वाइसिएलद्वारा चितवन बन्द, बिरामी बोकेको एम्बुलेन्स तोडफोड

चितवन— प्रहरीद्वारा पक्राउ गरिएका जबर्जस्ती चन्दा असुल्ने आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै एमाओवादीको युवा संगठन वाइसीएलले बिहीबार गरेको चितवन बन्दका क्रममा सवारी चलाएको भन्दै बिरामी बोकेको एम्बुलेन्स तोडफोड गरेका छन्। सडकमा प्रर्दशन गरीरहेका वाइसिएल कार्यकर्ताले हेटौंडाबाट बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स तोडफोड गरेका हुन्।


भरतपुर १० स्थित हाकिमचोकको मुख्य सडकमा वाइसिएलले बिरामी बोकेको एम्बुलेन्समाथि ढुंगा प्रहार गरेका थिए। हेटौंडाबाट ल्याएको बिरामी लोथरबाट भरतपुरको एम्बुलेन्समा साटफेर लिएर आउँदै थियो। वाइसिएलको आक्रमणबाट ना २ च ४४८८ नम्बरको एम्बुलेन्स तोडफोड भएको चितवन प्रहरीले जनाएको छ।

ढुंगाले लागेर एम्बुलेन्सको अगाडि भागको सिसा फुटेको छ। चितवन बन्द आह्वान जिल्लाको जन जीवन ठप्प बनेको छ। बजार पसल ,उद्योग कलकारखना, तथा शिक्षण संस्थामा पनि बन्दको असर परेको छ। जिल्लाका लामो तथा छोटा दुरीका कुनै पनि यातायातका साधन चल्न सकेका छैनन्। सामान्य रुपमा मोटरसाईकल रिक्सा भने भित्री सडकमा चलेका छन्।

सडकमा नेपाल प्रहरी र जनपथ प्रहरी ब्यापक रुपमा परिचालन गरिएको छ। मंगलवार वडा प्रहरी कार्यालय नारायणगढका प्रहरीले बजार क्षेत्रमा जबरजस्ती चन्दा उठाएको भन्दै वाईसीएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा उत्तम गुरुङ, मधुराज न्यौपाने, भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठा छन्।

उनीहरु मध्ये २ जनालाई सार्वजनिक र ४ जनालाई चन्दा ऐन अनुसार मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ। कार्यकर्ता नछाडे सम्म बन्द फिर्ता नलिने वाइसीएलले जनाएको छ।

व्यापारीसँग जबर्जस्ती चन्दा माग्ने कार्यकर्ता छुटाउने क्रममा हिजो वाइसिएलले प्रहरीमाथि आक्रमण गरेको थियो। जबरजस्ती चन्दा असुली कानुनी रुपमा दण्डनीय अपराध हो।

0 comments

Write Down Your Responses

Powered by Blogger.