महतोले अनशन नतोड्ने !

काठमाडौं– तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने मागसहित आमरण अनशन बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हड्ताल तोडन इन्कार गरेका छन्।
बिहीबार साँझ अनशनस्थल पुगेका सञ्चारमन्त्री माधव पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले महतोलाई हड्ताल तोडेर सहमतिमा आउन आग्रह गरेका थिए। महतो गत मंगलबारदेखि भोक हड्तालमा छन्।

'निर्वाचन मिति घोषणाका लागि सरकारले तयारी गरिरहेको भन्दै मन्त्रीद्वयले अनशन तोडन आग्रह गर्नुभयो' महासचिव मनिषकुमार सुमनले नागरिकसँग भने, 'हामीले माग पूरा नभएसम्म जारी राख्छौं भन्यौं, अनशन तोडन मानेनौं।' उनका अनुसार शुक्रबारसम्म पार्टीले राखेको माग पूरा नभए तराई मधेसका २२ जिल्लाका प्रमुख जिल्ला अधिकारी कार्यालय घेराऊ गरिनेछ।

यता, आमरण अनशन बसेका अध्यक्ष महतोको स्वास्थ्यस्थिति खराब हुँदै गएको छ।

वीर अस्पतालका चिकित्सक डा. ध्रुवप्रसाद सिंहले महतोको स्वास्थ्यस्थिति चिन्ताजनक हुँदै गएको जानकारी गराएको सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए। 'डाक्टरले अध्यक्षज्यूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाउनुभएको छ,' कर्णले नागरिकसँग भने, 'जनताका जायज माग राखेर शान्तिपूर्ण आन्दोलनमा गर्दा सरकारले अझै सम्बोधन गर्न सकेन, यो दुःखद पक्ष हो।'

अनशनकारी अध्यक्ष महतो डायबिटिज र उच्च रक्तचापको बिरामी छन्। 'महतोको रगतमा नुनको मात्रा कम भएको र पिसावमा एसिटोन पोजिटिभ देखिएकोले मिर्गौलामा समस्या आउने डा. सिंहले जानकारी दिनुभयो,' सद्भावनाले भनेको छ। 

0 comments

Write Down Your Responses

Powered by Blogger.