क्रिकेट खेलाडीले जनही ३ लाख ५० हजार पाउने

भिडियोको लागी तल क्लिक गर्नुहोला
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बर्मुडामा सम्पन्न आइसिसी क्रिकेट लिग डिभिजन-३ प्रतियोगिताको टिम च्याम्पियन भई डिभिजन-२ मा प्रवेश गर्न सफल नेपाली क्रिकेट टिमका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई जनही तीन लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।
साथै राखेपले देशका विभिन्न स्थानमा रहेका प्रतिभावान खेलाडीको पहिचान गर्दै उनीहरूलाई उचित तालिम प्रदान गर्ने उद्देश्यले देशका सबै २ सय ४० वटै निर्वाचन क्षेत्रमा सेमी-कभर्डहल एवम् खेल मैदान निर्माण गर्ने निर्णय गरेको छ ।
राखेपको ९७ औँ बोर्ड बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राखेप सदस्य-सचिव युवराज लामाले सो निर्णय मन्त्रिपरिषद्को बैठकबाट पारित गराइने बताउनुभयो । विगत पाँच वर्षदेखि बर्सेनी सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको लामाले जानकारी दिनुभयो ।
राखेपले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ खेलकुदलाई प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउँदै दक्ष जनशक्ति उत्पादन गर्न खेलकुद विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।    सदस्य-सचिव लामाका अनुसार राखेपले आगामी आर्थिक वर्ष ०७०/७१ का लागि नेपाल सरकारसँग माग गरेको वाषिर्क कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
राखेपले आगामी आर्थिक वर्षका लागि उपभोग खर्चतर्फ रु ३३ करोड ४५ लाख ७९ हजार, कार्यक्रमतर्फ रु १९ करोड एक लाख ६८ हजार र पुँजीगततर्फ रु ४९ करोड ५८ लाख २६ हजार गरी रु एक अर्ब दुई करोड पाँच लाख सात हजार बजेट प्रस्ताव गरेको छ ।
युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बोर्ड बैठकले ‘राष्ट्रिय खेलकुद पदक’ प्रदान गर्ने निर्णय पनि गरेको छ  । यो पदकको पुरस्कार राशि रु ५० हजार रहेको छ ।
लामाका अनुसार यो पुरस्कार प्रत्येक वर्ष महिला तथा पुरुष खेलाडीमध्येबाट आठ जनालाई, महिला तथा पुरुष कर्मचारीबाट दुई जनालाई, महिला तथा पुरुष प्रशिक्षकबाट दुई जनालाई र राष्ट्रिय खेल सङ्घबाट एक जनालाई प्रदान गरिनेछ ।
क्रिकेट खेललाई मध्यनजर गर्दै बैठकले २५ देखि ३० हजार दर्शक क्षमता भएको एक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने निर्णय गरेको त्यस अवसरमा जानकारी दिइयो । रासस


भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.