सर्वोच्चले खिलराजलाई एक तह झार्यो
२७ चैत, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो आधिकारिक वेभसाइटमा प्रधानन्यायाधीश खिलराज रेग्मीको तस्वीर सबैभन्दा माथि राख्दै आएकोमा मन्त्रिपरिषद् अध्यक्ष भएपछि एक तह झारेर कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माकै लहरमा राखेको छ ।
‘बहालवाला न्यायाधीश’को सूचिमा रेग्मीको परिचय ‘प्रधानन्यायाधीश, मन्त्रिपरिषद् अध्यक्ष’का रुपमा चिनाइएको छ ।
यसअघि सर्वोच्चले गरेको आदेशमा रेग्मीलाई प्रधानन्यायधीशका रुपमा नचिनाउन भनिएको थियो ।
न्यायाधीश बिरामी हुँदा अदालत प्रभावित
यसैवीच ५ जना न्यायाधीशमा सीमित रहेको सर्वोच्च अदालतमा सोमबार र मंगलबार ४ न्यायाधीशले मात्रै इजलासमा सहभागिता जनाउनुभएको छ । घाँटी दुखेका कारण न्यायाधीश कल्याण श्रेष्ठ सोमबार र मंगलबार दुई दिन अदालतमा हाजिर हुन सक्नुभएन । श्रेष्ठको अनुपस्थितिकै कारण मंगलबार लोकमानसिंह कार्कीको मुद्दा हेर्न नमिल्ने बेञ्चमा चढेको अदालत स्रोतले अनलाइनखबरलाई बतायो । ‘श्रेष्ठ बिरामी नपर्नुभएको भए कार्कीको मुद्दा उहाँको बेञ्चमा पर्न सक्थ्यो । तर, उहाँको अनुपस्थितिकै कारण मंगलबार सुनुवाइ हुन सकेन ।’-स्रोतले भन्यो ।
अदालतमा न्यायाधीशको कमीका कारण मुद्दाको चाप बढ्दै गइरहेको छ । न्यायपरिषदले न्यायाधीशहरुको नियुक्तिका लागि केही दिनदेखि प्रयास गर्दै आए पनि हालसम्म मंगलबारसम्म टुंगो लाग्न सकेको छैन ।
0 comments
Write Down Your Responses