चार दलसँग यसकारण रिसाए खिलराज
जेठ, काठमाडौं । चारदलका शीर्षनेतासँग अन्तरिम चुनावी मन्त्रिपरिषदका
अध्यक्ष खिलराज रेग्मीले गहिरो गरी चित्त दुःखाउनुभएको छ । आक्रोशित
रेग्मीसँग चार दलका शीर्ष नेताले आइतबार वार्ताको कार्यक्रम तय गरेका छन् ।
आखिर जसले आफूलाई सरकार प्रमुख बनायो, तिनैसँग किन रिसाए रेग्मी ?
सर्वोच्च
अदालतमा सम्मानित प्रधानन्यायाधीश पदमा काम गरिरहेका रेग्मीलाई चार दलका
नेताहरुले पटक-पटक फकाएर दुई महिनाअघि मन्त्रिपरिषदको अध्यक्ष पद जिम्मा
लगाएका हुन् । तर, सरकार जिम्मा लगाउने चार दलका यिनै नेताहरुले यतिबेला
रेग्मीलाई दुईतिरबाट विपरीत दिशामा तानिरहेका छन् । चारदलका नेताको
तानातानका कारण रेग्मीका खुट्टा अघि सर्न सकिरहेका छैनन् । विशेष गरी
निर्वाचनसम्बन्धी कानुनमा थ्रेसहोल्डको मापदण्ड राख्ने कि नराख्ने भन्नेमा
चार दलमध्येका एमाले र कांग्रेसले थ्रेसहोल्ड राख्न रेग्मीलाई दबाव दिएका
छन् भने एमाओवादी र मधेसी मोर्चाले चाँहि थ्रेसहोल्डको प्रावधान नराख्न
दबाव दिइरहेका छन् । चारदलबाट आएको दोहोरो दबावकै कारण रेग्मी यतिबेला
तनावमा हुनुहुन्छ ।
चार दिनअघि बल्खुमा आयोजित कांग्रेस र
एमालेको बैठकले थ्रेसहोल्ड नहटाउनुपर्ने अडान दोहोर्यायो । त्यसलगत्तै दुई
दलका नेताले रेग्मीलाई भेटेरै थ्रेसहोल्डबारे आफ्नो अडान राखे ।
कांग्रेस, एमालेको दुई दलीय बैठक र
रेग्मीसँगको भेटपछि आफूहरुलाई ‘बाइपास’ गरेर रेग्मीलाई भड्काएको भन्दै
एमाओवादी अध्यक्ष प्रचण्ड आक्रोशित बन्नुभएको छ । कांग्रेस र एमालेका
नेताहरुको तर्कचाहिँ के छ भने बाधा अड्काऊ फुकाउने आदेशमा ४ सय ९१ सदस्यीय
संविधानसभा रहने भनिएकोमा ६ सय १ नै राख्नुपर्छ भनेर एमाओवादीले बखेडा
झिकेको छ ।
चार दलका शीर्षनेता आफैमा बाझाबाझ गर्न
थालेपछि रेग्मी असन्तुष्ट बन्नुभएको हो । त्यसो त यसअघि अख्तियारमा
लोकमानसिंह कार्कीको नियुक्ति प्रकरणमा पनि चार दलका नेताहरु यसैगरी दुई
धारमा बाँडिएका थिए । त्यसबेला रेग्मीले बालुवाटारमा नेताहरुलाई बोलाएर
यस्तै हो भने आफूले काम गर्न नसक्ने भन्दै घुक्र्याउनुभएको थियो ।
थ्रेसहोल्ड हटाउने रेग्मीको इच्छा
अध्यक्ष खिलराज रेग्मीले थ्रेसहोल्ड
राख्ने कि नराख्ने भन्नेबारे दर्जनौं दलहरुसँग छलफल गरिसक्नुभएको छ ।
छलफलका क्रममा कांग्रेस र एमाले बाहेक सबै दलहरुले थ्रेसहोल्डको प्रावधान
नराख्न रेग्मीलाई सुझाव दिएका छन् । संविधानसभामा बढीभन्दा बढीले सहभागी
हुन् पाउन् भन्दै रेग्मीले थ्रेसहोल्डको प्रावधान हटाउने मानसिकता
बनाउनुभएको स्रोतको दाबी छ । तर, संविधानसभाको संख्याको सम्बन्धमा चाहिँ
बाधा अड्काऊ फुकाउने आदेशले नै ४ सय ९१ रहने किटान गरिसकेकाले त्यसैअनुरुप
अघि बढ्ने रेग्मीको अडान रहेको बुझिएको छ । सम्भवतः आइतबार रेग्मीले
चारदलका नेतासँग यसबारे निर्णायक कुरा गर्नुहुनेछ ।
रेग्मीको चाहना चारदलबाट स्वतन्त्र हुने
अध्यक्ष रेग्मी आफ्नो सरकारमा चार दलको
छायाँ नदेखियोस् भन्ने चाहनुहुन्छ । चारदल बाहेकका अन्य दलले सरकारलाई चार
दलको छायाँ नबनाउन माग गरिरहेको र रेग्मी आफैंले पनि चारदलको कठपुतली हैन
भन्ने देखाउनका लागि उहाँ चारदलका नेताहरुको हस्तक्षेपप्रति खुशी हुनुहुन्न
।
शुक्रबार आयोजित उच्चस्तरीय राजनीतिक
समितिको बैठकले चुनावको मिति घोषणा नभएकोमा रेग्मीलाई स्पष्टीकरण सोध्ने
निर्णय गरेको समाचार बाहिर आएपछि रेग्मी नेताहरुसँग थप रुष्ट हुनुभएको छ ।
चार दलकै विवादका कारण चुनावको मिति तोक्न ढिलाइ भएको रेग्मीले जवाफ
दिनुभएको छ । शनिबार राजधानीमा वुद्ध जयन्तीमा आयोजित कार्यक्रममा रेग्मीले
चुनावको मिति तोक्न ढिलाइ हुनुमा चार दल नै कारक रहेको बताउनुभयो ।
|
0 comments
Write Down Your Responses