फलेवास (पर्वत), चैत १७- पर्वतको दुर्गम गाउँमा जन्मेका तिम्ल्याहाले एकै दिन नागरिकताको प्रमाणपत्र लिएका छन्।पर्वतको बर्राचौर गाविस-७ का कमलप्रसाद पाध्याका तिम्ल्याहा छोराछोरीले एकै दिन नागरिकताको प्रमाणपत्र लिएका हुन्। जिल्ला प्रशासन कार्यालय पर्वतले रानीपानी गाविसमा आयोजना गरेको घुम्ती शिविरमा तिम्ल्याहा हेमकुमारी शर्मा, राजेश शर्मा र हेमन्त शर्मालाई बिहीबार नागरिकता दिइएको हो। विसं २०५२ फागुन १८ गते जन्मिएका उनीहरु हाल नेपाल तारा उच्चमावि रानीपानीमा कक्षा ११ मा पढ्दै आएका छन्। यसैगरी, सोही शिविरमा मानसिक सन्तुलन गुमाएकी ९० वर्षीया महिलालाई घरमै पुगेर नागरिकता दिइएको थियो। बुधबार र बिहीबार सञ्चालन भएको शिविरमा रानीपानी र बर्राचौर गाविसका ३२५ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको थियो। रासस
0 comments
Write Down Your Responses