बेचिएको आठ वर्षपछि मात्रै थाहा भयो चौधौं शताब्दीको बौद्धगाथ ‘पञ्चरक्षा’
२७ चैत, काठमाण्डौं । राष्ट्रिय अभिलेखालयमा संग्रहित चौथो शताब्दीको बौद्ध ग्रन्थ ‘पञ्चरक्षा’ को चित्रयुक्त काठे गाता न्युयोर्कको लिलामी केन्द्रमा बिक्री भएको आठ वर्षपछि पत्तो लागेको छ ।
‘बाह्रौं शताब्दीको पुरातात्त्विक काठे गाताहरू न्युयोर्कको ‘क्रिस्टी’ मा लिलाम हुन लागेको खबर आएपछि सोधखोज सुरु गर्दा अर्को एउटा सम्पदा सन् २००५ मै बिक्री भइसकेको थाहा भएको हो,’ अभिलेखालयका प्रमुख प्रकाश दर्नालले भने कान्तिपुरमा खबर छ। नेपाल संवत ५०७ (सन् १३८७) को ‘पञ्चरक्षा’ को काठे गातामा रत्नसम्भव, अमोघसिद्धी, अमितायुस, भैरोकाना, बज्रधारा, शाक्यमुनि र स्यामाताराका चित्र अंकित छन् ।
यसअघि संस्कृतमा लेखिएका हस्तलिखित ग्रन्थहरू शिवधर्म संग्रह, भागवत पुराण र विष्णु धर्मका चार कृतिका काठे गाताहरू अभिलेखालयबाट चोरिएर न्युयोर्क पुगेपछि चैत पहिलो साता लिलामी हुन लाग्दा खुलासा भएको थियो । अभिलेखालयमा रहेका ग्रन्थहरूको माइक्रोफिल्मिङ गर्न ७० को दशकमा काठमाडौंमा रहेका जर्मन प्राध्यापक हारुनागा इसाक्सनले ‘क्रिस्टी’ को बिक्री सूचीमा नेपालका पुरातात्त्विक सामग्रीसमेत रहेको थाहा पाएपछि नेपालविद् अरू विज्ञ र जानकारलाई पत्राचार थालेर लिलामी रोक्न पहल गरेका थिए ।
‘२००५ मार्च ३१ मा बिक्री भएको पञ्चरक्षा काठे गाताको मूल्य ८ हजार ४ सय डलर तोकिएको ‘क्रिस्टी’ को अनलाइन सूचीबाट थाहा भएको छ,’ पुरातत्त्व विभागका एक अधिकारीले भने । माइक्रोफिल्मिङको रेकर्डमा रहेका तर अभिलेखालयबाट हराएका सम्पदाबारे छानबिन गर्न चैत २० मा गठन भएको समितिका संयोजकसमेत रहेका अभिलेखालय प्रमुख दर्नालले आइतबार पुरातत्त्व विभागलाई प्रतिवेदन बुझाइसकेका छन् । सन् २००० सम्म चलेको माइक्रोफिल्मिङ ३० वर्षे परियोजनाको अवधि पछाडि पुरातात्त्विक सामग्री राखिएको कक्षमा कसैलाई पनि प्रवेश र सहज पहुँचको सुविधा नरहेकाले यी सामग्री त्यही अवधिमा चोरिएको अनुमान गरिएको छ ।
अभिलेखालयबाट पुरातात्त्विक सामग्री चोरिूदै न्युयोर्क पुगेकोबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ । परराष्ट्रले न्युयोर्क र वासिङटनस्थित आफ्ना नियोगलाई यसबारे जानकारी गराएर यथास्थिति पहिल्याउन अझै कूटनीतिक पहल गरेको छैन । बौद्ध शिक्षाका प्राध्यापक नरेश वज्राचार्यका अनुसार बज्रयानका सन्दर्भमा सबैभन्दा बढी प्रयोगमा ल्याइएको र लोकप्रिय ग्रन्थका रूपमा ‘पञ्चरक्षा’ रहिआएको छ । ‘पारिवारिक र सामाजिक जीवनमा आइपर्ने समस्या निराकरणका लागि वज्राचार्यले पढ्नैपर्ने यो ग्रन्थमा परचक्र भय हटाउने सूत्र उल्लेख छ,’ उनले भने ।
अभिलेखालयमा झन्डै सयवटा ग्रन्थको काठे गाता रहेकामा केहीमा ‘कैफियत’ भेटिएकाले सबै ग्रन्थगाता रुजु गरिने भएको छ । ‘अब रुजु गर्ने क्रममा अरू कति सम्पदा हराएका छन्, चोरिएका छन् र बिक्री भइसकेका छन् भन्ने थाहा लाग्ला,’ पुरातत्त्वका एक कर्मचारीले भने ।
0 comments
Write Down Your Responses