सुख्खा बगरमा खरबुजा खेती
नुवाकोट, २ जेठ । हातमा सीप र मनमा जाँगर भयो भने के हुँदैन र ? खोलाको सुख्खा बगरमा पनि रसिलो तरबुजा फलाउन सकिने उहाहरण नुवाकोटका किसानले देखाएका छन् । वर्षौंदेखि प्रयोगविहीन खोलाको बगरमा तरबुजा खेती गरेर किसानले आफ्नो जाँगर मात्र देखाएका छैनन् । राम्रो आम्दानी पनि हात पारेका छन् ।लघु उद्यम विकास कार्यक्रम (मेडेप) को आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक तथा व्यावसायिक विकास प्रवद्र्धन समाज (कोब्डेप्स) ले सञ्चालन गरेको कार्यक्रमपछि जिल्लाका चौघडा, खानीगाउँ, कविलास र रातमाटे गाविसका किसानले खेर गएको बगरलाई उपयोगमा ल्याउँदै तरबुजा खेती थालेका हुन् । गत पुसमा तालिम पाएका ३३ जना किसानले बगर र बगरनजिकको बलौटे माटोमा सुरु गरेको तरबुजा खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । प्रतिरोपनीमा खेती गर्न १० हजार खर्च लाग्ने र आम्दानी भने ३५ देखि ४५ हजार हुने भएपछि किसान तरबुजा खेती गर्न आकर्षित भएको कोब्डेप्सका कार्यक्रम अधिकृत राजेन्द्र भण्डारीले बताए । ‘पहिलो किसानले पनि के होला र भन्थे अहिले उनीहरू उत्पादनबाट उत्साही भएका छन्,’ भण्डारीले भने ।
एक रोपनी क्षेत्रफलमा ३ हजार किलोसम्म फल्ने तरबुजा अहिले किसानहरुले आफ्नै बारीबाट प्रतिकिलो २५ देखि ३५ रुपियाँमा धमाधम बिक्री गर्न थालेका छन् । पहाडी क्षेत्रमा भए पनि तातो हावापानी भएकाले उत्पादन राम्रो, गुणस्तरीय, तराईतिरको भन्दा पनि स्वादिलो भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले बताए ।
स्वास्थ्यका लागि अति फाइदा जनक भएको तरबुजा खेती नुवाकोटको माग धान्नेगरी मात्र उत्पादन गर्नसके पनि पनि किसानले धेरै आम्दानी गर्नसक्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले बताए । ‘अहिले किसान भर्खर यो खेतीमा आकर्षित हुन थालेका छन् । आगामी दिनमा अझै धेरै किसानलाई यो खेतीमा संलग्न गराउन कार्यालयले प्राथमिकता दिने प्रमुख अधिकारीले बताए । जिल्लाको सम्भाव्य क्षेत्रको पहिचान गरी बगरमा खेती गरेर लाभ दिलाउन जिल्ला नै लाग्ने उनले बताए । किसानले बगर मात्र होइन, बगरछेउका बलौटे माटो भएको जग्गामा पनि खेती गरेका छन् । धान मकै खेती गर्दा चार हजार कमाउन मुस्किल पर्ने गरेकोमा अहिले पैँतीस–चालीस हजार कमाइ हँुदा किसानहरू दंग परेको चौघडाका किसान सूर्यबहादुर राईले बताए ।
परम्परागत खेतीबाट लाभ लिन नसकेका किसानले फरक खालको तरबुजा खेतीबाट आम्दानीको राम्रो क्षेत्र पहिचान भएको नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शरण उत्सुक सापकोटाले बताए । ‘नुवाकोट स्ट्रबेरी, ट्राउट माछा जिल्लामा उत्पादन भएको तरबुजाको प्रचारप्रसारका लागि बुधबार किसानको उत्पादनको विदुरमा प्रदर्शनी पनि गरिएको छ । सहभागी किसानले बजारीकरणको लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रदर्शनीमा कोब्डेप्सले किसानलाई नगदसहित पुरस्कृत पनि गरेको छ । सबैभन्दा ठूलो ८ किलो ३ सय ग्रामको तरबुजा फलाएर चौघडाकी उमा राईलाई पहिलो घोषणा गर्दै एक हजार रुपियाँ नगदसहित पुरस्कृत गरिएको छ । ७ किलोको फलाउने सूर्यबहादुर राई दोस्रो र ६ किलो ५ सय ग्राम फलाउने मैती राई भएकी छिन् ।



0 comments
Write Down Your Responses