कार्बन उत्सर्जन कमी गरेबापत पुरस्कार


बाबियाचौर, २९ वैशाख । वायुमण्डलमा नकारात्मक असर पार्ने कार्बन उत्सर्जनमा कमी गर्न समुदायले वन तथा वातावरण संरक्षण गरेबापत जिल्ला विकास समितिले दग्नाम गाविसलाई पुरस्कृत गरेको छ । दग्नाम गाविस बासीले नविकरणीय ऊर्जाका साधन सुधारिएको चुलो र सौर्य ऊर्जाको प्रयोगमार्फत कार्बन उत्सर्जनमा कमी ल्याएकाले जिविसले ५० हजार रुपियाँ पुरस्कार उपलब्ध गराएको हो । सुधारिएको चुलोसहित घर भित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको दग्नाम गाविसलाई प्रोत्साहनका लागि जिल्ला विकास समितिले पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत पुरस्कृत गरिएको जनाएको छ । यसैगरी, नविकरणीय ऊर्जाको प्रवद्र्धनमा क्रियाशील स्थानीय संस्था धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रले पनि सो गाविसलाई थप ३० हजार रुपियाँ उपलब्ध गराएको छ । दुई सय ८१ घरसंख्या रहेको दग्नामका सबै घरपरिवारले सुधारिएको चुलो प्रयोग गर्न थालेका छन् । सिठो, दियालो र मट्टितेलको विकल्पमा स्थानीयवासीले सौर्य ऊर्जाको प्रयोग गरेका हुन् । सुधारिएको चुलो प्रयोग हुन थालेपछि दाउराको खपतमा कमी आएको छ । शुक्रबार एक समारोहबीच घरभित्रको धुवाँमुक्त क्षेत्र घोषणा गरेपछि दग्नामवासीलाई कार्बन उत्सर्जन कम गरेबापत औद्योगिक राष्ट्रले नेपाललाई कार्बन व्यापारबापत उपलब्ध गराउने अनुदान प्राप्त गर्नका लागि दाबी गर्न बाटो खुलेको जैविक ऊर्जा इन्जिनियर प्रदीप ज्ञवालीले बताए । सुधारिएको चुलो र नविकरणीय ऊर्जाका स्रोतको प्रयोगबाट इन्धन खपतमा कमी, सरसफाइ, स्वास्थ्यमा सुधार आउनुका साथै जनजीवन सहज हुनुका साथै वन र वातावरण संरक्षणमा टेवा पुग्ने भएकाले आगामी सन २०१५ भित्रमा म्याग्दीका सबै गाविसलाई घरभित्रको धुवाँमुक्त क्षेत्र घोषणा गर्ने अभियान सुरु भएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताए । विसं. २०६९ पुसदेखि धौलागिरि सामुदायीक स्रोत विकास केन्द्र, जिविस, गाविसलगायत विभिन्न निकाय र संघसंस्थाको प्राविधिक सहयोगमा दग्नामवासीले आफैँ लगानी गरेर घरघरमा सुधारिएको चुलो निर्माण गरेका हुन् । पुरस्कारबापत प्राप्त रकम वन तथा वातावरण संरक्षण, सरसफाइ र नविकरणीय ऊर्जाको प्रवद्र्धन गर्न लगानी गरिने दग्नाम गाविससचिव कुलप्रसाद आचार्यले बताए । यसअघि म्याग्दीको झी र अर्मन गाविसलाई जिल्लाको घरभित्रको धुवाँमुक्त क्षेत्र घोषणा गरिएको थियो । घर भित्रको धुवाँमुक्त क्षेत्र अभियानअन्तर्गत २३ हजार घरसंख्या रहेको म्याग्दी जिल्लाको १२ हजार घरमा सुधारिएको चुलो निर्माण भइसकेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.