसिक रुपमा कुन धरातलमा छ भनेर हेर्छु । १५ मिनेट कुरा गर्नका लागि विषय नै नहुने मान्छे जतिसुकै सुन्दर भए पनि मेरो कुरा मिल्दैन । सुन्दरताले छिनभरका लागि आकषिर्त गरे पनि त्यो छिनभरमै समाप्त हुन्छ ।
उमेरमा त अफर गर्ने धेरै थिए होलान् । अहिले तिनलाई कहीँ कतै देख्दा …..?
-हरेक मान्छेको जीवनमा अफर आउँछन् । मिडियामा भएकाले अलि बढी नै अफर आए होला । त्यस विषयमा मैले केही सोच्दै सोचिन । अहिले त झन् वास्तै हुँदैन ।
लेखन क्षेत्रका कमजोरी के-के देख्नु हुन्छ ?
-असाध्यै चर्को गुटबन्दी देखेँ । आफ्नो समूहको मात्रै राम्रो भन्ने, चर्चा गर्ने तर अरुको पढ्दै नपढ्ने । भरसक लेखकै नमान्ने । अर्को कुरा विश्वसाहित्य पनि अध्ययन कम गर्छन् हाम्रा लेखक । घरभरि किताब बटुले पनि पढ्दैनन् । नबटुल्ने त झन् धेरै छन् । पढिहाले भने पनि हिन्दी साहित्य पढ्छन् । मार्खेज को हो भनेर बुझ्न स्पेनिश नै पढ्नु पर्छ । हामी कहाँ त्यो छैन ।
तपाईंका चै खास कमजोरी के-के हुन् ?
म असाध्यै चन्चल थिएँ । अभिनय, चलचित्र लेखन, रेडियो प्रोग्राम सन्चालन सबै गरेँ । सुखद कुरा, केहीमा पनि असफल भइनँ । यद्यपि अहिले आएर सोच्दा त्यो मेरो कमजोरी थियो । त्यति धेरै अस्थिर नभइ एउटा क्षेत्रमा मात्र हात हालेको भए हुन्थ्यो जस्तो लाग्छ । यायावरजस्तै हुँदोरहेछ मान्छे । यो कुरा अलि पहिल्यै महसुस भइदिएको भए अलि सशक्त रुपमा उभिन्थेँ कि ? यसो भन्दैमा गुनासोचाहिँ छैन फेरि ।
0 comments
Write Down Your Responses