प्रहरीकै मिलेमतोमा सुनचाँदी ठगी

डडेल्धुरा- नक्कली सुनको औंठी बनाएर प्रतिस्पर्धी सुनचाँदी ब्यवसायीलाई फसाउन खोज्ने सदरमुकाम बागबजारस्थित शिद्धबाबा सुनचाँदी पसलका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई सघाउने एकसमेत प्रहरी परेका छन्। लामो समयदेखि बागबजारस्थित शिद्धबाबा सुनचाँदी पसलबाट सुनचाँदीको कारोबार गर्दै आएका ३८ वर्षीय अर्जुन सुनार र उनका सहोदर भाइ रमेश सुनारले नियोजित ढंगबाट सिद्धविनायक सुनचाँदी पसलको बदनाम गर्न नक्कली सुनको औंठी बनाएर फसाउन खोजेको प्रहरीले जनाएको छ।

सो कार्यका लागि उनीहरुले डडेल्धुराको भागेश्वर–५ घरभइ हालः जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान धनबहादुर पालीलाई प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी कृष्ण प्रसाईले बताए।

सुन ठगीमा प्रहरीको पनि संलग्नता देखिएको छ। सुन ठगी गरी प्रहरी जवानलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 'मिल्दोजुल्दो नाम भएको भन्दै सिद्धविनायक सुनचाँदी पसलका सञ्चालकसँग पसलको नाम परिवर्तन गर्न दबाब दिइरहेका अभियुक्त शिद्धबाबा सुनचाँदी पसलका सञ्चालक दुबै दाजुभाइले प्रहरी जवानपालीलाई ५५ हजार रुपैया दिएर शिद्धविनायक सुनचाँदी पसलमा औंठी बनाउन लगाएका रहेछन्।'

अभियुक्त तीनै जनालाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीएसपी प्रसाईँले भने, 'पछि उस्तै किसिमको नक्कली औंठी तयार गरेर सक्कली आफूसँग राख्दै शिद्धविनायक सुनचाँदी पसलविरुद्ध उल्टै कारबाही चलाएर बदनाम गराउन खोज्दा आफैं कारबाहीको दायरामा पुगेका छन्।

सिद्धबाबाले पहिलेदेखि नै सुनमा ठगी गर्दै आइरहेकेा स्थानीयले आरोप लगाएका छन्। सुनमा मिसावट गर्ने र ठगी गरी ग्राहकलाई बेच्ने गरेको पटक-पटक अरोप लाग्दै आएपछि यस पटकमात्रै पुष्टि भएको अमरगढी सुनचाँदी ब्यावसायी संघले बताएको छ।
प्रहरीले शिद्धबाबा सुनचाँदी पसलका सञ्चालकद्वय रमेश र अर्जुनबाट सक्कली सुनको औंठी बरामद गरिसकेको छ भने अभियुक्तले प्रतिस्पर्धी पसलको बदनाम गर्न आफूले नक्कली औंठी तयार गरेको स्वीकारेका छन्। प्रहरी जवानपालीलाई डडेल्धुरा सदरमुकाममा घरेडी उपलब्ध गराइदिने आश्वासनदिएर प्रयोग गरिएको प्रहरीले जनाएको छ।

फौजदारी अभियोगमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी जवानपालीलाई जिल्ला प्रहरी कार्यालय बैतडीमार्फत् निलम्बनको प्रकृया सुरु भएको डीएसपी प्रसाईँले बताए। प्रहरीले थप अनुन्धान गरेर तीनैजनाविरुद्ध ठगी मुद्दा दर्ता गर्ने भएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.