‘चुल्ठेमुन्द्रे’माथिको कारवाही रोक्न सर्वोच्चको आदेश


काठमाडौं । लामो कपाल पाल्ने र मुन्द्रा लगाउने (चुल्ठेमुन्द्रे)लाई पक्रने अभियान चलाएको काठमाण्डौ प्रहरीलाई त्यस्तो कारवाही रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलासले अपराध नियन्त्रण वा कुनै बाहानामा व्यक्तिको स्वतन्त्रतामा हनन नगर्न अन्तरिम आदेश दिएको हो । ‘के कस्तो पहिरन लगाउने, दाह्री जुँगा पाल्ने भन्ने विषय जो सुकै व्यक्तिको नितान्त व्यक्तिगत कुरा हो’ आदेशमा भनिएको छ-’अपराध नियन्त्रण वा कुनै बाहानामा व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्न हुँदैन । निजको आत्मसम्मानमा धक्का पुग्ने गरी कपाल काट्न लगाउने, दाह्री खौरन लगाउने, मुन्द्रा झिक्न लगाउने वा निन्दनीय व्यवहार गर्ने छुट कसैलाई नभएकाले यस्ता क्रियाकलाप नगर्नु नगराउनु ।’ प्रहरीले ‘चुल्ठे-मुन्द्रे’माथि कारबाहीको अभियान सुरु गरेपछि ल स्टुडेन्ट सोसाइटी काठमाडौंको तर्फबाट विकल्पराज भण्डारीले फागुन २० गते प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर्नु भएको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ ओदश दिएको थियो । प्रहरीले भने बाटोमा हिड्नेलाई समातेर यस्तो नगरिएको तर, पक्राउ परेकाहरुलाई भने मुन्द्रा खोल्न लगाएको बताएको थियो । प्रहरीले फागुन १४ गतेबाट ‘ट्यापे’, ‘मुन्द्रे’ र ‘गँजेडी’लाई पक्राउ गर्ने अभियान सुरु गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.