साझा पहिलो दिनमै लोकप्रिय !

काठमाडौं, वैशाख २ - सेवा सुरु गरेको पहिलो दिन आइतबार साझा यातायातमा २८ सयभन्दा बढी यात्रुले यात्रा गरेका छन् । आइतबार साँझ ६ बजेसम्म २८ सय ६८ यात्रुबाट ४२ हजार ९ सय ७५ रुपैयाँ उठेको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए। राति ११ बजेसम्म बस चल्ने भएकाले यात्रु संख्या र रकम बढ्ने उनको भनाइ थियो। सर्वसाधारणका लागि १५, १७ र २० रुपैयाँको टिकट तथा विद्यार्थी, अपांग, वृद्धवृद्धालाई सहुलियतसहित १० रुपैयाँको टिकट उपलब्ध गराएको साझाले जनाएको छ। 
'हामीले यात्रुको अगाध माया पाएका छौं,' पाण्डेले भने, 'पहिलो दिनमै यत्तिका यात्रुले सेवा लिनुभएको छ, आगामी दिनमा यात्रुको संख्या बढ्नेमा आशावादी छौं।' कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँवानेश्वर, सिनामंगल हुँदै एयरपोर्ट एउटा रूट र लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङ अस्पताल, महाराजगन्ज हुँदै नयाँ बसपार्क (गोंगबु) अर्को रूटमा गरी १६ वटा बस सञ्चालित छन्। 
पहिलो दिनको सेवाबाट आफूहरू उत्साही बनेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए। निजी व्यवसायीले साना गाडी विस्तारै हटाई ठूला बस सञ्चालन गर्नसके काठमाडौंको सवारी चाप कम गर्न सकिने उनको भनाइ छ। 
एयरपोर्ट-कलंकी रुटमा बिहान साढे दसदेखि साँझ साढे पाँच बजेसम्म ड्युटी गरेका सहचालक उमाकान्त सापकोटाले यात्रुहरूले निकै उत्सुकतासाथ बस चढेको सुनाए। ड्युटीअवधिभर ३ सय ५० टिकट बिक्री गरेको र ५ हजारभन्दा बढी रकम संकलन गरेको उनले बताए। 
सर्वसाधरणको सुविधामा समर्पित भनिएको साझा बस कमजोर व्यवस्थापनका कारण २०५८ सालमा बन्द भएको थियो। सबै बसमा एउटा भित्र छिर्ने र एउटा बाहिर झर्ने ढोका रहेका छन्। दुवै ढोका चालकले नियन्त्रण गर्न सक्छन्। आफ्नो सेवाले ट्राफिक जाम घटाउन सहयोग पुग्ने साझाको विश्वास छ। दुवै रुटमा साझाले १६ वटा युरो तीन मापदण्डका ५४ सिटे बस सञ्चालन गरेको छ। साझाले सेवा सुरुआत गरेको चैतमा ५१ वर्ष पुगिसकेको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.